१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

फ्याक्ट चेक गर्ने अल्टन्युजका सहसंस्थापक मोहम्मद जुबैर पक्राउ

सत्यमाथिको आक्रमण : शशि थरुर

काठमाडौँ — तथ्य जाँच गर्ने वेबसाइट अल्टन्युजका सहसंस्थापक तथा पत्रकार मोहम्मद जुबैरलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । कथित रूपमा धार्मिक भावनामा ठेस पुर्‍याएको तथा वैमनस्यता फैलाएको आरोपमा पक्राउ गरिएको दिल्ली प्रहरीले जनाएको छ ।

फ्याक्ट चेक गर्ने अल्टन्युजका सहसंस्थापक मोहम्मद जुबैर पक्राउ

उनलाई भारतीय दण्ड संहिताको धारा १५३ र २९५ अन्तर्गत पक्राउ गरिएको दिल्ली प्रहरीले जनाएको छ । धार्मिक सहिष्णुतालाई खल्बलाएको आरोपमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको दिल्ली प्रहरीको दाबी छ ।

यति नरसिंहानन्द, महन्थ बजरंग मुनि र आनन्द स्वरूपका विवादित बयानको आलोचनापछि उनी लगातार हिन्दु कट्टरपन्थीको निसानामा थिए । अल्ट न्युजका सहसंस्थापक तथा सम्पादक प्रतीक सिन्हाका अनुसार जुबैरलाई सन् २०२० को पुरानो मु्द्दामा सोधपुछका लागि बोलाइए पनि अर्कै मुद्दामा पक्राउ गरिएको हो ।

सन् २०२० को पुरानो मुद्दामा उनलाई उच्च अदालतबाट पक्राउ नगर्न आदेश भएको थियो । सम्पादक सिन्हाका अनुसार जुबैरलाई सोमबार साँझ बिनानोटिस पक्राउ गरिएको हो । पटक-पटक आग्रह गर्दा पनि एफआईआरको प्रतिलिपि आफूहरूलाई उपलब्ध नगराइएको सिन्हाले जानकारी दिएका छन् ।

दिल्ली प्रहरीले भने जुबैरले अनुसन्धानमा सघाइरहेको जनाएको छ । उनी अहिले सोधपुछमै रहेको मंगलबार बिहान म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मोहम्मद जुबैर सन् २०२० मा यौन अपराधबाट बालबालिकालाई संरक्षण गर्ने ऐन(पोस्को) सँग जोडिएको एउटा विवादमा मुछिएका थिए । सन् २०२० मा उनले ट्विटमा आफूलाई गाली गर्ने व्यक्तिको नातिनीसहितको तस्बिर राखेर जवाफ फर्काएका थिए । यद्यपि उनले ती बालिकाको तस्बिर ब्लर गरेका थिए । आफूलाई गाली गर्ने व्यक्तिलाई जवाफ दिँदै उनले लेखेका थिए, 'के तपाईंकी नातिनीलाई सामाजिक सञ्जालमा गाली गर्ने तपाईंको पार्टटाइम जागिरबारे थाहा छ ? मेरो सुझाव छ कि तपाईं आफ्नो प्रोफाइल तस्बिर चेन्ज गर्नुस् ।'

त्यसपछि गाली गर्ने व्यक्तिको उजुरीको आधारमा बाल अधिकारसम्बन्धी राष्ट्रिय आयोग(एनसीपीसीआर) ले जुबैरमाथि कारबाही गर्न निर्देशन दिएको थियो । त्यतिबेलै दिल्ली प्रहरीको साइबर सेलले पोस्को ऐन र आईटी ऐनअनुसार उनलाई पक्राउ गरेको थियो । त्यसपछि जुबैरले दिल्ली उच्च अदालतको ढोका ढकढकाएका थिए । उच्च अदालतले दिल्ली प्रहरीलाई जुबैरमाथि कुनै कारबाही नगर्न आदेश दिएको थियो ।

कांग्रेस नेता शशि थरुले जुबैरको पक्राउलाई 'सत्यमाथिको आक्रमण' भनेका छन् । उनलाई तत्काल रिहाइको माग गर्दै उनी लेख्छन्, 'जुबैरलाई पक्राउ गर्नु सत्यमाथिको आक्रमण हो । उनलाई तत्काल रिहा गर ।' सन् २०१७ मा स्थापना भएको अल्टन्युज भारतमा तथ्यजाँच गर्ने प्रमुख वेबसाइट हो । यसमा आबद्ध पत्रकार र संस्थापकले पटक-पटक ट्रोलको सिकार हुनु परेको छ ।

साथै कट्टरपन्थीहरूको उजुरीका आधारमा समेत प्रशासनको झमेलासमेत बेहोर्नु परेको छ । केही महिनाअघि मात्र जुबैरविरुद्ध उत्तर प्रदेशको सीतापुर जिल्लामा उजुरी परेको थियो । अधिवक्तासमेत रहेका अभियन्ता प्रशान्त भूषणले जुबैरको पक्राउविरुद्ध आक्रोश व्यक्त गरेका छन् । 'सरकार घृणा फैलाउनेहरूलाई नंग्याउनेको पछि लागेको छ,' उनले भनेका छन् ।

प्रकाशित : असार १३, २०७९ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?