कोलम्बियाको जेलभित्र हिंसात्मक प्रदर्शन हुँदा ५१ कैदी मारिए- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोलम्बियाको जेलभित्र हिंसात्मक प्रदर्शन हुँदा ५१ कैदी मारिए

एजेन्सी

काठमाडौँ — कोलम्बियाको एक कारागारमा दंगा हुँदा ५१ जना मारिएका छन् । कोलम्बियाको तुलुवा सहरस्थित क्वेजोन सिटी जेलमा रातभर बन्दीहरूले प्रदर्शन गर्दा आगजनीसमेत भएको थियो ।

अधिकारीहरूका अनुसार यो कोलम्बियामा पछिल्लो समय भएका सबैभन्दा खराबमध्येको एक घटना हो । जेलभित्र दंगा हुँदा कैदीहरूले सुत्न र बस्न प्रयोग गरिने केही गद्दाहरू जलाएका थिए । यस क्रममा आगो फैलिएर ४९ जनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई जनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटनामा ३० जना घाइते भएका छन् । जहाँबाट अरु दर्जनौं बन्दीलाई सकुशल उद्धार गरिएको थियो ।

देशको दक्षिण-पश्चिम सहरमा रहेको उक्त जेलमा १ हजार २ सय ६७ बन्दी छन् । आगलागी भएको स्थानमा मात्रै १८० वटा घरहरू रहेको बताइएको छ । कोलम्बियाका प्राय: कारागारहरूमा क्षमताभन्दा ठूलो भीड हुने गरेको बताइन्छ ।

देशभर ८१ हजार बन्दी अटाउने क्षमताका जेल रहे पनि ९७ हजार जना बन्दीहरू रहेको तथ्यांक छ । हाल पोर्चुगल भ्रमणमा रहेका कोलम्बियाका राष्ट्रपति इभान ड्युकले मंगलबार भएको जेलभित्रको हिंसात्मक घटनाको छानबिन गरिने बताएका छन् । साथै उनले उक्त घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

यसअघि २०२० मा कोलम्बियामा भीडभाड र सेवा अभावविरूद्ध बन्दीहरूले प्रदर्शन गर्दा २० जनाभन्दा धेरै मारिएका थिए । त्यस क्रममा कोलम्बियाको सरकारले केही कैदीहरूलाई रिहा गरेको थियो।

प्रकाशित : असार १४, २०७९ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्

बूढीगंगामा पुन: मतदान रोक्ने मागमा दिएन सर्वोच्चले अन्तरिम आदेश

असार २३ गते चुनाव गर्न बाटो खुल्यो
कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न माग गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो । निर्वाचन आयोगले बूढीगंगामा यही असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध उक्त नगरपालिकाका दलबहादुर सावदले रिट निवेदन दायर गर्दै पहिला भएको मतदानको मतगणना गर्नुपर्ने माग गरेका थिए। अदालतको आदेशसँगै असार २३ गते उक्त नगरपालिकामा निर्वाचन गर्न बाटो खुलेको छ ।

निर्वाचन आयोगले उक्त नगरपालिकामा गत ३० वैशाखको मतदान रद्द गरी यही २३ असारमा पुनः मतदानको निर्णय गरेको थियो । रिट निवेदनमा यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गरिएको थियो ।

प्रकाशित : असार १४, २०७९ २१:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×