नासाले 'चन्द्रमा कब्जा गर्ने' आरोप लगाएपछि चीनको आपत्ति

एजेन्सी

काठमाडौँ — नेसनल एयरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)का प्रमुखले चीनलाई लक्षित गर्दै उसले चन्द्रमा कब्जा गर्ने दाबी गर्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चीनले त्यसको खण्डन गरेको छ ।

नासाले 'चन्द्रमा कब्जा गर्ने' आरोप लगाएपछि चीनको आपत्ति

चीनले चन्द्रमा कब्जा गर्नसक्ने भन्दै नासाका प्रमुखले दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै चीनले त्यसको खण्डन गरेको छ । यसअघि नासाका प्रमुख बिल नेल्सनले चीनले आफ्नो सैन्य अन्तरिक्ष कार्यक्रमको हिस्साको रूपमा चन्द्रमा कब्जा गर्न सक्ने आरोप लगाएका थिए ।

तर चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता झाओ लिजिआनले नासाका प्रमुखको अभिव्यक्तिको खण्डन गरेका हुन् । नेल्सनको भनाइलाई उनले 'गैरजिम्मेवार अभिव्यक्ति' भन्दै खण्डन गरेका छन् ।

नेल्सनले गत शनिबार एक जर्मन पत्रिकाका लागि दिएको अन्तर्वार्तामा आफू चीनको अन्तरिक्ष महत्वाकांक्षाप्रति चिन्तित रहेको बताएका थिए । 'चीन चन्द्रमामा अवतरण गर्दै भन्छ कि यो हाम्रो हो र तिमी बाहिर नै बस । हामी यसबारे चिन्तित हुनुपर्छ ।'

नेल्सनले बेइजिङको चन्द्रमा अन्वेषण योजनाहरूको व्याख्या गर्दै यस्तो प्रतिक्रिया दिएका थिए । चीनले भने पछिल्लो एक दशकको अवधिमा आफ्नो अन्तरिक्ष कार्यक्रमको गति तीव्र बनाएको छ । साथै अन्तरिक्षको अन्वेषणमा चीनले आफूलाई केन्द्रित बनाएको बताइन्छ ।

चीनले २०१३ मा पहिलो पटक अन्तरिक्ष यात्राको सफल अवतरण गरेको थियो । साथै आगामी दशकको अन्त्यसम्म अर्थात् २०३० सम्म चीनले अन्तरिक्ष यात्रीहरू पठाउन रकेट प्रक्षेपणको प्रयास गरिरहेको छ ।

यसै सन्दर्भमा नेल्सनले चीनको अन्तरिक्ष कार्यक्रम सैन्य कार्यक्रम भएको र उसले अरूबाट विचार र प्रविधि चोरेको आरोप लगाएका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले भने पत्रकार सम्मेलनको क्रममा नासाका प्रमुख नेल्सनले यसरी 'आरोप लगाएको र चीनबारे तथ्य बेवास्ता गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिएको' पहिलो पटक नभएको बताएका थिए ।

प्रकाशित : असार २१, २०७९ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?