१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

श्रीलंकाली अर्थतन्त्र टाट पल्टिएको घोषणा

इन्धन, औषधि र खाद्यान्नको चरम अभाव
प्रधानमन्त्री भन्छन्– ‘आयात गर्न सकिने अवस्था छैन’
एजेन्सीहरू

कोलम्बो — श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थव्यवस्था टाट पल्टिएको बताएका छन् । प्रधानमन्त्री विक्रमासिंघेले बुधबार संसद्लाई सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेका हुन् ।

श्रीलंकाली अर्थतन्त्र टाट पल्टिएको घोषणा

‘देशको अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको छ,’ उनले भने । देशको अर्थतन्त्र सुधार्नका लागि अन्तर्राष्ट्रिय मुद्राकोषलगायत साझेदार संस्थासँग सरकारले सहयोगको प्रस्ताव गरेको विक्रमासिंघेको भनाइ छ ।

श्रीलंकाले केही महिनादेखि स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । श्रीलंकामा हाल इन्धन, औषधि, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको चरम अभाव छ । विदेशी मुद्राको अभाव भएसँगै इन्धन आपूर्ति लगभग ठप्प छ । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएका कारण जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

सडकछेउमा खाना पकाउँदै राजधानी कोलम्बोका स्थानीय ।तस्बिर : एपी

श्रीलंकाली आयल निगम उधारोका कारण चुर्लुम्मै डुबेका कारण इन्धन आयात गर्न सक्ने अवस्थामा नरहेको पनि विक्रमासिंघले बताएका छन् । संसद्मा गरेको सम्बोधनका क्रममा उनले सिलोन पेट्रोलियम कर्पोरेसन ७ सय मिलियन डलर ऋणमा रहेको जनाए । ‘त्यसकारण कुनै पनि मुलुक तथा संस्था हामीलाई इन्धन आपूर्ति गर्न तयार छैनन्,’ उनले भने, ‘कतिपय त नगदमा पनि इन्धन आपूर्ति गर्न हिच्किचाइरहेका छन् ।’

कठिन परिस्थितिमा प्रधानमन्त्रीको कुर्सी सम्हालेका विक्रमासिंघेले पनि अर्थतन्त्र तत्काल सुधार गर्ने सम्भावना नदेखिएको आलोचकहरूको भनाइ छ । आलोचनाबाट जोगिन विक्रमासिंघेले अघिल्लो सरकारका कारण देशमा आर्थिक संकट उत्पन्न भएको तर आफूले त्यसलाई उकास्न लागिपरेको बताउँदै आएका छन् ।

‘अहिलेको अवस्थामा प्रधानमन्त्री विक्रमासिंघेबाट एकदमै न्यून आशा गर्न सकिन्छ,’ अमेरिकाको वासिङ्टनस्थित सेन्टर फर ग्लोबल डेभलपमेन्टका फेलो तथा अर्थविद् अनित मुखर्जी भन्छन् । श्रीलंका रणनीतिक हिसाबले महत्त्वपूर्ण रहेको बताउँदै उनले यस्तो मुलुकलाई अस्तव्यस्त छाड्न नहुने बताउँछन् । आर्थिक संकट गहिरिँदै गएपछि कतिपय देशले भने श्रीलंकालाई सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री विक्रमासिंघेसँगको टेलिफोन कुराकानीमा अमेरकी विदेशमन्त्री एन्थोनी ब्लिंकनले आफ्नो देश श्रीलंकासँग मिलेर काम गर्न तयार रहेको बताइसकेका छन् । अत्यावश्क वस्तुको आयातका लागि तत्काल कम्तीमा ५ अर्ब डलर आवश्यक रहेको विक्रमासिंघेको भनाइ छ । उपभोग्य वस्तुको विश्वव्यापी मूल्यवृद्धि, रासायनिक मलको प्रयोगमा लगाइएको प्रतिबन्ध र मुद्रास्फीतिका कारण गत अप्रिलमा श्रीलंकामा खानेकुराको मूल्य कम्तीमा ५७ प्रतिशतसम्म वृद्धि भएको थियो ।

श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंघे । तस्बिर : रोयटर्स

विश्व बैंकले पनि श्रीलंकालाई करिब ७० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने जनाइसकेको छ । विश्व बैंकका श्रीलंका प्रबन्धक चियो कान्डाले श्रीलंकाका विदेशमन्त्री जीएल पेइरिससँगको भेटमा सहयोगका प्रतिबद्धता जनाएका थिए । त्यसका साथै श्रीलंका सरकारले अन्तर्राष्ट्रिय मुद्राकोषलगायत अन्य संस्था र दातृ राष्ट्रहरूलाई सहायताका लागि आग्रह गर्दै आएको छ ।

कोरोना भाइरसको महामारीसँगै पर्यटन क्षेत्रमा परेको असर, इन्धनको मूल्यको वृद्धि, रुस–युक्रेन युद्ध र लोकप्रियताका लागि कर कटौती गर्ने सरकारको निर्णयका कारण श्रीलंकाको अर्थतन्त्र नराम्ररी प्रभावित भएको हो । संकट गहिरिएसँगै भारतले श्रीलंकासँग सम्बन्ध सुधारका लागि प्रयास गरिरहेको छ । भारतले श्रीलंकालाई १ अर्ब ९० करोड डलर उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ । त्यस्तै, अत्यावश्यक वस्तु तथा सेवाका लागि अन्य सहयोग दिन सकिने पनि भारतको भनाइ छ ।

श्रीलंकासँग आफूअनुकूल कूटनीतिक र व्यापारिक सम्बन्ध कायम गर्न डेढ दशकदेखि भारत र चीनबीच प्रतिस्पर्धा जारी छ । श्रीलंका हिन्द महासागरको रणनीतिक स्थानमा रहेका कारण पनि सम्बन्ध सुधार्न दुई देश प्रतिस्पर्धामा छन् । विगतमा श्रीलंकासँग भारतको सुमधुर सम्बन्ध थियो । तर केही वर्षयता चीनसँग नजिकिएको श्रीलंकालाई आफ्नो पक्षमा ल्याउन भारतलाई हालैको आर्थिक तथा राजनीतिक संकटले अवसर मिलेको कतिपयको विश्लेषण छ ।

सन् २०१९ को अन्त्यसम्ममा श्रीलंकाको वैदेशिक ऋणमध्ये चीनको दायित्व १० प्रतिशतभन्दा माथि थियो । आर्थिक संकटतर्फ उन्मुख भएपछि श्रीलंकाले सन् २०२१ मा मुद्रा सटही सुविधाअन्तर्गत चीनबाट १४ करोड ८० लाख अमेरिकी डलर लिएको थियो । हाल श्रीलंकाको ५१ अर्ब डलर वैदेशिक ऋण छ । यो वर्ष मात्रै उसले ७ अर्ब तिर्नुपर्ने छ ।

पछिल्लो समयमा संकट गहिरिएपछि भने भारतले श्रीलंकालाई उल्लेखनीय सहयोग गर्दै आएको छ । श्रीलंकालाई भारतले ठूलो परिणाममा रासायनिक मल र इन्धन पठाइसकेको छ । त्यस्तै, भविष्यमा थप सहयोग पठाउने प्रतिबद्धतासमेत जनाएको छ । तर आगामी दिनमा भारतले आफ्नो श्रीलंका नीतिमा के–कस्तो परिवर्तन ल्याउँछ भन्ने हेर्न भने केही समय कुर्नै पर्ने हुन्छ ।

श्रीलंकामा पछिल्लो समय देखिएको संकट सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा ठूलो हो । अर्थतन्त्र बिग्रँदै गएपछि सरकारको समर्थन र विरोधमा उत्रिएका प्रदर्शनकारीबीच झडपहरू भएपछि तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिएका थिए । त्यसलगत्तै विक्रमासिंघे प्रधानमन्त्री बनेका हुन् । तर राष्ट्रपति गोटाभाय राजपाक्षले पनि राजीनामा दिनुपर्ने भनी प्रदर्शनकारीले विरोध जारी राखेका छन् । प्रहरी र प्रदर्शनकारीबीच भएका झडपमा एक सांसदसहित दर्जनौंको मृत्यु भइसकेको छ । अधिकारीहरूका अनुसार कम्तीमा ५ सय जना घाइते भइसकेका छन् ।

प्रकाशित : असार १०, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?