१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

एकनाथ शिन्दे महाराष्ट्रको नयाँ मुख्यमन्त्री 

काठमाडौँ — शिवसेना विद्रोही समूहका नेता एकनाश शिन्दे महाराष्ट्रको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । महाराष्ट्रका पूर्वमुख्यमन्त्री तथा बीजेपी नेता देवेन्द्र फडणवीसले पत्रकार सम्मेलनमार्फत शिन्दे आगामी मुख्यमन्त्री बन्ने जानकारी दिएका हुन् ।

एकनाथ शिन्दे महाराष्ट्रको नयाँ मुख्यमन्त्री 

फडणवीसले राज्यपाल भगतसिंह कोश्यारीलाई भेटेपछि शिन्देलाई मुख्यमन्त्री बनाउने जानकारी दिएका हुन् । बुधबार उद्धव ठाकरेले राजीनामा दिएपछि बीजेपीबाट फडणवीस मुख्यमन्त्री र शिन्दे उपमुख्यमन्त्री बन्ने आकलन गरिएको थियो । तर बिहीबार अचानक फडणविस र शिन्देले संयुक्त पत्रकार सम्मेलन गर्दै महाराष्ट्रको विकासका लागि बीजेपी र शिवसेना फेरि एकपल्ट एकसाथ आएको बताएका छन् । शिन्देले बिहीबार साँझ नै शपथ लिने पनि फडणवीसले जानकारी दिएका छन् ।

सन् २०१९ को विधानसभा चुनावको जनमतको उद्धव ठाकरे पक्षले अपमान गरेको समेत फडणवीसले बताएका छन् । शिवसेना र बीजेपी मोर्चा बनाएर चुनाव लडे पनि पछि उद्धवले कांग्रेस र शरद पवार नेतृत्वको एनसीपीसँग मिलेर सरकार बनाएका थिए । त्यसै कारणले फडणवीसको सरकार ४ दिनमै ढलेको थियो ।

शिन्दे समूहले केही महिनादेखि उद्धव पक्षले एकलौटी रूपमा पार्टी चलाएको, हिन्दुत्वको एजेन्डा छोडेकोलगायतका आरोप लगाउँदै आएको थियो । शिन्देसँग शिवसेनाका ४० विधायक रहेको दाबी गरिएको छ । स्वतन्त्रसहित आफूसँग ५० जना सांसद रहेको उनले दाबी गरेका छन् । बीजेपी महाराष्ट्रको सबैभन्दा ठूलो पार्टी हो । उसँग १०६ जना सांसद रहेका छन् ।

ठाकरेको पक्षमा भने १६ जना सांसद रहेको दाबी गरिएको छ । त्यस्तै विधानसभामा कांग्रेसका ४४ र एनसीपीका ५३ जना सांसद रहेका छन् ।

यसअघि राज्यपाल कोश्यारीले ठाकरेलाई बिहीबारका विश्वासको मत लिन भनेका थिए । त्यसपछि शिवसेनाले राज्यपालको निर्णयविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिएको थियो । तर सर्वोच्च अदालतले विश्वासको मत लिने प्रक्रिया रोक्न नसकिने फैसला सुनाएको थियो । सर्वोच्चको आदेशसँगै ठाकरेले राजीनामा घोषणा गरेका थिए ।

प्रकाशित : असार १६, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?