कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भारतमा एक दशकमा १८६ हात्ती मारिए

असम, पश्चिम बंगाल र उत्तराखण्डमा रेलको ठक्करबाट सबैभन्दा धेरै हात्तीको मृत्यु
पर्वत पोर्तेल

सिलिगुडी — यो एक दशकमा रेलको ठक्करबाट भारतमा १ सय ८६ वटा हात्तीको मृत्यु भएको छ । पूर्वोत्तर भारतको असम, पश्चिम बंगाल र उत्तराखण्डमा सबभन्दा धेरै हात्ती रेलको ठक्करबाट मारिएको भारतको केन्द्रीय वातावरण मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ । 

भारतमा एक दशकमा १८६ हात्ती मारिए

रेल दुर्घटना न्यूनीकरणका लागि भारतको केन्द्रीय वातावरण र रेल मन्त्रालयले नयाँ योजनाको तयारी गरिरहेको छ । असम, पश्चिम बंगाल र उत्तराखण्डका राज्य सरकारहरू पनि यसबारे गम्भीर बन्दै दुर्घटना कम गर्ने दिगो उपायको खोजीमा छन् ।

भारतीय वन्यजन्तु संस्थानले पर्यावरण मन्त्रालय र भारतीय रेल्वेका अधिकारीहरूसँग प्रारम्भिक चरणको छलफल गरिसकेका छन् । वन्यजन्तु संस्थानका वैज्ञानिक र परियोजनाका एक नेता बिलाल हबिबले भने, ‘दुर्घटना कम गर्ने खाकासहितको मस्यौदा कागजात अर्को महिना तयार हुनेछ ।’ वन्यजन्तु संस्थानले गरेको प्रारम्भिक अध्ययनअनुसार असम, पश्चिम बंगाल र उत्तराखण्ड सबैभन्दा धेरै हात्ती संख्या भएका राज्यहरू हुन् । ‘तर, अहिले यी राज्यहरू सबैभन्दा बढी मृत्यु हुने राज्यहरू बन्दै जानु दुर्भाग्य हो,’ हबिबले भने ।

रेल लिकका ढलानहरू हात्तीहरूका लागि कठिन क्षेत्र मानिन्छन् । जब जनावरहरूले रेलको लिक पार गर्ने प्रयास गर्छन्, तब लिकमा खड्किएर पासोमा परेझैं हुन्छन् । पासोबाट उम्किन नसक्दा तीव्र गतिमा आएको रेलले ठक्कर दिने गरेको छ । जसकारण हात्ती घटनास्थलमै मारिने गरेका धेरै उदाहरण भारतमा छ । हात्ती ६ वटा औंला भएको एक मात्र स्तनधारी प्राणी हो । हात्तीलाई लिक पार गरेपछि ओर्लन धेरै समय लाग्ने गर्छ । जसका कारण रेलले ठक्कर दिने जोखिम बढेको विज्ञहरूको भनाइ छ ।

सन् २०१३ मा भारत पश्चिम बंगालको नगरकट्टा क्षेत्रमा रेलको ठक्करबाट ७ वटा हात्ती मारिएका थिए । असमको गुवाहाटीतिर आएको तीव्र गतिको रेलले ठक्कर दिँदा ती हात्ती मारिएका थिए । त्यसअघि सन् २००४ मा डुवर्समै रेलको ठक्करबाट ४० हात्ती मारिएका थिए ।

‘वर्षमा एक या दुई हात्ती त रेल ठक्करबाट मारिएकै हुन्छन्,’ भारत पश्चिम बंगालका एक वन अधिकारीले भने । रेलको ठक्करबाट हात्ती धमाधम मारिन थालेपछि भारतको लोकसभामा सम्बद्ध राज्यहरूका सांसदहरूले प्रश्न उठाएका थिए । संसद्मा उठेका प्रश्नहरूको जवाफमा सरकारले सम्भावित जोखिम क्षेत्रहरूको पहिचान गरी बार लगाउने, हात्ती करिडोरका बारेमा चेतावनी दिन संकेत बोर्ड राख्ने, रेल चालक दल र स्टेसन मास्टरहरूलाई संवेदनशील बनाउने जस्ता उपायहरू सुझाएको थियो ।

प्रकाशित : असार ८, २०७९ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?