३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अस्ट्रेलियामा शिक्षकको चरम अभाव

तत्काल २ हजार शिक्षक आवश्यक
नयाँलाई आकर्षित गर्न थपियो सुविधा
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका विद्यालयमा शिक्षकको चर्को अभाव देखिएको छ । अभाव पूरा गर्न विभिन्न राज्य सरकारले आर्थिकलगायतका सुविधा घोषणा गरे पनि समस्या समाधान हुन सकेको छैन ।

अस्ट्रेलियामा शिक्षकको चरम अभाव

खासगरी दुर्गम क्षेत्रका विद्यालयमा शिक्षकको चरम अभाव देखिएको जनाइएको छ ।

न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलियालगायतका राज्य सरकारले शिक्षकलाई आकर्षित गर्न हजारौं डलरका साथै अन्य विविध सुविधाको घोषणा गरेका छन् ।

दुर्गम क्षेत्रमा रहेका शिक्षक अभावलाई अन्त्य गर्नका लागि सरकारले हरेक वर्ष पाउने तलबबाहेक वार्षिक रूपमा हजारौं डलर सुविधा, सहुलियत रूपमा बस्ने आवासको व्यवस्था, दुर्गम क्षेत्रमा जान आउनका लागि निःशुल्क सेवा दिने घोषणा गरेका हुन् । तर समस्या भने अझै उस्तै छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अस्ट्रेलियामा तत्कालका लागि २ हजार बढी शिक्षकको अभाव छ ।

शिक्षक अभावकै कारण केही दुर्गम क्षेत्रका विद्यालय नियमित सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको समाचारहरूमा जनाइएको छ ।

शिक्षकलाई दुर्गम क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले भिक्टोरिया राज्यले करिब ४२ मिलियन डलरको सहयोग कार्यक्रम घोषणा गरेको छ । जसमा हरेक वर्ष ९ हजार अतिरिक्त सुविधा दिने र दुर्गम क्षेत्रमा जान लाग्ने सम्पूर्ण खर्च सरकारले नै व्यवस्था गरिदिनेलगायतका सुविधा छन् । त्यस्तै, न्यु साउथ वेल्स राज्यले २० देखि ३० हजार डलरसम्म सहयोग दिने घोषणा गरेको छ । १० वर्षसम्म दुर्गम क्षेत्रमै रहेर काम गर्ने शिक्षकलाई वार्षिक थप ५ हजार डलर दिने न्यु साउथ वेल्स सरकारले जनाएको छ ।

दक्षिण अस्ट्रेलिया सरकारले पनि दुर्गम क्षेत्रमा शिक्षक पठाउन २० हजार डलरका दरले सहयोग घोषणा गरेको छ । जसमा हरेक वर्ष दुर्गममा पढाउने शिक्षकलाई १० हजारका दरले थप सहयोग दिइने जनाइएको छ ।

शिक्षक अभावका कारण दुर्गम क्षेत्रमा गम्भीर असर परिरहेको भन्दै मानसिक रोग परामर्शदाताले सरकारलाई सचेत गराएका छन् । अस्ट्रेलियाका करिब १० हजार विद्यालयमा ४० लाख विद्यार्थी अध्ययनरत छन् । देशभर कार्यरत ३ लाख ४ हजार शिक्षकमध्ये प्राथमिक तहमा १ लाख ५६ हजार र माध्यमिक तहमा १ लाख ४८ हजार छन् । अस्ट्रेलियामा शिक्षकले वार्षिक करिब ७० हजार डलर तलब पाउने गरेका छन् । शिक्षक हुनका लागि सम्बन्धित क्षेत्रमा अध्ययन गरेको हुनुपर्ने प्रावधान छ ।

तथ्यांकअनुसार अस्ट्रेलियामा हाल प्रविधि, कला, स्वास्थ्य र शारीरिक शिक्षा विषयमा शिक्षकको चरम अभाव छ । अंग्रेजी, विज्ञान तथा गणितका शिक्षकको समेत केही क्षेत्रमा अभाव देखिएको जनाइएको छ । न्यु साउथ वेल्स शिक्षक महासंघका अध्यक्ष एन्जेलो ग्याभ्रिल्याटोसले न्यु साउथ वेल्स राज्यमा मात्र तत्काल एक हजार शिक्षकको पद रिक्त रहेको र करिब १५ प्रतिशत शिक्षकले आफ्नो क्षेत्रभन्दा बाहिरको विषयमा अध्यापन गराइरहेको बताएका छन् ।

पछिल्लो समयमा कोरोनाका कारण शिक्षकको समस्या चर्किएको दक्षिण अस्ट्रेलियामा एक दशकदेखि कार्यरत शिक्षक कपिल पाण्डे बताउँछन् । ‘एकातिर कोरोना भएपछि विद्यालय आउन मिल्दैन, अर्कोतिर रिलिभ टिचर (सट्टामा आउने अर्को शिक्षक) पाउन गाह्रो भएकाले समेत समस्या थपिएको हो,’ पाण्डेले भने । कतिपय दुर्गम क्षेत्रमा शिक्षक अभावका कारण दुईटा कक्षालाई मर्ज गरेर एकै शिक्षकले पढाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

यसैबीच, जनसंख्याको हिसाबले सबैभन्दा ठूलो न्यु साउथ वेल्स राज्यका शिक्षकले गत बिहीबार सिड्नीमा विरोध प्रदर्शन गरेका छन् । सरकारी तथा क्याथोलिक विद्यालयका हजारौं शिक्षकले सरकारले हालै घोषणा गरेको ३ प्रतिशत तलब वृद्धिको चर्को विरोध जनाएका हुन् । आफ्नो हकहितको माग गर्दै गएको ७ महिनामा शिक्षकले गरेको यो तेस्रो आन्दोलन हो । शिक्षण पेसा तनावपूर्ण रहेको भन्दै सरकारी निकायको ध्यानाकर्षण गराएका शिक्षकले आफूहरू थकित भएको जनाएका हुन् । सरकारले शिक्षकलाई आकर्षित गर्न अझै राम्रा योजना नल्याएसम्म शिक्षक अभावको समस्या समाधान नहुने उनीहरूको भनाइ छ ।

प्रकाशित : असार २०, २०७९ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?