१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

के हो अमेरिकी सर्वोच्च अदालतले उल्टाएको गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो आदेश ?

राष्ट्रपति बाइडेन भन्छन् : 'अमेरिकाका लागि दु:खद दिन, अमेरिकी नागरिकको संवैधानिक हक खोसियो'
सर्वोच्च अदालतको फैसलाको विरोध र समर्थनमा प्रदर्शन, केही सहरमा गर्भपतन सेवा दिने क्लिनिक बन्द हुन थाले

काठमाडौँ — गर्भपतनसम्बन्धी महिलालाई प्राप्त संवैधानिक अधिकार खोसिएको भन्दै अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । शुक्रबार अमेरिकी सर्वोच्च अदालतले ५० वर्ष पुरानो एउटा फैसला उल्टाइदिएसँगै अमेरिकामा यसको पक्ष र विपक्षमा प्रदर्शन भइरहेको छ ।

के हो अमेरिकी सर्वोच्च अदालतले उल्टाएको गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो आदेश ?

शुक्रबार अमेरिकी सर्वोच्च अदालतले देशव्यापी रूपमा गर्भपतनलाई वैधता दिने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याइदिएको हो । सर्वोच्च अदालतको उक्त आदेशको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश थिए।

योसँगै अमेरिकामा गर्भपतनलाई राज्यहरूले प्रतिबन्ध लगाउन सक्नेछ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सर्वोच्चको आदेशसँगै अमेरिकाका ५० मध्ये २६ राज्यमा यस्तो प्रतिबन्ध लाग्न सक्ने सम्भावना छ । रिपब्लिकनले जितेका राज्यमा गर्भपतनलाई प्रतिबन्ध लगाउने सम्भावना रहेको छ । त्यस्तै १३ राज्यले 'ट्रिगर ल' नामक कानुनी व्यवस्था तयार पारिसकेका छन्, जसअनुसार सर्वोच्चको आदेशसँगै गर्भपतनलाई गैरकानुनी ठहर गरिनेछ ।

सर्वोच्च अदालतको फैसलाको समर्थनमा भएको प्रदर्शन । तस्बिर : रोयटर्स

केन्टकी, लुजियाना, अर्कान्सस, साउथ डकोटा, मिजौरी, ओक्लाहोमा र अलाबामामा उक्त कानुन लागू भइसकेको छ । मिसिसिपी र नर्थ डकोटामा भने त्यहाँका एटर्नी जनरलले प्रमाणित गरेसँगै यो व्यवस्था लागू हुनेछ । त्यस्तै योमिङमा ५ दिनभित्रमा प्रतिबन्ध लागू हुनेछ भने युटामा लेजिस्लेटिभ काउन्सिलले प्रमाणित गर्नुपर्नेछ । त्यसैगरी इडाहो, टेनिसी र टेक्ससमा ३० दिनभित्रमा यो व्यवस्था लागू हुनेछ ।

क्लिनिक बन्द हुन थाले

सर्वोच्चको आदेशसँगै अमेरिकाका केही राज्यमा गर्भपतन सेवा दिँदै आएका क्लिनिकहरू बन्द हुन थालेका छन्। बीबीसीका अनुसार अर्कान्सनको लिटिल रकमा रहेका क्लिनिकहरू बन्द भएका छन् । क्लिनिकले यसअघि नै अपोइन्टमेन्ट लिएका महिलाहरूलाई पनि नआउन भनिसकेको छ । केही राज्यमा सर्वोच्चको फैसलाको पक्षमा प्रदर्शन भइरहेको छ ।

राष्ट्रपति बाइडेन भन्छन् : अमेरिकाका लागि दु:खद दिन

सर्वोच्च अदालतको आदेशपछि संक्षिप्त प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले यो अमेरिकाका लागि दु:खद दिन भएको बताएका छन् । उनले भनेका छन्, 'यो मुलुकका लागि निकै दु:खद दिन हो । झन्डै ५० वर्षअघि रो भर्सेस वेडमाथि निर्णय भएको थियो । आज सर्वोच्च अदालतले अमेरिकी नागरिकबाट संवैधानिक अधिकार खोसेको छ । व्यक्तिगत स्वतन्त्रता आगामी नोभेम्बरमा हुने चुनावी मतपेटिकामा छन् ।' अमेरिकामा आउँदो नोभेम्बरमा रिक्त हुने ३४ सिनेटरको पदका लागि निर्वाचन हुँदैछ ।

त्यस्तै विभिन्न स्थानीय निकायका चुनाव पनि नोभेम्बरमै हुनेछ । यसले नयाँ कानुनहरू पारित गर्नका लागि सहज हुने पनि राष्ट्रपति बाइडेन बताउँछन् । 'आउँदो नोभेम्बरमा हामीले थप सिनेटर र प्रतिनिधि चुन्नुपर्नेछ, जसले महिलाको अधिकारलाई संघीय कानुनमा समेट्न सकून् । यो अधिकारलाई स्थानीय तहमा सुरक्षित राख्नका लागि राज्यमा थप प्रतिनिधि चुनौँ,' बाइडेनले भनेका छन् ।

क्यालिफोर्नियामा गर्भपतनसम्बन्धी अधिकारलाई संरक्षण गर्ने कानुन

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राज्यमा गर्भपतनसम्बन्धी अधिकारलाई थप मजबुत बनाउने एउटा नयाँ कानुनमा हस्ताक्षर गरेका छन् । सर्वोच्चको आदेशले आफू आक्रोशित भएको पनि उनी बताउँछन् । उनी भन्छन्, 'यदि पुरुषहरूले बच्चा पाउने अवस्था भएको भए यो कहिल्यै हुने थिएन । यो कुरा तपाईंलाई पनि थाहा छ, मलाई पनि थाहा छ । यो सबैलाई थाहा छ ।' महिलाई अमेरिकामा अहिले पनि दोस्रो दर्जाको नागरिकका रूपमा हेरिएको उनको भनाइ छ । उनी भन्छन्, 'यो मुलुकमा महिलालाई अहिले पनि दोस्रो दर्जाका नागरिकका रूपमा हेरिन्छ । त्योभन्दा पनि तल राखेर महिलालाई व्यवहार गरिन्छ । महिलाहरू पुरुषजति स्वतन्त्र छैनन् ।'

क्यालिफोर्नियाको राज्य संसद्‍बाट पारित भएको नयाँ कानुनले गर्भतन गराउने र गर्भतनमा सहयोग पुर्‍याउने महिला तथा चिकित्सकहरूलाई संरक्षण गर्नेछ । यो कानुन क्यालिफोर्नियाका नागरिकलाई मात्र होइन, बाहिरबाट आउनेलाई समेत संरक्षण गर्ने सीएनएनले जनाएको छ ।

के हो 'रो भर्सेस वेड' मुद्दा ?

सन् १९६९ मा २५ वर्षीया एकल महिला नोर्मा म्याककोर्भी छद्म नाम 'जेन रो' राखेर टेक्ससमा गर्भपतनलाई अवैध ठहराउने कानुनलाई चुनौती दिएकी थिइन् । आमालाई ज्यानको खतरा भएको अवस्थामा बाहेक राज्यले गर्भपतनलाई असंवैधानिक ठहर गरेको थियो । गर्भपतनविरोधी कानुनको पक्षको बचावमा थिए डलास काउन्टी जिल्लाका न्यायाधिवक्ता हेनरी वेड, त्यसैले यो मुद्दा 'रो भर्सेस वेड' का नामले चर्चित रहेको छ ।

मुद्दा दर्ताका क्रममा म्याककोर्भी तेस्रो सन्तानको आमा बन्दै थिइन्। उनले आफूमाथि बलात्कार भएको समेत दाबी गरेकी थिइन् । तर उनको मुद्दा अस्वीकार गर्दै गर्भपतन गर्न दिइएन । उनले बच्चालाई जन्म दिइन् । त्यसपछि सन् १९७३ मा उनी सर्वोच्च अदालतमा पुनरावेदनमा गइन् जहाँ जर्जियाकी अर्की २० वर्षीया महिलासँगै उनको मुद्दामाथि सुनुवाइ भयो ।

सुनुवाइका क्रममा टेक्सस र जर्जियामा बनाइएका गर्भपतनविरोधी कानुनी अमेरिकी संविधानअनुसार नभएको फैसला सुनाइयो । यसले महिलाको अधिकारलाई हनन गरेको उक्त फैसलामा उल्लेख थियो । ७ विरुद्ध २ ले सुनाएको उक्त आदेशमा सरकारलाई गर्भपतनलाई निषेध गर्ने अधिकार नभएको बताइएको थियो । उनीहरूले महिलालाई गर्भपतन गराउने अधिकार अमेरिकी संविधानले नै सुरक्षित गरेको व्याख्या गरेका थिए । उक्त आदेशपछि गर्भधारण गरेको सुरुवाति तीन महिनाभित्र गर्भपतन गर्ने अधिकार दिइयो ।

उक्त फैसलामा पनि अमेरिकी समाज ध्रुवीकृत भयो । कट्टरपन्थी धार्मिक समूहले यसलाई ठूलो मुद्दा बनायो । भ्रूणलाई पनि जीवनको अधिकार रहेको भन्दै उनीहरूले गर्भपतनलाई प्रतिबन्ध लगाउनुपर्ने मागलाई उठाए । उदार मानिने डेमोक्रेटिक पार्टी महिलाका पक्षमा उभियो भने रिपब्लिकन यसको विपक्षमा । शुक्रबारको फैसलामा पनि परम्परावादी मान्यता राख्ने न्यायाधीशको बहुमतको प्रभाव देखिएको बताइन्छ ।

प्रकाशित : असार ११, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?