स्वीस रेलवे प्रहरीको शरिरमै क्यामेरा जडान गरिने

पेरिस — स्विजरल्याण्डमा रेल चढ्दा हिंसाका घटनाहरू बढ्दै गएपछि स्वीस संघीय रेलवे सेवाले आफ्ना प्रहरीहरूको शरीरमै क्यामरा जडान गर्ने निर्णय गरेको छ ।

स्वीस रेलवे प्रहरीको शरिरमै क्यामेरा जडान गरिने

स्वीस सार्वजनिक प्रसारक (एसआरएफ)ले बिहीबार रिपोर्ट गरे अनुसार रेलवेले भण्डार गरेका गोप्य आन्तरिक कागजातहरूमा पहुँच प्राप्त गरी अध्ययन पुरा बभएपछि देशभरिका रेल प्रहरीलाई 'बडी क्याम'हरू जारी गरिने छ । बडी क्यामहरू यस वर्षको अन्त्यसम्ममा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

रेलवे सेवाले अभिलेख गरेका आन्तरिक कागजातका अनुसार यात्रुहरूबाट शारीरिक र मौखिक आक्रमणहरूमा वृद्धि भएकाले प्रहरीलाई बडी क्याम जडान गर्ने निर्णयलाई प्रेरित गरेको थियो। रेलवे कम्पनीले यो औचित्य पुष्टि गर्न स्विजरल्याण्डमा २०१७ मा सफल पारेको पाइलट परियोजनाका साथै अन्य देशहरूमा बडीक्यामहरू अपनाएको पनि उल्लेख गरेको छ ।

बडीक्याम लागु गराउनु हुँदैन भन्ने विपक्षीहरू, विशेषगरी ज्यूरिच सहरको नगरपालिकाका अधिहारीहरूले यस्ता फुटेजहरु अभिलेख हुनाले अन्य सन्दर्भहरूमा प्रयोग गरि दुरुपयोग हुनसक्ने भन्दै शंका गरेका छन् । बडीक्यामहरू कसरी र कहिले प्रयोग गर्ने भन्नेबारे विवरणहरूको अन्तिम रूप दिई नियम बनाएर मात्रै कार्यान्वयनमा ल्याइने प्रतिबद्धता रेलवे सेवाले गरेको छ ।

सन् २०१८ मा स्वीस संघीय रेलवे सेवाले ४,००० सीसीटीभी क्यामेरा खरिदको लागि टेन्डर आह्वान गरेको थियो । यो हालैका वर्षहरूमा युरोपमा सबैभन्दा ठूलो योजना मध्ये एक भएको दाबी गरिएको छ । रेल र रेलवे स्टेशनहरूमा जडित निगरानी क्यामेराहरूले १२० घण्टासम्म तस्बिरहरू भण्डारण गर्छन् त्यसपछि डाटा आफैं मेटिन्छ ।

स्वीस संघीय रेलवे सेवाका लागि करिब २०० ट्राफिक प्रहरीले काम गर्छन् । सन् २०१२ देखि तिनीहरूलाई रक्षात्मक उद्देश्यका लागि बन्दुक बोक्न अनुमति दिइएको थियो । हाल रेल सेवामा हिंसाका घटना बढ्दै गएपछि त्यसको प्रमाण राख्न प्रहरीकै शरीरमा क्यामरा जडान गर्न लागिएको हो ।

प्रकाशित : असार १०, २०७९ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?