ताइवान स्वतन्त्र बनाउने प्रयास गरे युद्ध : चीन

एजेन्सी

सिंगापुर — चीनले ताइवानलाई स्वतन्त्र बनाउने प्रयास गरे युद्ध सुरु हुने भन्दै अमेरिकालाई चेतावनी दिएको छ ।

ताइवान स्वतन्त्र बनाउने प्रयास गरे युद्ध : चीन

चीनका रक्षामन्त्री वे फेङ्गेले एसियाली सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी समकक्षी लोयड अस्टिनसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा वेले ताइवानलाई चीनबाट छुट्याइएको खण्डमा ‘चिनियाँ सेनासँग जुनसुकै हालतमा लड्नुबाहेक अन्य विकल्प नहुने’ बताएका हुन् ।

वार्तापछि बोल्दै अस्टिनले चिनियाँ सैनिक गतिविधि ‘उत्तेजनापूर्ण र अस्थिरता निम्त्याउने खालका’ भएको बताएका बीबीसीले जनाएको छ । ताइवानमाथि चीनले दैनिकजसो ठूलो संख्यामा वायुयानहरू उडाइरहेका र त्यसले उक्त क्षेत्रमा ‘शान्ति र स्थिरतालाई अवमूल्यन गरिरहेको’ अस्टिनको भनाइ छ । चीनले आफ्नो भूमिको अभिन्न अंग मान्ने स्वशासित ताइवानलाई हतियार बेचेको भन्दै चिनियाँ रक्षामन्त्री वेले अमेरिकाको निन्दा गरेका छन् ।

‘ताइवानलाई चीनबाट कसैले अलग गर्ने प्रयास गर्छ भने चिनियाँ जनमुक्ति सेनासमक्ष लड्नु र स्वतन्त्र हुने ताइवानको प्रयासलाई कुनै पनि मूल्यमा दमन गरी देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुबाहेक कुनै विकल्प हुँदैन,’ वेलाई उद्धृत गर्दै एक प्रवक्ताले भनेका छन् ।

अस्टिनले भने बेइजिङलाई पूर्ण सरकारका रूपमा मान्यता दिन र ताइवानको स्वतन्त्रताको विपक्षमा उभिने यथास्थितिलाई स्वीकार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका बीबीसीले उल्लेख गरेको छ । बल प्रयोग गरेर तनाव अन्त्य गर्न नहुनेमा अस्टिनले जोड दिएका जनाइएको छ । दुई देशका रक्षामन्त्रीहरूबीच सिंगापुरमा आयोजित सांग्रिला सम्मेलनका क्रममा भएको कुराकानी करिब एक घण्टा चलेको थियो । दुवै पक्षले हार्दिकताका साथ कुराकानी भएको जनाएका छन् । अमेरिकी रक्षामन्त्री अस्टिनले कुनै असमझदारीको अवस्था उत्पन्न हुन नदिन चिनियाँ सेनासँग पूर्ण रूपमा सञ्चार संयन्त्र खुला राखिनुपर्नेमा जोड दिएका जनाइएको छ ।

मे महिनाको अन्त्यमा ताइवानी आकाशमा चीनले ३० वटा लडाकु विमानहरू उडाएपछि ताइवानले युद्धक विमानहरू परिचालन गर्दै चीनलाई चेतावनी दिएको थियो । चीन र ताइवान सन् १९४० को गृहयुद्धको समयमा विभाजित भएका हुन् । तर बेइजिङले आवश्यक परेको खण्डमा बल प्रयोग गरेर ताइवानलाई आफ्नो मूल भूमिमा गाभ्ने बताउने गरेको छ । तीन लाख सक्रिय सुरक्षाकर्मी रहेको ताइवानको आफ्नै संविधान छ र नेताहरू लोकतान्त्रिक रूपमा निर्वाचित हुन्छन् । तर ताइवानलाई निकै कम देशहरूले मात्र मान्यता दिएका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?