श्रीलंकाको अर्थतन्त्र 'टाट पल्टियो'

प्रधानमन्त्री भन्छन् : इन्धन आयात गर्न सकिने अवस्था छैन

काठमाडौँ — श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंघेले मुलुकको अर्थव्यवस्था टाट पल्टिएको बताएका छन् । बुधबार संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमसिंघले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताएका हुन् ।

श्रीलंकाको अर्थतन्त्र 'टाट पल्टियो'

पछिल्लो समय श्रीलंकाले इन्धन, विद्युत् र खाद्यान्नमा चरम अभाव झेल्दै आएको छ । श्रीलंकाली अर्थतन्त्रलाई 'ट्य्राक' मा ल्याउन अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत साझेदार संस्थासँग सरकारले सहयोगको प्रस्ताव गरेको पनि उनले बताए । 'हाम्रो अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको छ,' उनले भने ।

श्रीलंकाले पछिल्लो समय स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकट सामना गरिरहेको छ । विदेशी मुद्राको अभावसँगै इन्धन आपूर्ति लगभग ठप्प भएको छ भने खाद्यान्न तथा औषधिको चरम अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

कठिन परिस्थितिमा प्रधानमन्त्रीको कुर्सी सम्हालेका विक्रमसिंघले पनि तत्कालै श्रीलंकाली अर्थतन्त्रलाई लिकमा ल्याउन सक्दैनन् भन्ने आलोचकहरूको भनाइ छ । आलोचनाबाट जोगिन पनि उनले श्रीलंकाली आर्थिक संकट अघिल्लो सरकारकै उपज भएको र त्यसलाई उकास्न आफू लागिपरेको बताउँदै आएका छन् । वासिंटनस्थित सेन्टर फर ग्लोबल डेभलपमेन्टका फेलो तथा अर्थविद् अनित मुखर्जी भन्छन्, 'उनीबाट एकदमै न्यून आशा गर्न सकिन्छ ।' मुखर्जी रणनीतिक हिसाबले महत्त्वपूर्ण रहेको मुलुकलाई अस्तव्यस्त छाड्न नहुने बताउँछन् ।

श्रीलंकाली आयल निगम उधारोमा चुर्लुम्मै डुबेका कारण इन्धन आयात गर्न नसक्ने अवस्थामा पुगेको पनि प्रधानमन्त्री विक्रमसिंघले बताएका छन् । उनले संसद्‍लाई गराएको जानकारीअनुसार सिलोन पेट्रोलियम कोर्पोरेसन ७०० मिलियन डलर ऋणमा रहेको छ । 'त्यसैकारण कुनै पनि मुलुक तथा संस्था हामीलाई इन्धन आपूर्ति गर्न तयार छैनन् । उनीहरू नगदमा पनि इन्धन आपूर्ति गर्न हिच्किचाइरहेका छन्,' उनले भने ।

प्रकाशित : असार ९, २०७९ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?