प्रधानमन्त्री जोन्सनप्रति भरोसा नभएको बताउँदै बेलायती अर्थ र स्वास्थ्यमन्त्रीले दिए राजीनामा

काठमाडौँ — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएका छन् । प्रधानमन्त्री जोन्सनप्रति भरोसा नभएको भन्दै दुवै मन्त्रीले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री जोन्सनप्रति भरोसा नभएको बताउँदै बेलायती अर्थ र स्वास्थ्यमन्त्रीले दिए राजीनामा

सरकारले गम्भीरतापूर्वक काम गरोस् भन्ने नागरिकको चाहना हुने सुनकले बताएका छन् । त्यस्तै जाविदले पनि राजीनामा पत्रमा सरकारले राष्ट्रहितमा काम नगरेको बताएका छन् । प्रधानमन्त्री जोन्सनले एउटा नियुक्तिबारे माफी मागेको केही बेरमा दुवै मन्त्रीले राजीनामा दिएका हुन् । प्रधानमन्त्री जोन्सनले सांसद क्रिस पिन्चरलाई उपसचेतक नियुक्त गरेकोमा गल्ती भएको भन्दै माफी मागेका हुन् ।

पिन्चरमाथि यौन दुराचारको आरोप लागेको छ । गत हप्तामात्रै कन्जरभेटिभ पार्टीले उनलाई सांसदबाट निलम्बित गरेको थियो । पिन्चरले भने आफूमाथि लाग्दै आएको आरोप निराधार भएको बताउँदै आएका छन् । उनीमाथि लागेको आरोप थाहा हुँदाहुँदै पनि नियुक्ति दिएको भन्दै प्रधानमन्त्री जोन्सनको कडा आलोचना भएको थियो । बीबीसीसागको अन्तर्वार्तामा प्रधानमन्त्री जोन्सनले सन् २०१९ मै पिन्चरमाथिको आरोपबारे जानकार रहेको स्वीकार गरेका छन् । केही आरोपहरू समाधान भएको भन्दै उनलाई नियुक्ति दिइनु एउटा गलत निर्णय भएको पनि उनले बताएका छन् ।

सन् २०२० को फेब्रुअरीदेखि सुनक अर्थमन्त्रीको जिम्मेवारीमा थिए । त्यस्तै सन् २०२१ देखि साजिद जाविद स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा थिए । कन्जरभेटिभ पार्टीको भविष्यका नेताका रूपमा समेत हेरिएका सुनकले प्रधानमन्त्रीको कार्यशैली विरोधका लागि पर्याप्त रहेको बताएका छन् । अर्थमन्त्री भएपछि सुनकर र प्रधानमन्त्री जोन्सनबीच आर्थिक नीति तथा सार्वजनिक खर्चलाई लिएर मतभेद थियो । उनले सरकारबाट हट्नु पर्दा दु:खी भएको पनि बताएका छन् । उनले भनेका छन्, 'म तपाईंप्रति बफादार रहेको छु । पार्टीको नेता बनाउनमा मैले तपाईंलाई नै समर्थन गरेको हुँ; साथै अन्य विषयमा पनि साथ दिँदै आएको हुँ । अर्थमन्त्रीका रूपमा मैले तपाईंकै नेतृत्वमा जिम्मेवारी निर्वाह गरेको हुँ । सरकारबाट हट्नु पर्दा दु:खी छु तर अब बस्न निकै कठिन हुने निर्णयमा पुगेको हुँ ।'

प्रधानमन्त्री जोन्सनले यसअघि शिक्षामन्त्रीको भूमिकामा रहेका नादिम जहावीलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । त्यस्तै मिसेल डोनेलनलाई शिक्षामन्त्रीको जिम्मेवारी दिएका छन् ।

प्रकाशित : असार २२, २०७९ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?