‘स्वास्थ्य समस्याको जोखिममा युरोपेली कामदार’

कल्याणकारी सेवा कम्पनी ‘लाइफवर्क्स’ को नयाँ अध्ययनले ४१ प्रतिशत कामदार चिन्ता, तनाव, हुटहुटी, एक्लोपनाजस्ता मानसिक स्वास्थ्यको उच्च जोखिममा रहेका देखाएको हो
उच्च मानसिक तनाव हुने देशको सूचीमा पोल्यान्ड, स्पेन, फ्रान्स, इटाली, जर्मनी र नेदरल्यान्ड्स अगाडि
ददि सापकोटा

पेरिस — युरोपेली मुलुकका झन्डै आधा कामदार मानसिक स्वास्थ्य समस्याको उच्च जोखिममा रहेको तथ्यांक एक अध्ययनले सार्वजनिक गरेको छ । कल्याणकारी सेवा कम्पनी ‘लाइफवर्क्स’ को नयाँ अध्ययनमा कोभिड–१९ को महामारी र रुस–युक्रेन युद्धपछिको आर्थिक संकटले युरोपेली कामदारहरूको मनोबल अभूतपूर्व रूपमा कमजोर भइरहेको देखिएको हो ।

‘स्वास्थ्य समस्याको जोखिममा युरोपेली कामदार’

फ्रान्स, जर्मनी, इटाली, स्पेन, नेदरल्यान्ड्स र पोल्यान्डमा अप्रिलमा गरिएको अनलाइन सर्वेक्षणमा ५ सयभन्दा बढी व्यक्तिले भाग लिएका थिए । सहभागीमध्ये करिब आधाले आफूहरूले महामारीअघिभन्दा बढी तनाव झेलिरहेको र अझ बढी संवेदनशील महसुस गरिरहेको बताएका छन् । अध्ययनमा सहभागी एकतिहाइले उनीहरूको मानसिक स्वास्थ्यले कामको नतिजा, सक्रियता र उत्पादकतालाई नकारात्मक असर गरिरहेको बताएका छन् ।

लाइफवर्क्सद्वारा गरिएको सर्वेक्षणमा सहभागी ४१ प्रतिशतलाई उच्च चिन्ता, तनाव, हुटहुटी, एक्लोपनाजस्ता मानसिक स्वास्थ्यको उच्च जोखिम देखिएको हो । महामारीअघि सन् २०१७ देखि २०१९ मा गरिएको सर्वेक्षणको तुलनामा हाल तीन गुणा बढी समस्या देखा परेको रिपोर्टमा उल्लेख छ ।

युरोपेलीहरूले पछिल्लो समय कोरोना महामारीका कारण त्रासमा परेको, कठिन आर्थिक प्रभाव बेहोर्नुपरेको, एकान्त र एक्लै बस्नुपरेको, आफन्तसँग टाढिनुपरेको र मानसिक नियन्त्रण गुमाउने अवस्थाका कारण यस्तो समस्या देखिएको लाइफवर्क्सको विश्वव्यापी अनुसन्धानका नेतृत्वकर्ता पाउला आलानले बताएकी छन् ।

‘त्यो सबै दुःख पार गरेर जब हामीले सुरुङको अन्त्यमा प्रकाशको धिपधिपे उज्यालो देख्न लागेका थियौं । त्यही बेला युक्रेनमा युद्ध देखापर्‍यो । त्यसले फेरि निराशामा धकेल्यो । यो सबैको परिणाम त्यही हो,’ उनले भनिन् ।

युवा, महिला, अभिभावक र कम आम्दानी भएका मानिसहरू सबैभन्दा बढी संघर्ष गरिरहेको प्रतिवेदनमा उल्लेख छ । ‘आय र मानसिक स्वास्थ्यबीचको सम्बन्ध धेरै बलियो छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘अब युरोपेली कामदारहरू पनि उच्च मुद्रास्फीति र समस्या अन्त्य गर्न नसक्ने डरबारे चिन्तित छन् ।’

कोरोना कहरसँगै प्रविधिमा भरपर्ने बानी विकसित भएको र मानिसहरू साँघुरो संसारमा जिउने गरेका उनको भनाइ छ । ‘यी दुई वर्षमा हामीले हाम्रो संसार साँघुरो बनाएका छौं र त्यही साँघुरो संसारमा काम गर्ने बानी पारेका छौं । धेरै मानिसहरूले वास्तवमा यो ठीक छ भन्ने महसुस गरिरहेका छन् । यो हाम्रो मानसिक स्वास्थ्यका लागि राम्रो कुरा होइन,’ आलानले भनेकी छन्, ‘हामी हाम्रो काममा धेरै कुशल भएका छौं । हामी यी २०–मिनेट जुम कलहरूमा लेनदेन, बातचित गरेर अगाडि बढ्न सक्छौं । तर त्यसले आत्मीयताको भावना निर्माण गर्दैन । मानिसहरूलाई मानसिक तनाव दिन्छ ।’

गणनामा संलग्न भएकामध्ये एकतिहाइभन्दा बढीले ढुक्क भएर बस्नका लागि आफूहरूसँग आपत्कालीन बजेटसम्म नभएकोमा चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, उनीहरूले अन्य कारकमा चिन्ता, अनिश्चितता, एक्लोपना, असहयोग, तनावको स्तरलाई औंल्याएका छन् । सर्वेक्षणअनुसार सबैभन्दा कमजोर मानसिक स्वास्थ्य स्कोर पोल्यान्ड (५३.६) को छ । त्यस्तै, स्पेन (५७.१), फ्रान्स (५७.४), इटाली (५८.४), जर्मनी (६२.३) र नेदरल्यान्ड (६७.९) उच्च मानसिक तनाव हुने देशको सूचीमा अग्र स्थानमा छन् । सर्वेक्षणमा सहभागीमध्ये एकतिहाइले अक्सर एक्लो महसुस गर्ने गरेका जनाएका प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : असार १९, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?