कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पेरिस विमानस्थलमा हडताल, उडान रद्द

ददि सापकोटा

पेरिस — बिहीबारदेखि फ्रान्सको राजधानी पेरिसस्थित चार्ल्स द गोल विमानस्थलका कर्मचारीहरुको हडतालका कारण दर्जनौं विमानहरु रद्द भएका छन् । युरोपकै अति व्यस्त  चार्ल्स द गोल विमानस्थलका कर्मचारीहरुले हडताल गरेपछि बिहीबार सम्पूर्ण उडानको १० प्रतिशत रद्द गरिएको थियो ।

पेरिस विमानस्थलमा हडताल, उडान रद्द

शुक्रबार पनि कर्मचारीहरूले हडताल जारी राखेका छन् र अझ धेरै विमान रद्द हुने आकलन गरिएको फ्रान्सको बीएफएम टीभीले जनाएको छ । विमानस्थल अपरेटर एडीपीका प्रवक्ताले विमानस्थल जाने सडक यातायातसमेत अवरुद्ध भइरहेको बताए ।

एयरलाइन्स ट्राफिक महामारीपूर्वको स्तरतिर फर्किंदै गर्दा कट्टरपन्थी मजदुर युनियन सीजीटी र अन्य कर्मचारी युनियनहरूले ज्याला, तलबवृद्धि अन्य र थप सुविधाको माग गर्दै हडताल गरेका हुन् ।

फ्रान्समा जुन महिनामा मुद्रास्फीति ६.५ प्रतिशतमा पुगेर गम्भीर आर्थिक समस्या भोगिरहेकै बेला सीजीटीले सबै कर्मचारीहरूको प्रतिमहिना ३०० युरो न्यूनतम तलबवृद्धिको माग गरिरहेको छ ।

कोभिड–१९ महामारीको बेलामा ठूलो मात्रामा कर्मचारी कटौती गरेपछि एयरलाइन्सहरूले कर्मचारी भर्ना गर्न संघर्ष गरिरहेका बेला कामदारहरूले विभिन्न माग राखेका हुन् ।

फ्रान्सेली उड्डयन प्राधिकरण डीजीएसीले एयरलाइन्सहरूलाई शुक्रबार स्थानीय समय ७:०० बजे र दिउँसो २:०० बजेको बीचमा रहेका ६ मध्ये एउटा उडान रद्द गर्न भनेको थियो । डीपीले शुक्रबार साँझसम्म लगभग १० प्रतिशत उडानहरू रद्द हुने आकलन गरेको छ ।

सीजीटीका अनुसार जुन ९ मा पेरिसमा भएको पहिलो एयरपोर्ट हडतालमा एक हजार पाँच सय विमान कर्मचारी संलग्न थिए । तिनको हडतालकै कारण चार्ल्स द गोल विमानस्थलका २० प्रतिशत उडान रद्द गर्नुपरेको थियो ।

व्यवस्थापन दुई देखि तीन प्रतिशत तलब बढाउन राजी भए पनि कर्मचारीहरुले भने १५ देखि २० प्रतिशत माग गरेको चार्ल्स द गोल अन्तर्राष्ट्रिय एयरपोर्टका ग्राउन्ड ह्यान्डलिङ एजेन्ट लोरिस फोरम्यानले मेडियाहरुलाई बताएका छन् ।

कर्मचारी कटौतीले गर्दा थोरै कर्मचारीले अत्यधिक बढी समय काम गर्नु परेकाले कर्मचारीहरु डिप्रेसनको बिदामा बस्नु परेको र त्यसले गर्दा थोरै कर्मचारीले अझ धेरै तनाव भोग्नुपरेको पनि उनले उल्लेख गरेका छन् ।

प्रकाशित : असार १७, २०७९ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?