३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भाजपाको समर्थनमा महाराष्ट्रमा बन्यो नयाँ सरकार 

कुनै समय रिक्सा चलाउने शिंदे बने मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री फडणवीसले लिए उपमुख्यमन्त्रीको जिम्मेवारी
राजेश मिश्र

नयाँदिल्ली — महाराष्ट्रमा सत्तारुढ दल शिवसेनामा विभाजन आएपछि सरकार फेरिएको छ । पार्टीमा विद्रोह गरेर बहुमत सांसदको समर्थन जुटाएका शिवसेना नेता एकनाथ शिंदे भाजपाको समर्थनमा मुख्यमन्त्री भएका छन् । 

भाजपाको समर्थनमा महाराष्ट्रमा बन्यो नयाँ सरकार 

यसअघि शिवसेनाका प्रमुख उद्धव ठाकरेले कांग्रेसको समर्थनमा सरकार चलाइरहेको थियो । पार्टीका बहुमत सांसदले साथ छाडेपछि ठाकरेले बुधबार बेलुका राज्यपालसमक्ष राजीनामा बुझाएका थिए । विधानसभामा ‘फ्लोर टेस्ट’ हुने स्थिति बनेपछि ठाकरेले राजीनामाको बाटो लिएका हुन् । पछिल्लो ११ दिनदेखि महाराष्ट्रमा राजनीतिक उथलपुथल चलिरहेको थियो । शिवसेनाका नेता शिंदेले पार्टीको ५६ जना विधायकमध्ये ३९ को समर्थन प्राप्त गरेका छन् । उनी केही दिनदेखि आफ्ना समर्थक विधायकसहित लिएर असमको गुवाहाटीमा बसिरहेका थिए । यसअघि जस्तै राज्य सरकार फेर्न भाजपाले ‘अपरेसन लोटस’ चलाएको समेत बताइएको छ ।

ठाकरेको राजीनामापछि भाजपा र शिंदे गुट एक ठाउँमा आएको हो । भाजपाले समर्थन गरेपछि शिंदेले बहुमत विधायकहरुको साथ आफूसमक्ष रहेको भन्दै राज्यपाल भगतसिंह कोश्यारीसमक्ष सरकारको दाबी गरेका हुन् । पहिला भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री र शिवसेनाका बागी नेता शिंदे उपमुख्यमन्त्री बन्ने चर्चा थियो । तर, भाजपाले शिंदेलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि उनले सपथ लिएका छन् ।

भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले मुख्यमन्त्रीमा शिंदेको नाम घोषणा गरेका थिए । दुई पटक मुख्यमन्त्री भएका फडणवीसको नेतृत्वमा भाजपा पनि सरकारमा सहभागी भएको छ । सन् २०१९ मा भएको विधानसभा चुनावमा भाजपा सबैभन्दा ठूलो पार्टी बनेको थियो । तर, भाजपाको पुरानो मित्र शिवसेनाले कांग्रेस र शरद पवारको एनसीपीसँग गठबन्धन गरेर सरकार बनाएको थियो । भाजपा र शिवसेनाले चुनावी तालमेल गरेका थिए । तर, मुख्यमन्त्री को बन्ने विषयमा विवाद बढेपछि शिवसेनाले कांग्रेस र एनसीपीको साथ लिन पुगेको थियो ।

महाराष्ट्र विधासभामा २ सय ८८ सिट छ । त्यहाँ बहुमतका लागि १ सय ४४ विधायकको समर्थन चाहिन्छ । शिंदेले १ सय ६१ विधायकको साथ पाएका छन् । भाजपाको १ सय ६, शिवेसेनाका बागी ३९, निर्दलीय ८ र प्रहार पार्टीका २ जना सांसदको साथ उनले पाएका हुन् । २० जुनबाट महाराष्ट्रमा सरकार परिवर्तनको चलखेलको समाचार बाहिरिएको थियो । शिंदेले त्यही दिन आफ्ना केही समर्थक सांसदहरुलाई लिएर महाराष्ट्र छाडेका थिए । उनकै बलमा अढाई वर्षपछि भाजपा महाराष्ट्रमा पुन: सरकारमा फर्किएको हो ।

शिंदेले १८ वर्षको उमेरमै शिवसेनाबाट राजनीतिक यात्रा सुरु गरेका थिए । करिब १५ वर्ष काम गरेपछि उनलाई सन् १९९७ मा नेता आनन्द दिघेले ठाणे नगर निगमको चुनावमा पार्षदको टिकट दिलाएका थिए । पहिलो पटकै उनले त्यतिबेला चुनाव जिते । त्यसपछि सन् २००४ मा उनी ठाणे सिटबाट विधानसभा चुनाव जिते । त्यस्तै २००९ देखि भने उनी कोपरी पचपाखडी विधानसभा क्षेत्रबाट चुनाव जित्दै आएका छन् ।

२०१५ देखि २०१९ सम्म लोकनिर्माण मन्त्री बनेका उनी पछिल्लो समय भने शहरी विकास मन्त्रीको जिम्मेवारीमा थिए । पढ्नका लागि ठाणे आएका उनी कुनै समय अटोरिक्सासमेत चलाउँथे । अटोरिक्सा चलाउँदै गर्दा उनी शिवसेनासँग जोडिएका हुन् । उनका छोरा श्रीकान्त पनि राजनीतिमा रहेका छन् । पेशाले चिकित्सक शिंले कल्याण क्षेत्रबाट लोकसभा सदस्य रहेका छन् । उनका एक छोरा र एक छोरीको भने सन् २००० मा तालमा बोटिङका क्रममा डुबेर मृत्यु भएको थियो ।

बालासाहेब ठाकरेका छोरासमेत रहेका उद्धव र भतिज राज ठाकरेबीच मनमुटाव बढेपछि सन् २००६ मा शिव सेना विभाजन भएका थिए । राजले महाराष्ट्र नवनिर्माण सेना नामक नयाँ पार्टी घोषणा गरे । त्यसपछि शिंदे उद्धवको पक्षमा लागेका हुन् । सन् २००९ को विधानसभा चुनावमा राजको पार्टीले १३ सिट जितेको थियो । २०१४ र २०१९ को चुनावमा भने उनको पार्टीले १ सिटमा मात्र जित हात पारेको थियो । राजले बिहीबार शिंदेलाई बधाई दिँदै भाजपासँग सतर्क रहन आग्रहसमेत गरेका छन् ।

पूर्वमुख्यमन्त्री बने उपमुख्यमन्त्री

सरकारमा भाजपा नेता देवेन्द्र फडणवीसले उपमुख्यमन्त्रीको शपथ लिएका छन् । मुख्यमन्त्रीका रूपमा उनलाई हेरिएको थियो । तर, अन्तिम समयमा भाजपाले शिंदेलाई मुख्यमन्त्री छाड्ने निर्णय लिएपछि फडणवीस आफू सरकारबाहिर रहने जनाएका थिए । दुई पटक पूर्वमुख्यमन्त्री रहिसकेका फडणवीसलाई पार्टीले उपमुख्यमन्त्री बस्न आग्रह गरेपछि उनले उक्त पद स्वीकार गरेका हुन् ।

पार्टी अध्यक्ष जेपी नड्डाले सार्वजनिक रूपमै फडणवीसको सरकारमा आवश्यकता रहेको र उनले उपमुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । फडणवीस मात्रै होइन, भाजपा महाराष्ट्रका नेताहरूलाई समेत उक्त कुराको सुइँकोसमेत थिएन । भाजपा अध्यक्ष नड्डाले सार्वजनिक रूपमै ठूलो मन देखाउँदै फडणवीसले मन्त्रिमण्डलमा सहभागी हुने निर्णय गरेको बताएका थिए । उनले भनेका थिए, ‘भाजपाले महाराष्ट्रका जनताको भलाईका लागि ठूलो मन देखाउँदै एकनाथ शिंदेलाई समर्थन गर्ने निर्णय गरेको छ । देवेन्द्र फडणवीसले पनि ठूलो मन देखाउँदै मन्त्रिमण्डलमा सहभागी हुने निर्णय गर्नु भएको छ जसले महाराष्ट्रका जनताप्रति उहाँको लगाव दर्शाउँछ ।’

फडणवीसले सन् १९८९ बाट वडा तहबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी सन् २०१३ मा महाराष्ट्रको भाजपा अध्यक्ष बनेका थिए । अहिले उनी केरलका प्रभारी रहेका छन् । बिहार, गोवा र केरलमा भएको चुनावमा पनि उनलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको थियो । पहिलो पटक उनी २०१४ मा महाराष्ट्रका मुख्यमन्त्री बनेका थिए । दोस्रो पटक भने सत्ता साझेदार पार्टी शिवसेनासँगको खटपटका कारण ४ दिनमै उनको सरकार ढलेको थियो । पछिल्लो समय भने भाजपा रणनीतिक रूपमा उपमुख्यमन्त्री पद लिएर सरकारमा सहभागी भएको बताइन्छ ।

महाराष्ट्रको राजनीतिमा 'हिन्दुत्व' र 'मराठा गौरव' मुद्दाले काम गर्छ । पछिल्लो समय शिव सेना र भाजपाले हिन्दुत्वको मुद्दालाई अगाडि बढाइरहेका छन् । शरद पवारले भने मराठा गौरवलाई राजनीतिक मुद्दा बनाएका छन् ।

प्रकाशित : असार १६, २०७९ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?