कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजस्थानको उदयपुरमा सिलाइ मास्टरको बीभत्स हत्या

विरोधमा चर्कियो प्रदर्शन, प्रधानमन्त्री मोदीलाई मुख्यमन्त्री गहलोतको अनुरोध : देशवासीलाई सम्बोधन गर्नुहोस्
एजेन्सी

जयपुर — राजस्थानको उदयपुर जिल्लामा मंगलबार दिउँसो एक जना सिलाइ मास्टरको बीभत्स हत्या भएको छ । दिउँसो कपडा सिलाउने बहानामा पसलमा आएका दुई जना मुस्लिम युवाले सिलाइ मास्टर कन्हैयालाल तेलीको धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरेका हुन् ।

राजस्थानको उदयपुरमा सिलाइ मास्टरको बीभत्स हत्या

उक्त घटनापछि उदयपुरको अवस्था तनावग्रस्त बनेको छ । मुख्यमन्त्री अशोक गहलोतले शान्ति कायम राख्न अपिल गरेका छन् ।

राजस्थानका प्रहरी महानिर्देशक एमएल लाठरले घटनामा संलग्न राजसमंद जिल्लाका दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । घटनापछि मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न व्यक्तिले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत ज्यान मार्ने धम्की दिएका थिए । सिलाइ मास्टर कन्हैयालालको हत्याको भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार हत्याको विरोधमा स्थानीय नागरिक आक्रोशित भएका छन् । हत्याको विरोधमा उदयपुरका केही क्षेत्रमा आगजनीसमेत भएका छन् ।

माहोल बिग्रन सक्ने भन्दै २४ घण्टाका लागि राजस्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ । त्यस्तै उदयपुरमा कर्फ्यु जारी गरिएको छ । त्यस्तै एक महिनाका लागि धारा १४४(चार वा सोभन्दा बढीको संख्यामा भेला हुन रोक) लागू गरिएको छ । हत्याको विरोधमा विभिन्न हिन्दू संगठनहरू प्रदर्शन गरिरहेका छन् । राजस्थान र पूरै देशमा हिंसा भड्कन सक्ने भन्दै मुख्यमन्त्री गहलोतले देशवासीका नाममा अपिल जारी गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘यो घटना निकै दु:खद छ । यसको जति आलोचना गरे पनि कम हुन्छ । यो शर्मनाक पनि हो । र माहोल ठीक बनाउनु पनि अहिलेको आवश्यकता हो ।’ उनले प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहलाई अनुरोध गर्दै भनेका छन्, ‘पूरै देशमा तनावको माहोल बनेको छ । म आग्रह गर्छु कि मोदीजी र अमित शाहजीले देशवासीलाई सम्बोधन गर्नुहोस् ।’ मोदी र शाहको अपिलले माहोल ठीक हुने पनि उनले विश्वास व्यक्त गरेका छन् । राजनीतिक दलहरूले उक्त हत्याको कडा निन्दा गरेका छन् ।

कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले उक्त घटनाबाट आफू स्तब्ध भएको उल्लेख गर्दै भनेका छन्, ‘धर्मको नाममा बर्बरता सहन सकिँदैन । पाशविक रूपमा आतंक फैलाउनेलाई कडा सजाय होस् । हामी सबै मिलेर वैमनस्य हटाउनु आवश्यक छ । शान्ति र भाइचारा कायम राख्न सबैलाई म अपिल गर्छु ।’

बीजेपी नेता तथा राजस्थानकी पूर्व मुख्यमन्त्री वसुन्धरा राजेले प्रदेशमा साम्प्रदायिक उन्माद र हिंसाको स्थिति निम्तिएकोमा चिन्ता व्यक्त गरेकी छिन् । उनी भन्छिन्, ‘उदयपुरमा एक निर्दोष युवाको निर्मम हत्या हुनुबाट यो स्पष्ट भएको छ कि राज्य सरकारको असक्षमताका कारण अपराधीको हौसला बढिरहेको छ । र, प्रदेशमा साम्प्रदायिक उन्माद र हिंसाको स्थिति उपन्न भएको छ । अपराधी यति निडर छन् कि प्रधानमन्त्रीलाई जोडेरसमेत हिंसक बयान दिएका छन् ।

एआईएमआईएम पार्टीका प्रमुख असदुद्दीन ओवैसीले घटनाको कडा निन्दा गर्दै भनेका छन्, ‘उदयपुरमा भएको क्रुर हत्या निन्दनीय छ । यस्तो हत्याको कसैले पनि समर्थन गर्न सक्दैन । हाम्रो पार्टीले सधैं यस्तो हिंसाको विरोधमा रहेको छ । कसैलाई पनि कानुन हातमा लिने अधिकार छैन ।’ विधिको शासन कायम राख्न र अपराधीलाई कडा सजाय दिन पनि उनले सरकारसँग माग गरेका छन् ।

जम्मू–कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले पनि घटनाको निन्दा गर्दै कुनै पनि सभ्य समाजमा यस्ता घटनालाई स्थान दिन नहुने बताएका छन् । घटनाका जाँच र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।

त्यस्तै पूर्वक्रिकेटर इरफान पठान घटनाको निन्दा गर्दै लेख्छन्, ‘तपाईं कुन धर्म मान्नुहुन्छ, त्यसले केही फरक पर्दैन । एक निर्दोषको ज्यान लिनु भनेको पूरै मानवतालाई क्षति पुर्‍याउनु हो ।’

प्रकाशित : असार १५, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?