१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

‘काली’ ले चुरोट पिएको पोस्टर विवादित

काठमाडौँ — चलचित्र निर्देशक लीना मणिमेकले आफू निर्देशित डकुमेन्ट्री फिल्म ‘काली’ मा हिन्दू देवी कालीले चुरोट पिएको पोस्टर सार्वजनिक गरेसँगै क्यानडा र भारत लगायतका मुलुकमा हिन्दू धर्मावलम्बीहरूले विरोध जनाएका छन् ।

‘काली’ ले चुरोट पिएको पोस्टर विवादित

अध्ययनका क्रममा क्यानडामा रहेकी फिल्म निर्माता एवं कवि मणिमेकले शनिबार देवी कालीले चुरोट पिएको पोस्टर ट्विटरमा सार्वजनिक गरेकी थिइन् । उनका अनुसार यो फिल्म ‘परफर्मेन्स डकुमेन्ट्री’ हो । यसले हिन्दू धर्मावलम्बीहरूको भावनमाथि चोट पुगेको भन्दै क्यानडाको ओटावास्थित भारतीय उच्च आयोगले विरोध जनाउँदै विज्ञप्तिसमेत सार्वजनिक गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै भारतीय उच्च आयोगले क्यानडामा बसोबास गर्दै आएका हिन्दूवादी नेताहरूले फिल्मको उक्त पोस्टरले हिन्दू धर्मावलम्बीको भावनामाथि आँच पुर्‍याएको भन्दै उजुरी गरेपछि हिंसा भड्काउने किसिमका यस्ता सामग्रीहरू हटाउन आग्रह गरेको हो । क्यानडामा मात्रै नभएर भारतमा पनि यो विषयलाई लिएर विरोध भइरहेको छ ।

उक्त विवादास्पद पोस्टर हटाउने विषयमा सम्बन्धित क्षेत्रमा ध्यानाकर्षण गराइसकिएको आयोगलाई उद्धृत गर्दै द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

पोस्टरमा कालीको एक हातमा लैंगिक अल्पसंख्यकहरूको प्रतिनिधित्व गर्ने प्राइड फ्ल्याग बोकेको बनाइएको छ भने अर्को हातमा त्रिशूल बोकेको बनाइएको छ । यसैगरी अर्को हातले उनले चुरोट पिउँदै गरेको देखाइएको छ ।

उक्त विवादास्पद पोस्टर सार्वजनिक गर्नासाथ ट्विटरमा उनीविरुद्ध ट्रेन्डिङ सुरु भएको थियो । उनलाई गिरफ्तार गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत हिन्दू धर्मावलम्बीहरूले आवाजसमेत उठाइरहेका छन् । निर्देशक मणिमेक अहिले क्यानडामा आफ्नो अध्ययन पूरा गर्ने क्रममा छिन् । बीबीसीसँगको कुराकानीमा उनले आफूले निर्देशन गर्न लागेको फिल्ममा देखाइएको कालीको रुपलाई ‘मानवताको स्वरुप र विविधताको सम्मान गर्ने’ किसिमको बनाइएको दाबी गरेकी छन् ।

‘एक कवि र फिल्म निर्माता भएको नाताले म आफ्नो स्वतन्त्र रुपमा कालीलाई देख्ने गर्छु‚’ उनले भनेकी छन् ।

भारतीय नेताहरूले पनि हिन्दू देवीले चुरोट पिएको देखाइनु हिन्दुत्वको अपमान भएको भन्दै यस्तो पोस्टर बनाउने र सार्वजनिक गर्नेलाई कारबाही गर्न माग गरिरहेका छन् । भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता विनीत गोयनले यो पोस्टरले विश्वभर छरिएर रहेका भारतीयको भावनामाथि चोट पुगेको भन्दै सामाजिक सञ्जालबाट उक्त पोस्टर हटाउनका लागि अनुरोध गरेका छन् ।

उक्त पोस्टर हिन्दूमाथि अपमान गर्ने मनसायले सार्वजनिक गरिएको भन्दै भारतको राजधानी नयाँदिल्लीका एक वकिलले फिल्म निर्देशक मणिमेकविरुद्ध प्रहरीमा उजुरी दिएको बताएका छन् ।

दक्षिण भारतीय मणिमेक हाल क्यानडास्थित टोरोन्टोमा रहेर बहुसंस्कृतिवादसम्बन्धी अध्ययन गरिरहेकी छन् । आफूमा कालीको रुपमा देख्ने भन्दै उनले कालीको जस्तै भेष बनाएर क्यानडाका गल्ली-गल्ली डुल्ने गरेको बताएकी छन् ।

उनी भन्छिन्‚ ‘मेरो फिल्ममा कालीले मेरो आत्मालाई रोज्छिन् । त्यसपछि उनी एक हातमा प्राइड फ्ल्याग र अर्को हातमा क्यामाेरा बोकेर देशका रैथाने अफ्रिकी‚ एसियाली‚ फारसी मूलका मानिसहरूसँग भेट्छिन् । क्यानडाजस्तो सानो दुनियामा बस्दै आएका यहूदी‚ ईसाई‚ मुस्लिम धर्मावलम्बीहरूसँग पनि उनको भेट हुन्छ ।’

लैङ्गिक अल्पसंख्यकहरूको पहिचान बनिसकेको सप्तरङ्गी झन्डालाई प्राइड फ्ल्यागको रुपमा देखाउने गरिन्छ; यसलाई रेनबो फ्ल्याग पनि भनिन्छ । आफूले निर्देशन गरेका यसअघिका फिल्ममा पनि देवीहरूको विभिन्न रुपलाई देखाउँदै आएको उनले बताइन् ।

यसअघि सन् २००७ मा उनको डकुमेन्ट्री फिल्म ‘गडडेस’लाई मुम्बई र म्युनिख फिल्म फेस्टिबलमा देखाइएको थियो । यसपछि सन् २०१९ मा उनको फिल्म ‘मादाती-एन अनफेयरी टेल’ मा एक दलित युवतीलाई देवीको रुपमा पूजा गरिएको दृश्य देखाइएको थियो ।

आफूले सार्वजनिक गरेको पोस्टरको दृश्यले देवी कालीको प्रेम-रुपलाई दर्साएको निर्देशक मणिमेकले दाबी गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

यसअघि सन् २०१५ मा भारतको सेन्सर बोर्डले ‘एङ्ग्री इन्डियन गड्डेसेस’ नामक फिल्ममा देखाइएका यस्तै विवादास्पद सामग्रीहरूलाई हटाएको थियो । उक्त चलचित्रमा पनि विभिन्न हिन्दू देवी/देवताहरूको तस्बिरको दुरुपयोग गरिएको भन्ने आरोप लागेको थियो ।

केही दिनअघिमात्रै भारतीय जनता पार्टी (भाजपा) की पूर्वनेतृ नुपूर शर्माले इस्लाम धर्म र पैगम्बर मोहम्मदबारे विवादास्पद अभिव्यक्ति दिएपछि भारतका धेरै स्थानमा यस विषयमा विरोध प्रदर्शन भएको थियो भने गत सातामात्रै भारतको राजस्थान राज्यको उदयीपुर जिल्लामा एक व्यक्तिको हत्या गरिएपछि धार्मिक तनाव उत्पन्न भएको थियो । उक्त घटनामा संलग्न दुई मुस्लिम भारतीय प्रहरीले दुई मुस्लिम युवालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनीहरूले भाजपाकी पूर्वनेतृ शर्माले गरेको टिप्पणीलाई समर्थन गरेको भन्दै सिलाइ मास्टरको हत्या गरेको स्विकारेका थिए ।

प्रकाशित : असार २१, २०७९ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?