१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बदलिँदै छ अस्ट्रेलिया

अस्ट्रेलिया बहुसांस्कृतिक मुलुक बन्दै, कुनै धर्म नमान्ने जनसंख्या ४० प्रतिशत, हिन्दु र इस्लाम धर्म मान्नेको संख्या बढ्दै
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाले ५ वर्षपछि मंगलबार राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक गर्‍यो । जनगणनामार्फत अस्ट्रेलियाले आफ्नो देशको जनसंख्या करिब २ करोड ६० लाख रहेको तथ्यांक मात्र दिएन कि परम्परागत शैली बदल्दै गएको विवरणसमेत सार्वजनिक गर्‍यो ।

बदलिँदै छ अस्ट्रेलिया

अस्ट्रेलियाले सफल बहुसांस्कृतिक राष्ट्रका रूपमा विकसित हुँदै गएको आफ्नो परिचयलाई मंगलबार निकालेको जनगणनाको विवरणपछि पुष्टि गर्‍यो । त्यसका साथै कोरोना भाइरसको संक्रमणपछि पनि आर्थिक क्षेत्रमा पाएको सफलता, सामान्य कामदारको औसत साताको आम्दानी, झन्डै ४० प्रतिशत जनता नास्तिक रहनु, २ सय ५० बढी वंशज तथा पुर्खाको सूचनालाई समावेश गरिनु र ३ सय ५० भाषालाई जनगणनामा समेटेर अस्ट्रेलियाले विविधताको परिचय दिएको हो ।

धर्मप्रति आस्था राख्ने कम हुनु, आदिवासीको संख्यामा वृद्धि हुनु, विविधता थपिनुलगायत विषयका अस्ट्रेलिया परिवर्तन हुँदै गएको देखिएको बीबीसीले जनाएको छ । त्यसबाहेक पनि धेरै कुराले अस्ट्रेलियालाई अन्य विभिन्न मुलुकका तुलनामा पृथक बनाएको छ । कुनै पनि धर्मविशेषलाई प्राथमिकता नदिने भए पनि क्रिस्चियन धर्म अपनाउने कम हुँदै गएका छन् भने हिन्दु तथा इस्लाम धर्म मान्ने जनसंख्या बढ्दै गएको छ । अझ रोचक त अस्ट्रेलियाका ४० प्रतिशत जनताले जनगणनामा कुनै पनि धर्म नमान्ने बताएका छन् ।

करिब १ सय २१ वर्षअघि मात्र संघीय राज्यका रूपमा उदाएको अस्ट्रेलियामा मुख्यतः आप्रवासी नै बसोबास गर्दै आएका छन् । विशेषगरी गोरो छालाका नागरिकको बाहुल्य रहेको भए पनि आगामी वर्षहरूमा त्यो कमजोर हुने देखिएको छ । यस वर्षको मतगणना हेर्ने हो भने यहाँ रहेका आधा अभिभावक विदेशमा जन्मिएका छन् भने एक चौथाइभन्दा बढी जनसंख्या विदेशमा जन्मिएका छन् । अस्ट्रेलियामा आप्रवासीले आफ्नो संख्या बढाउनु मात्र हैन कि त्यससँगै आफ्नो भाषा तथा धर्मलाई समेत सँगसँगै प्रभावकारी रूपमा अघि बढाइरहेका छन् । तथ्यांक हेर्ने हो भने पनि चीनको मुख्य भाषा मन्डारिन अंग्रेजीपछिको दोस्रो भाषा बनेको छ भने झन्डै ३ लाख ७० हजार अरबिक भाषी बसोबास गर्छन् भने २ लाख ४० हजारले पन्जाबी बोल्ने गरेका छन् । कोरोना भाइरसका कारण झन्डै दुई वर्ष आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गरेको भए पनि अस्ट्रेलियालाई १० लाख बढीले आफ्नो घरका रूपमा स्विकारे । अस्ट्रेलियाको औसत हरेक साताको आम्दानी १७ सय ४८ डलर (करिब १ लाख ४५ हजार रुपैयाँ) छ । जसमा पनि पुरुषले २ हजार २५ डलर र महिलाले १८ सय डलर कमाउँछन् । यसले अस्ट्रेलियामा अहिले पनि तलबमा लैंगिक विभेद भने अहिले पनि कायम रहेको देखाएको छ । कोरोनाका कारण अर्थतन्त्रमा नराम्रो असर परेको भए पनि बेरोजगार दर दशकौंको कम अर्थात् ३.९ प्रतिशतमा अस्ट्रेलियाले कायम राख्यो ।

अत्यन्तै राम्रो स्वास्थ्य संरचना र सुविधा भए पनि यहाँका ८० लाख बढी जनता दीर्घरोगका कारण पीडित छन् जसमध्ये करिब २२ लाख जनता मानसिक रोगका कारण पीडित छन् । अर्कोतिर अस्ट्रेलियाले आदिवासीलाई अत्यन्तै महत्त्व मात्र दिने गरेको छैन कि सेवा तथा सुविधासमेत तुलनात्मक रूपमा अलि बढी दिने गरेको छ । यस पटकको जनगणनामा ५ वर्षअघिको भन्दा २५ प्रतिशतले आदिवासीको जनसंख्या बढेको तथ्यांक छ । करिब १६ प्रतिशत अस्ट्रेलियाली जनता एकल परिवारका रूपमा बस्ने गरेका छन्, जुन संख्या करिब १० लाख ७० हजार हो । विश्वमै घर खरिद गर्नका लागि कठिन देश बन्दै गए पनि ६६ प्रतिशतले आफ्नै घरमा बस्छन् तर पनि घर सम्पूर्ण रूपमा खरिद गर्ने नागरिक भने जम्मा ३० प्रतिशत मात्र रहेका छन् । अस्ट्रेलियाको तथ्यांक विभागका सहायक तथ्यांकविद् थेरेसा डिकिन्सनले हालै सार्वजनिक तथ्यांक महत्त्वपूर्ण भएको बताएकी छन् ।

अस्ट्रेलिया विकसित मुलुक मात्र नभएर विश्वकै सफल बहुसांस्कृतिक देशका रूपमा चिनिन्छ । यहाँको राज्य तथा केन्द्र सरकारले विभिन्न धर्म तथा कलासंस्कृतिका समुदायले गर्ने कार्यक्रमलाई सहयोगसमेत गर्ने गरेको छ । ५ वर्ष लगाएर तयार गरिएको र गत मंगलबार सार्वजनिक जनगणनाले अस्ट्रेलियाले आप्रवासी, उनीहरूको कलासंस्कृति, भाषा, धर्मले बहुसांस्कृतिक पहिचानलाई अझ बढाउने मात्र नभएर त्यस्ता परिवर्तनले देश विकास हुने प्रमाणसमेत दिएको छ ।

*यसअघि प्रकाशित जनसंख्याको तथ्यांक त्रुटि भएकोमा क्षमयाचनासहित सच्याइएको छ ।- सम्पादक

प्रकाशित : असार १६, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?