३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

असम र मेघालयमा भीषण बाढी

असममा ८२ र मेघालयमा १८ जनाको मृत्यु ,४२ लाखभन्दा बढी विस्थापित, ४ हजार ४ सय ६२ गाउँ डुबानमा 
एजेन्सी

गुहावटी/दिसपुर — भारतको असम र मेघालय राज्यमा अस्वाभाविक वर्षा र बाढीका कारण ठूलो धनजनको क्षति पुगेको छ । शुक्रबारदेखिको अविरल वर्षापछिको बाढीका कारण असममा कम्तीमा ८२ र मेघालयमा १८ जनाको मृत्यु भइसकेको छ । 

असम र मेघालयमा भीषण बाढी

बाढीपछि ४ हजार ४ सय ६२ वटा गाउँ डुबानमा परेका छन् भने एक लाख १३ हजार ५ सय हेक्टरमा लगाइएको बालीनाली नष्ट भएको छ । असम राज्यका ३५ मध्ये ३४ जिल्ला बाढीले प्रभावित भएका अधिकारीहरूले जनाएका छन् । असममा मात्रै ४२ लाखभन्दा बढी विस्थापित भएका छन् । बाढीको असर असमको छिमेकी राज्य मेघालयसम्म पुगेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मेघालयमा १८ जनाको मृत्यु भइसकेको छ । असम सरकारले सञ्चालनमा ल्याएका एक हजारभन्दा बढी राहत शिविरमा कम्तीमा २३ लाख मानिसले आश्रय लिएका छन् ।

खाना तथा पानीको उचित प्रबन्ध नहुँदा शिविरमा आश्रय लिएकाहरूको पनि अवस्था दयनीय छ । त्यस्तै, भारी वर्षा र बाढीका कारण उद्धार तथा राहतको काममा पनि समस्या थपिएको अधिकारीहरूको भनाइ छ । ‘जताततै पानी नै पानी छ । तर पिउनका लागि एक थोपा छैन,’ आफ्नो घर बाहिरको दृश्य वर्णन गर्दै असमको दुर्गम गाउँ उडियानाकी रोन्जु चौधरीले भनिन् । केही घण्टासम्म लगातार वर्षा भएपछि सडकहरू पूर्ण रूपमा डुबेको उनले बताइन् ।

रन्जुले बीबीसीसँग कुराकानी गर्दै दुई दिन बितिसक्दा पनि आफ्नो परिवार अलपत्र अवस्थामा रहेको बताइन् । ‘हामी चारैतिरबाट बाढीको पानीले घेरिएको अवस्थामा छौं । खानेकुरा र पिउने पानीको अभाव छ,’ उनले भनिन्, ‘पानीको सतह झन् बढ्दै गएको कतिपयको भनाइ छ । अब के हुने हो ?’

बाढीपछि शिविरमा बस्दै आएकी उडियानाकी हुस्ना बेगमले पिउने पानीको अभाव भएको र सन्तानहरू बिरामी पर्न थालेको बताइन् । घरमा पानी पसेपछि २८ वर्षीया हुस्ना बाढीको पानीमा पौडिएर ज्यान जोगाएकी हुन् । ‘मैले यति ठूलो बाढी जीवनमा कहिल्यै देखेकी थिइन,’ दुई छोराछोरीसहित शिविरमा बसेकी उनले भनिन् ।

असमको मुख्य आर्थिक केन्द्र गुवाहाटी नजिकका क्षेत्र बाढीले तहसनहस पारेको छ । धान फल्ने रमणीय फाँटहरू पुरिएका छन् भने उडियानामा विद्यालय, अस्पताल, मन्दिर वा मस्जिदका संरचनाहरू सबै डुबेका छन् । डुबानमा परेका स्थानीयहरू केराको पात र बाँसबाट बनाइएका डुंगाका सहायताले तैरिरहेका देखिन्छन् । उद्धारकर्ताहरू देख्दा उनीहरूको मुहारमा छुट्टै चमक देखिन्छ ।

कामरूप जिल्लाका सिराज अलीले आफू आंशिक रूपमा पानीमा डुबेको घरमा बसिरहेको जनाएका छन् । छोराछोरीलाई आश्रयस्थलमा पठाएका उनले भने, ‘पानीले घेरिएको छु तर पिउने पानी पाएको छैन । खानेकुरा नपाएर तीन दिनदेखि भोकै छु, कता जाने होला ?’

असममा बर्सेनि आउने बाढीका कारण ब्रह्मपुत्र नदी किनारमा बसोबास गर्ने लाखौं मानिसको जनजीवन तहसनहस पार्ने गरेको छ । जलवायु परिवर्तन, अनियन्त्रित संरचनागत विकास र पछिल्लो समय भएको तीव्र औद्योगिकीकरणका कारण बाढीलगायत प्राकृतिक प्रकोपको समस्या बढ्दै गएको विज्ञहरूको भनाइ छ ।

यसअघि असममा मे महिनामा आएको बाढीका कारण ३९ जनाको ज्यान गएको थियो । मौसम विभागका अनुसार यो महिना असममा औसतभन्दा १०९ प्रतिशत बढी वर्षा भएको छ । केही दिनयता ब्रह्मपुत्र नदीको बहावले खतराको सीमा पार गरेर बगिरहेको अधिकारीहरूको भनाइ छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले असमको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । मोदी र शाहले आफूसँगको कुराकानीमा केन्द्र सरकारले बाढीको असरबारे अध्ययन गर्न टोली खटाएको असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले जनाएका छन् ।

असमका विपक्षी दलका नेता देवब्रत सैकियाले बाढी प्रभावितको उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषबाट २० हजार करोड उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

प्रकाशित : असार ८, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?