कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युरोपेली मुलुकका झण्डै आधा कामदार मानसिक स्वास्थ्य समस्याको उच्च जोखिममा

पेरिस — युरोपेली मुलुकका झण्डै आधा कामदार मानसिक स्वास्थ्य समस्याको उच्च जोखिममा रहेको तथ्यांक एक अध्ययनले सार्वजनिक गरेको छ ।

युरोपेली मुलुकका झण्डै आधा कामदार मानसिक स्वास्थ्य समस्याको उच्च जोखिममा

कल्याण सेवा कम्पनी 'लाइफवर्क्स' को नयाँ अनुसन्धान अनुसार कोभिड-१९ महामारी, युक्रेनमा युद्ध र त्यसपछि दैनिक जीवन गुजारामा संकटको लागतले युरोपेली कामदारहरूको मनोबललाई अभूतपूर्व तरिकाले झड्काइरहेको छ ।

फ्रान्स, जर्मनी, इटाली, स्पेन, नेदरल्याण्ड र पोल्याण्डमा अप्रिल महिनामा भएको अनलाइन सर्वेक्षणमा ५०० भन्दा बढी व्यक्तिले भाग लिएका थिए । सहभागी झन्डै आधाले आफूहरूले महामारीअघि भन्दा बढी तनाव झेलिरहेको र अझ बढी संवेदनशील महसुस गरिरहेको बताएका छन् ।

अध्ययनमा सहभागी एकतिहाइले उनीहरूको मानसिक स्वास्थ्यले कामको नतिजा, सक्रियता र उत्पादकतालाई नकारात्मक असर गरिरहेको बताएका छन् ।

लाईफवर्क्सद्वारा सर्वेक्षण गरिएकामध्ये ४१ प्रतिशतलाई उच्च खालको चिन्ता, तनाव, हुटहुटी, एक्लोपन महसुस जस्ता मानसिक स्वास्थ्यको उच्च जोखिममा रहेको मानिएको छ ।

महामारीअघि सन् २०१७ देखि २०१९ मा गरिएको सर्वेक्षणको तुलनामा हाल तीन गुणा बढी समस्या देखा परेको रिपोर्टमा उल्लेख छ ।

युरोपेलीहरूले पछिल्लो समय कोरोना महामारीको त्रास भोगेको, महामारीको कठिन आर्थिक प्रभाव बेहोर्नु परेको, एकान्त र एक्लै बस्नुपरेको, आफन्तसित टाढिनु परेको पीडा र मानसिक नियन्त्रण गुमाउने भावना बेहोर्नु परेकाले यो सबै समस्या देखा परेको भनाइए लाईफ वर्कको विश्वव्यापी अनुसन्धानको नेतृत्वकर्ता पाउला आलानले बताएकी छन् ।

'त्यो सबै दु:ख पार गरेर जब हामीले सुरुङको अन्त्यमा प्रकाशको धिपधिपे उज्यालो देख्न लागेका थियौं । त्यही बेला युक्रेनमा युद्ध देखापर्‍यो । त्यसले फेरि अँध्यारो, निराशा नै निराशामा धकेल्यो। यो सबैको परिणाम त्यही हो,' उनको भनाइ छ ।

युवा, महिला, अभिभावक र कम आम्दानी भएका मानिसहरू सबैभन्दा बढी संघर्ष गरिरहेको प्रतिवेदनले देखाएको छ ।

'आय र मानसिक स्वास्थ्यबीचको सम्बन्ध धेरै बलियो छ,' रिपोर्टमा एलेनले भनेकी छन्, 'अब युरोपेली कामदारहरू पनि उच्च मुद्रास्फीति र समस्या अन्त्य गर्न नसक्ने डरको बारेमा चिन्तित छन् ।'

गणनामा संलग्नहरुमध्ये एकतिहाइ भन्दा बढीले ढुक्क भएर बस्नका लागि आफूहरूसित आपतकालीन बजेटसम्म नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।

अन्य कारकहरूमध्ये चिन्ता, अनिश्चितता, एक्लोपन, सहयोगहीनताको भाव, तनावको स्तरलाई हेरिएको सर्वेक्षणको आधारमा, सबैभन्दा कम मानसिक स्वास्थ्य स्कोर पोल्याण्ड (५३ दशमलव ६), स्पेन (५७ दशमलव १), फ्रान्स (५७ दशमलव ४), इटाली (५८ दशमलव ४) मा देखिएको छ । जर्मनी (६२ दशमलव ३) र नेदरल्याण्ड (६७ दशमलव ९) उच्च मानसिक तनाव हुने अग्रणी देशमा परेका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये एकतिहाइले अक्सर एक्लो महसुस गरेको रिपोर्ट गरेका छन् ।

एक्लोपनको अनुभूति गर्नेहरू फ्रान्समा सबैभन्दा बढी देखिएको छ । फ्रान्सका ४० प्रतिशत कामदार, त्यसपछि पोल्याण्डमा ३९ प्रतिशत, स्पेनमा ३७ प्रतिशत, इटालीमा ३५ प्रतिशत र जर्मनीमा २८ प्रतिशतले एक्लोपनको महसुस गरेका छन् ।

यो एक्लोपनले मानिसको दिमागका लागि मात्र नराम्रो नभएर शरीरको लागि पनि खराब देखिएको रिपोर्टमा उल्लेख छ। यसले मानिसहरूलाई कार्डियोभास्कुलर समस्याहरू र प्रतिरक्षा प्रणालीका विकारहरूको उच्च जोखिममा राख्ने र यो झन् सामान्य हुँदै गइरहेको अनुसन्धानले सुझाव दिएको छ ।

'हामीले यी दुई वर्षमा हाम्रो संसार सानो बनाएका छौं र त्यही सानो संसारमा काम गर्ने बानी पारेका छौं । धेरै मानिसहरूले वास्तवमा यो ठीक छ भन्ने महसुस गरिरहेका छन् । यो हाम्रो मानसिक स्वास्थ्यको लागि राम्रो कुरा होइन,' अनुसन्धान संस्था लाइफ वर्कको विश्वव्यापी अनुसन्धानको नेतृत्वकर्ता पाउला आलानले भनेकी छन्, 'हामी हाम्रो काममा धेरै कुशल भएका छौं । हामी यी २०-मिनेट जुम कलहरूमा लेनदेन, बातचित गरेर अगाडि बढ्न सक्छौं। तर त्यसले आत्मीयताको भावना निर्माण गर्दैन । मानिसहरुलाई मानसिक तनाव दिन्छ ।'

प्रकाशित : असार १८, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?