कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अमेरिकामा फेरि गोलीकाण्ड

स्वतन्त्रता दिवस मनाइरहँदा इलिनोयमा भएको गोलीकाण्डमा कम्तीमा ६ को मृत्यु, ३६ जना घाइते
एजेन्सी

हाइल्यान्ड पार्क — अमेरिकामा स्वतन्त्रता दिवसका अवसरमा आयोजित परेडका सहभागीमाथि गरिएको बन्दुक आक्रमणमा कम्तीमा ६ जनाको ज्यान गएको छ । ३६ जना घाइते छन् । गोलीकाण्डमा घाइते भएकामध्ये २४ जनाको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । 

अमेरिकामा फेरि गोलीकाण्ड

इलिनोय राज्यको हाइल्यान्ड पार्कमा आयोजित परेडका सहभागीलाई लक्षित गरी एक बन्दुकधारीले उच्च क्षमताको राइफलबाट गोली प्रहार गरेका प्रहरीले जनाएको छ । स्थानीय समयअनुसार १० बजेर १५ मिनेटमा आक्रमण भएपछि परेड कार्यक्रम रद्द भएको थियो । गोली प्रहारबाट ५ जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा नजिकैको अस्पतालमा मृत्यु भएको हो । सन्दिग्ध आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसाार २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयले आक्रमण गरेका हुन् । ती हतियारधारीलाई प्रहरीले ‘खतरनाक व्यक्ति’ भनेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सन्दिग्ध बन्दुकधारीले परेड सुरु भएको केही मिनेटमै गोली चलाएका थिए । प्रहरीका अनुसार भर्‍याङको सहयोगले नजिकैको व्यावसायिक भवनको छतमा चढेर उनले अमेरिकाको झन्डा हल्लाइरहेका मानिसहरू र बालबालिकालाई ताकेर गोली प्रहार गरेका थिए ।

स्वतन्त्रता दिवस समारोहमा सांगीतिक र्‍यालीदेखि मनोरञ्जनात्मक कार्यक्रमहरू भइरहेका थिए । वर्षको सबैभन्दा रमाइलो मानिने दिनमा आतंक मच्चिएपछि त्यहाँ उपस्थित मानिसहरूले भागदौड गरेका थिए । त्यस क्रममा मानिसका विभिन्न समान र कुर्सीहरू सडकभरि छरपस्ट भएका थिए ।

सन् १७७६ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको उपलक्ष्यमा अमेरिकी उपनिवेशहरूले हरेक वर्ष जुलाई ४ का दिन स्वतन्त्रता परेडको आयोजना गरी राष्ट्रिय बिदा मनाउने गर्छन् । ‘अकस्मात् आतिसबाजी भइरहेको जस्तो आवाज आयो,’ बन्दुकधारीले गोली प्रहार गरेको स्थानबाट बाटोपारि रहेका पूर्वचिकित्सक रिचार्ड कउफम्यानले भने । बन्दुकधारीले करिब २ सय राउन्ड गोली प्रहार गरेका उनको भनाइ छ । उक्त क्षेत्रमा यसअघि निकै कम मात्र गोली प्रहारका घटना भएका छन् । ‘मैले यहाँ निकै सुरक्षित ठान्थें तर अहिले ज्यान जोगाउन लुक्नुपरेको छ । यहाँ मानिसहरू रोइरहेका छन् र यो अनुभूति निकै दुःखद् छ,’ प्रत्यक्षदर्शी आनन्द पीले भने । अर्का प्रत्यक्षदर्शी नोएल हाराले खाजा खाइरहेका बेला आतंक मच्चिएको बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हिंसात्मक घटनाले आफू निकै दुःखी भएको बताएका छन् । हाइल्यान्ड पार्क सहरकी मेयर न्यान्सी रोटरिङले ‘स्वतन्त्रता मनाउन जम्मा भएकाले शोक मनाउनुपरेको,’ बताइन् । बाइडेनले ‘बन्दुक हिंसाविरुद्ध लड्ने’ प्रतिबद्धता दोहोर्‍याएका छन् । इलिनोइसका गभर्नर जे रोबर्ट प्रित्ज्करले गोली प्रहारका घटना परम्पराजस्तै हुने गरेको भन्दै चिन्ता व्यक्त गरे ।

प्रकाशित : असार २२, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?