राष्ट्रिय सभा निर्वाचनमा फ्रान्सेली राष्ट्रपतिलाई धक्का, ईयू नेतृत्वमा प्रभाव पर्ने

ददी सापकोटा

पेरिस — आइतबार भएको निर्वाचनमा फ्रान्सको तल्लो सदन राष्ट्रिय सभामा राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो पूर्ण बहुमत गुमाएपछि सरकार सञ्चालनमा असहज हुने भएको छ ।

मतदाताहरूले ५ सय ७७ सिट भएको फ्रान्सको राष्ट्रिय सभामा राष्ट्रपति म्याक्रोंलाई पूर्ण बहुमत नदिएपछि सरकार सञ्चालनका लागि आफ्ना नीतिहरू लागू गर्न कठिन हुने देखिएको हो । यो निर्वाचनमा आफ्नो पार्टीले पूर्ण बहुमत ल्याउन नसकेपछि युरोपेली युनियनको नेतृत्व गरिरहेका म्याक्रोंलाई ईयूमा आफ्ना नीतिहरू लागू गराउनसमेत कठिन हुने तर्क राजनीतिक विश्लेषकहरूले गरिरहेका छन् ।

‘पोलस्टर इप्सोस-सोप्रा स्टेरिया’को पछिल्लो प्रक्षेपणअनुसार म्याक्रोंको सेन्टर राइट गठबन्धनले २ सय ३४ सिट, प्यान-वामपन्थी नुपेस गठबन्धनले १ सय ४१, अति-दक्षिणपन्थी नेसनल र्‍यालीले ९० सिट र रूढिवादी द रिपब्लिनस र यसका सहयोगीहरूले ७५ सिट जित्ने दाबी गरेको छ ।

राष्ट्रपति म्याक्रोंका सहयोगीहरूले आफ्नो दोस्रो कार्यकाल बचाउनका लागि संसदीय बहुमतलाई एकजुट गर्न सोमबारबाट आफूहरूले काम थालेको बताएका छन् । अहिले वामन्थीहरूको गठबन्धनले विधायिकाको सबैभन्दा ठूलो विपक्षी गुटको हैसियत बनाएका छन् ।

म्याक्रोंको एन्सेम्बल (टुगेदर) गठबन्धन संसदीय चुनावमा सबैभन्दा ठूलो दलको रूपमा देखा त पर्‍यो तर गत पाँच वर्षदेखि प्राप्त गरेको संसदीय बहुमतलाई कायम राख्न उक्त गठबन्धनलाई गाह्रो परिरहेको छ ।

म्याक्रोंको पार्टीले हालको निर्वाचनमा आफ्नो वर्चस्व कायम गर्न नसकेपछि दक्षिणपन्थी र वाम पार्टीहरूसँग सम्झौता गरेर बहुमत खोज्ने प्रयास सुरु गर्नुपर्ने देखिएको छ ।

युक्रेनमाथि रुसको आक्रमणलाई अन्त्य गर्न र ईयूमा प्रमुख राजनेताको रूपमा देखिन चाहिरहेका ४४ वर्षीय म्याक्रोंले अब घरेलु समस्याबाट विचलित हुने जोखिम पनि उठाएका छन् ।

प्रकाशित : असार ६, २०७९ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्समा बढ्दै कोरोना संक्रमित

ददी सापकोटा

काठमाडौँ — फ्रान्स सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि लगाएको प्रतिबन्धहरू सोमबारबाट हटाउने तयारी गरिरहेकै बेला संक्रमितको संख्या बढ्न थालेको छ । फ्रान्समा केहि हप्तायता कोरोनाका संक्रमितको संख्यामा कमी आउन थालेपछि सरकारले लगाएका प्रतिबन्धहरू सोमबारबाट हटाउने तयारी गरिरहेको थियो । तर‚ कोभिड संक्रमण पुनः बढ्दै गएको फ्रान्सको सार्वजनिक स्वास्थ्य निकायले जनाएको छ ।

शुक्रबार एकै दिन फ्रान्समा ७३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । तर‚ अघिल्लो हप्ता प्रतिदिन संक्रमितको संख्या ६० हजार थियो । फ्रान्सस्थित स्वास्थ्य निकायका अनुसार यो हप्तादेखि नयाँ संक्रमितको संख्या हप्तामा २० प्रतिशतको दरले बढेको छ । संक्रमणदर फेरि उकालो लागिरहेका बेला स्वास्थ्य प्रतिबन्धहरू हटाउने सरकारको तयारीप्रति स्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।

युक्रेनमा युद्ध भएकाले धेरै आवतजावत बढेको, जाडो बिदापछि स्कूल खुलेकाले शैक्षिक क्षेत्रमा अभिभावक विद्यार्थी र शिक्षक जम्मा भएको र फ्रान्समा राष्ट्रपतिको निर्वाचन नजिकिएकाले राजनीतिक भिड जम्मा हुनुलाई स्वास्थ्यकर्मीहरूले कोरोना संक्रमणको कारण मानेका छन् ।

हाल फ्रान्समा कोरोनाका विभिन्न स्वरुपमध्ये ओमिक्रोनको फैलावट अन्यभन्दा ३० प्रतिशत बढी रहेको स्वास्थ्य सेवा निकायले जनाएको छ ।त्यसो त, पछिल्लो समयमा जर्मनी, बेलायत र नेदरल्यान्ड्समा पनि कोरोना संक्रमण बढेको फ्रान्सेली सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७८ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×