अमेरिकामा ५ वर्षमुनिका बालबालिकालाई कोरोना खोप लगाउन सुरु गरियो
काठमाडौँ — अमेरिकामा ५ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी) ले अनुमति प्रदान गरेसँगै अमेरिकामा ६ महिना पुगेका बालबालिकालाई समेत कोरोनाविरुद्धको खोप लगाउने बाटो खुलेको हो ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण सामान्य रूपमा बढ्दै गएकाले पनि बालबालिकालाई खोपको अनुमति दिइनु महत्त्वपूर्ण भएको जनस्वास्थ्यविद्हरूले जनाएका छन् ।
महामारी सुरु भएयता अमेरिकामा ५ वर्षमुनिका करिब २० हजार बालबालिका अस्पताल भर्ना भएको र २०० जनाको मृत्यु भएको तथ्यांक छ । अमेरिकामा ५ वर्षमुनिका करिब १ करोड ७० लाख बालबालिका खोपका लागि योग्य भएका छन् ।
अमेरिकी खाद्य तथा औषधि प्रशासनको अनुमतिअनुसार बालबालिकालाई मोडर्नाको दुई डोज दिइनेछ । चार हप्ताको अन्तरालमा २५ माइक्रोग्रामका दरले दुई डोज खोप लगाइने छ । त्यस्तै ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई फाइजर/बायोएनटेकको भने ३ माइक्रोग्रामका दरले ३ डोज खोप दिइनेछ । फाइजरको भने सुरुमा २१ दिनको अन्तरालमा दुई डोज र तेस्रो डोज दोस्रो डोज लगाएको दुई महिनापछि लगाउनुपर्नेछ ।
यो उमेरसमूहका बालबालिकालाई संक्रमणबाट बचाउन मोडर्नाको खोप ५०.६ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । यो उमेरसमूहमा फाइजरको खोपको प्रभावकारिता भने सार्वजनिक गरिएको छ ।