वासिङ्टन — अमेरिकी उच्च सुरक्षा अधिकारीले ‘चीनले ताइवानमाथि तत्काल आक्रमण गर्ने अवस्था नरहेको’ बताएका छन् ।
फाइल तस्बिर : रोयटर्स
अमेरिकाले चीन–ताइवान अवस्थालाई नजिकबाट नियालिरहेका अमेरिकी जर्नेल मार्क मिलीले ‘चीनले ताइवानमाथि कुनै पनि समयमा आक्रमण गर्नका लागि क्षमता विस्तार गरिरहेको भए पनि त्यसका लागि राजनीतिक तहबाट निर्णय हुनुपर्ने बताएका हुन् ।
के चीनले ताइवानलाई आक्रमण गर्छ ? भनेर सोधिएको प्रश्नको जवाफमा अमेरिकी फौजका संयुक्त प्रमुख जेनरल मिलीले भने, ‘गर्न सक्छ, गर्छ र गर्नेछ भन्ने प्रमुख शब्द हुन् ।’ तर उनले तत्काल त्यसबारे कुनै संकेत वा चेतावनी नभएको बताए । ‘मलाई लाग्छ चीनले क्षमता विस्तार गरिरहेको छ । ताइवानमाथि आक्रमण गर्न तयारीका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सार्वजनिक भाषणमै सेनालाई भनेका छन्,’ मिलीले भने, ‘उनीहरूले गर्छन् कि गर्दैनन् भन्ने राजनीतिक निर्णय हो, यो नीतिगत निर्णय पनि हो र यसको निर्णय चीनले आफूलाई हुने नाफाघाटाको हिसाबमा गर्छ ।’
चीनले ताइवान आफूबाट छुटिएको एक प्रान्त भएकाले आवश्यक परेको खण्डमा शक्ति प्रयोग गरी गाभ्ने बताउने गरेको छ । त्यसका साथै अमेरिकालगायत पश्चिमा देशले ताइवानको स्वतन्त्रतालाई समर्थन गरेको बताउँदै चीनले त्यस्तो प्रयास निरर्थक बनाउने र आवश्यक परे कडा कदम चाल्न सक्ने बताउँदै आएको छ । जसका कारण चीन र अमेरिकाबीचको तनावसमेत बढेको छ । अमेरिका ताइवानको सबैभन्दा शक्तिशाली मित्रराष्ट्र हो ।
तनाव बढ्दै गएपछि चीनले ताइवानको हवाई रक्षा क्षेत्रमा लडाकु विमानहरू उडाउने क्रम बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जसका कारण अमेरिकाले पनि ताइवानको सामुद्रिक क्षेत्रमा पानीजहाजहरू पठाएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवाननजिकै लडाकु विमान उडाएर ‘चीनले खतरासँग खेलिरहेको’ चेतावनी दिएका थिए । चीनले आक्रमण गरे आफूहरूले ताइवानको प्रतिरक्षा गर्ने उनको भनाइ छ । बाइडेनको प्रतिक्रियापछि चीनले अमेरिकालाई चेतावनी दिँदै ‘ताइवान मामिलामा प्रतिबद्धता भुलेको’ बताएको छ । ताइवानलाई स्वतन्त्र घोषित गर्नबाट रोक्ने चीनको भनाइ छ ।
ताइवानसँग अमेरिकाको आधिकारिक दौत्य सम्बन्ध छैन । तर ताइवान सम्बन्ध ऐनका आधारमा अमेरिकाले हतियार बिक्री गर्दै आएको छ । चीनसँग दौत्य सम्बन्ध रहेको अमेरिकाले कूटनीतिक रूपमा चीनको एक सरकार रहेको कुरालाई मान्यता दिन्छ ।
नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य कमैलाई थाहा छ । महोत्तरीमा ढुंगे हतियारको कारखाना नै भेटियो, दाङ–देउखुरीमा प्रागैतिहासिक युगका सामग्री फेला परे, जसको थप अध्ययन हुनु आवश्यक छ ।
उपल्लो मुस्ताङस्थित चोखोपानी र मेब्राकका मानव निर्मित गुफाहरूमा २४–३४ सय वर्षपहिलेका मानव कंकाल र ममीभूत सन् १९८२ र १९९५ मा फेला परेका थिए । मुस्ताङको दक्षिण सिमाना जोडिएको म्याग्दी जिल्लाको कालीगण्डकी किनारमा नार्च्याङ गाउँ पर्छ र यसको आसपासका क्षेत्रमा पनि मानव चहलपहल थियो थिएन, खोजीको विषय हो ।
म सन् २०१८/२०१९ मा नार्च्याङ गाउँ ६ चोटि पुगेको थिएँ, त्यतिबेला गाउँका नालीबेली थाहा भएका मानबहादुर पुनसँग मैले चट्याङ पर्दा आकाशबाट झर्ने बन्चरोको कुरा गरेको थिएँ । गाउँघरमा ढुंगे युगका बन्चरा कतै भेटिए, चट्याङ पर्दा आकाशबाट झरेको भन्छन् । नभन्दै मानबहादुरले ‘एउटा त्यस्तो बन्चरो उहिल्यैदेखि घरमा थियो, हिजोआज केटाकेटीले कता राखेका छन्, खोज्नुपर्छ’ भने । केही दिनपछि उनको घर पुग्दा पोलिस गरिएको चिल्लो, टुप्पो अलि फराकिलो ढुंगाको बन्चरो मलाई देखाए । यो ढुंगाको बन्चरो नभई जनावरको शरीरबाट छाला छुट्टयाउने हतियार हुनुपर्छ, अलिअलि चोइटिएको थियो, फेदतिर साढे ३ र टुप्पो ५ सेमि अनि चौडा र लम्बाइ १० सेमि थियो । यो ढुंगे हतियार फलाम आविष्कार अर्थात् ३ हजार वर्षपहिले बनाइएको हुनुपर्छ । यसैका आधारमा मुस्ताङ दक्षिणतिर त्यतिबेलै मानव चहलपहल थियो भन्ने अनुमान लगाउन सकिन्छ ।
नेपालका विभिन्न भागमा ढुंगे युगका हतियार तथा अन्य सामग्री पाइएका छन् । करिब २५ लाखदेखि १२ हजार वर्षअघिको अवधिलाई पेलियोलिथिक अर्थात् पुरापाषण युग भनिन्छ । यसै गरी, मध्यपाषण र नवपाषण क्रमशः १२–१० र १०–६ हजार वर्षअघिका अवधिलाई मानिन्छ । लेख्य परम्पराभन्दा अघिको अवधिलाई प्रागैतिहासिक काल पनि भनिन्छ । सिन्धुघाँटी सभ्यतामा लेख्य परम्परा करिब साढे चार हजार वर्षअघि सुरु भएको थियो । त्यहाँ उत्खननपछि फेला परेका अक्षरहरू अझै पढ्न सकिएको छैन । जर्मनीका अध्येता गुड्रन कर्विनसले करिब ४ दशकअघि नेपालमा ढुंगे युगका सामग्री उत्खनन गरी अध्ययन गरेकी थिइन् । यो लेख मूलतः उनकै खोज अनुसन्धानमा आधारित छ ।
रातु खोला/महोत्तरी : कर्विनसले नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य सर्वप्रथम विश्वलाई सविस्तार जानकारी गराइन् । तर यसबारे अझैसम्म कमैलाई जानकारी छ । कर्विनसले महोत्तरीस्थित शिवालिक पहाडको फेदीमा पाटु कारखानाको अवशेष जनवरी १९८५ मा पत्ता लगाएकी थिइन् (प्रिहिज्टोरिक कल्चर्स इन नेपाल’, भोलम १, पृष्ठ २३९, सन् २००७) । पाटु ढुंगा, हड्डी वा काठबाट एकतिरको भाग धारिलो बनाइएको साना हतियार हुन् । ती हतियार १२ देखि १० हजार वर्ष पुराना हुन्छन् । महोत्तरीमा फेला परेको पाटु कारखाना, रातु खोलाको पाटु कारखाना भनेर चिनिँदो रहेछ । रातो माटो भएको भूभाग नजिक खोला पनि भएकाले त्यसलाई रातु खोला भनियो, जसको पूर्वतर्फ कमला नदी र पश्चिममा बोक्सी खोला छ ।
कारखानाको अवशेष खोला किनार नजिक भर्खरभर्खर फँडानी गरेको भिरालो ठाउँमा थियो । नजिकै ढुंगे युगका मानवले बनाएका समान र सामग्री बनाउन प्रयोग गरिने ढुंगाका टुक्राहरू हजारौंको संख्यामा थिए । जंगलको सम्म जमिनमा भने तिनीहरू ३० देखि ७० सेन्टिमिटर मुनि राता माटामा पनि थिए । अचम्म त, ती हतियारको स्वरूप भारतमा पाइएका मध्यपाषणकालको जस्तो छैन । तिनका बनावट भियतनाममा पाइएका मध्यपाषणकालमा बनेकासँग मिल्दोजुल्दो छ । यसले महोत्तरीमा मानव भारततर्फबाट नभई दक्षिणपूर्वतर्फबाट आएका थिए भन्ने संकेत गर्छ ।
जीवाष्म र आनुवंशिक अध्ययन अनुसार होमो सेपियन्स अर्थात् हिजोआजको मानवको उद्गमस्थल अफ्रिका हो । धेरैजसो मानव जीवाष्म पूर्वी अफ्रिकाको रिफ्ट भ्याल्ली अन्तर्गत दक्षिण अफ्रिका, तान्जानिया, केन्या, इथोपियामा पाइएका छन् । तर, होमो सेपियन्सको ३ लाख १५ हजार पुरानो जीवाष्म उत्तरपश्चिम अफ्रिकाको मोरोक्कोमा फेला पर्यो । अफ्रिकाबाट होमो सेपियन्स इजरायल र ग्रीसमा करिब २ लाख वर्षपहिले पुगेका थिए ।
करिब २०, ३० हजार वर्षअघिसम्म संसारका कतिपय समुद्र आजको भन्दा १२० मिटरसम्म कम गहिराइका थिए । होमो सेपियन्स पूर्वी अफ्रिकाबाट रातो समुद्र भई पश्चिम एसिया पुगे । त्यसपछि गल्फ अफ ओमन भएर इरान पुगे होलान् । इरानबाट समुद्र किनारैकिनार पाकिस्तान हुँदै दक्षिण एसिया भित्रिए । ‘पिपुल अफ द अर्थ’ (२०१९) पुस्तकमा दक्षिण पूर्वी एसियामा ७० हजार वर्ष पुरानो मानव जीवाष्म फेला परेको उल्लेख छ । बर्मा र थाइल्यान्ड पश्चिमतर्फ अन्डमान टापुहरूमा करिब ६० हजार वर्षपहिले मानव पुगेका बारेका सामग्री प्रशस्तै पढ्न पाइन्छ । उनीहरूलाई नेग्रिटो भनिन्छ । नेग्रिटोहरू मेलेसिया, फिलिपिन्समा पनि आदिवासीका रूपमा छन् । पहिले नेग्रिटोलाई कंगोको अफ्रिकन पिग्मिजसँग सम्बन्ध होला भनिन्थ्यो । हिजोआज आनुवंशिक अध्ययनले उनीहरूबीच सम्बन्ध छ भन्ने पुष्टि गर्न सकेको छैन । अन्डमानको दक्षिणतर्फको निकोबार टापुहरूमा करिब ३० हजार वर्षपहिले मंगोलियन मूलका बासिन्दा पुगे । पपुवा न्युगुनियाबाट मानव करिब ६० हजार वर्षपहिले अस्ट्रेलिया पुगे ।
पूर्वी चीनमा ६८ हजार वर्ष पुरानो होमो सेपियन्सको जीवाष्म फेला परेको छ । त्यहाँ मध्यएसियाबाट गएको अनुमान छ । पूर्वी चीनबाट मानव दक्षिण र दक्षिणपूर्व एसियातिर फैलिए । निकोबार टापुहरूमा बसोबास गर्ने मानिस चीनबाट पुगेका मंगोलियन मूलका हुन् । तिब्बतमा मानव चहलपहलका निम्ति वातावरण प्रतिकूल अर्थात् ज्यादै ठन्डा थियो । त्यसैले करिब ३०,४० हजार वर्षअघि मात्र होमो सेपियन्स त्यहाँ पुगे । यसकारण, पूर्वी नेपालमा तिब्बततर्फबाट भन्दा पहिले दक्षिणपूर्व एसियाबाट आइपुगेको हुनुपर्छ । महोत्तरीको रातु खेला र त्यस आसपास क्षेत्रमा फेला परेको मध्यपाषणकालका मानवनिर्मित औजार दक्षिण पूर्व एसियासँग मिल्दोजुल्दो हुनुले पनि त्यसैलाई संकेत गर्छ । उनीहरू नेग्रिटो वा मंगोलियन समूहका हुनुपर्छ । मंगोलिया, चीनको येल्लो तथा याङ्जे रिभर बेसिनतर्फ आएकालाई मंगोलियन मूलका भनिन्छ ।
सिन्धुघाँटीमा साढे ५ देखि ४ हजार वर्षपहिले सिन्धु घाँटी सभ्यता थियो । उनीहरू द्रविडियन थिए भन्ने पुष्टि भएको छ । नेपालमा द्रविडियन परिवारको भाषा बोल्ने जाति उराउ वा झाँगड मात्र हुन् । उनीहरू सिन्धुघाँटी सभ्यता विलय भएपछि धेरैजसो दक्षिण र थोरै बिहार, झारखण्डतिर गए । मध्यपूर्वबाट इरानियन एग्रकल्चरिस्टहरू ९ हजार वर्षपहिले दक्षिण एसियातर्फ बढेका थिए । वैदिक आर्यहरू करिब ४ हजार वर्षअघि युरासियाबाट झुन्डझुन्डमा दक्षिण एसिया आएका थिए । यसकारण, महोत्तरीमा ढुंगे हतियार बनाउनेहरू दक्षिण पूर्वबाट आउने निग्रटो वा मंगोलियन नै हुनुपर्छ ।
दाङ देउखुरी : दाङ–देउखुरी भित्री मधेश अर्थात् चारैतिर शिवालिक क्षेत्रले घेरिएको भूभाग हो । अझ दाङ र देउखुरीलाई पनि शिवालिक पहाडले छुट्ट्याएको छ । यी दुवै उपत्यका करिब ५० किमि लम्बाइ, १० देखि १७ किमि चौडा छन् । देउखुरी भएर पश्चिमतर्फ बग्ने राप्ती नदी बाँके जिल्लाबाट भारत प्रवेश हुन्छ । त्यसपछि दक्षिणपूर्व बही घाघरा नदीसँग मिसिन्छ । कर्विनस सर्वप्रथम सन् १९८१ मा नेपाल आएकी थिइन् । त्यसताका नेपालको प्रागैतिहासिक जानकारी शून्यजस्तै थियो । उनले सन् १९८३–१९९४ ताका दाङ–देउखुरीमा करिब ३५ महिना स्थलगत अध्ययन गरिन् । सोही अवधिमा उनले कम्तीमा ७० ठाउँमा ढुंगे युगका मानव गतिविधि फेला पारिन् । धेरैजसो निकै पुराना थिए । थोरै मात्र १२ हजार वर्षभन्दा केही पुराना थिए (हेर्नुहोस्, अर्ली ह्युमन बेहावियर इन ग्लोबल कन्टेस्ट, पृष्ठ ३९०, सन् १९९०) । त्यहाँ ढुंगाको हतियार बनाउने ब्रखुटी कारखानाको अवशेष फेला परेको थियो । तिनीहरू ४० देखि २५ हजार वर्ष पुराना हुन् ।
महोत्तरीमा मानव चलहपहल दाङ–देउखुरीभन्दा पछि हो । दाङ–देउखुरी प्रागैतिहासिक युगमा बनाइएका सामग्री महोत्तरीको भन्दा भिन्न थियो । त्यो समय फरक भएर मात्र होइन बनाउने कला नै फरक थियो । ती सामग्रीको स्वरूप भारतको प्रागैतिहासिक कालको सामग्रीसँग मिल्दोजुल्दो थियो । कर्विनसले भारतमा पनि प्रशस्त मात्रामा प्रागैतिहासिक सामग्रीको अध्ययन अनुसन्धान गरेकी थिइन् । भारत आउनुअघि पूर्वी अफ्रिकामा दशकौं काम गरेकी थिइन् । उनैले सन् १९७८ मा पूर्व मानव प्रजाति ओस्ट्रालोपिथेकस अफरेन्स पत्ता लगाएकी थिइन् । उक्त प्रजाति ३८ देखि २९ लाख वर्षपहिले अस्तित्वमा थियो ।
दाङ–देउखुरीका केही सामग्री ७० हजार वर्ष पुराना छन्, सोही समयमा त्यहाँ भारतबाट मानव राप्ती नदी किनारैकिनार आइपुगेका थिए होलान् । पूर्वी अफ्रिकाबाट इरान, पाकिस्तान हुँदै भारत प्रवेश गर्ने समूह ६० हजार वर्षपहिले अन्डमान टापु पुगेका थिए, तिनैमध्ये केही उत्तरपूर्व भारत नगई दाङ–देउखुरीतर्फ आएको हुनुपर्छ । उसो त दाङ–देउखुरी र महोत्तरीको रातु खोला शिवालिक हो, जुन अफगानिस्तानदेखि भारतको ब्रह्मपुत्रसम्म फैलिएको छ । दक्षिणपूर्व एसियाबाट रातु खोला आसपास क्षेत्रमा शिवालिक हुँदै आएको हुनुपर्छ । तर, दाङ–देउखुरीमा प्रागैतिहासिक कालमा आउनेहरू अफगानिस्तान, पाकिस्तानबाट शिवालिककै भूभाग भएर भन्दा पनि दक्षिणतर्फबाट राप्ती नदी किनारैकिनार आए होलान् ।
कर्विनसले लेखेको ‘प्रिहिजटोरिक कल्चर्स इन नेपाल’ भोलम २ मा प्रागैतिहासिक मानवनिर्मित ढुंगे हतियारका तस्बिरहरू छापिएका छन् । हामीले त्यस्ता ढुंगा कैयन ठाउँ देखेका छौं, विचार नगरेको मात्र हो । केही ढुंगे हतियारका तस्बिर पुरुषोत्तमलोचन श्रेष्ठलिखित ‘गुहा, गहालेख, गुहाची एवं अन्य सम्पदा’ पुस्तकमा समावेश छन् । नेपाल सरकारको पुरातत्त्व तथा विश्वविद्यालयको भूगर्व विभागबाट पनि प्रागैतिहासिक मानवनिर्मित सामग्रीको बृहत् अध्ययन अनुसन्धान हुनुपर्छ ।