२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

परमाणु अस्त्र परीक्षण तयारीमा किम

एजेन्सी

सोल — उत्तर कोरियाले जुनसुकै बेला आफ्नो सातौं परमाणु अस्त्र परीक्षण गर्न सक्ने एक अमेरिकी उच्च अधिकारीले चेतावनी दिएका छन् । प्योङयाङले आइतबार एकै दिन सबैभन्दा बढी आठवटा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले परमाणु अस्त्र प्रहार गर्न सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

परमाणु अस्त्र परीक्षण तयारीमा किम

त्यसको प्रतिक्रियामा अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनले उत्तर कोरियाले जस्तोसुकै परमाणु परीक्षण गरे पनि त्यसको ‘चर्को र बलियो प्रतिक्रिया’ जनाउने चेतावनी दिएकी छन् । उत्तर कोरियाले ५ वर्षयता कुनै पनि परमाणु अस्त्र परीक्षण नगरेको भए पनि कोरियाली द्वीपमा तनाव मत्थर भएको छैन । उत्तर कोरियाली नेता उत्तर कोरियाली नेता किम जोङ–उनले पछिल्लो समय परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई तीव्रता दिने बताउँदै आएका छन् ।

इन्डोनेसियाको जाकर्तामा बोल्दै अमेरिकी विशेष प्रतिनिधि किमले उत्तर कोरियाले यो वर्ष अभूतपूर्व संख्यामा क्षेप्यास्त्र परीक्षण गरेको बताएका छन् । गत जनवरीमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणको दाबी गरेको उत्तर कोरियाले यो वर्ष ३१ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ । यसअघि उसले सन् २०१९ मा वर्षभरिमा २५ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

‘अहिले बल्ल जुन महिना चलिरहेको छ,’ पत्रकारहरूसँग किमले भने । उत्तर कोरिया रणनीतिक तथा सानो आकारका परमाणु अस्त्रको परीक्षणका लागि बढी इच्छुक देखिएको किमको बुझाइ छ । उत्तर कोरियाले अर्को परमाणु अस्त्र कहिले प्रहार गर्ला ? भन्ने प्रश्नको जवाफमा किमले भनेका छन्, ‘जुनसुकै बेला । चाँडोमा यही साता ।’

दक्षिण कोरियाली राजधानी सोलमा बोल्दै शेर्मनले उत्तर कोरियाद्वारा हुने त्यस्तो परीक्षण संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्तावको प्रतिकूल हुने बताएकी छन् । ‘दक्षिण कोरिया, अमेरिका र जापान मात्र होइन । मलाई लाग्छ, पूरै विश्वले बलियो र स्पष्ट रूपमा प्रतिक्रिया दिन्छ,’ दक्षिण कोरियाली र जापानी अधिकारीसँग भेटका लागि सोल पुगेकी शेर्मनले भनिन् । प्योङयाङले गरेका परीक्षणको जवाफी कदमस्वरूप अमेरिका र दक्षिण कोरियाले सोमबार ८ वटा क्षेप्यास्त्र प्रहार गरेका थिए । पछिल्लो समय क्षेप्यास्त्र प्रहारको होड चलिरहेको भए पनि अमेरिका उत्तर कोरियासँग बिनासर्त कूटनीतिक वार्ता गर्न तयार रहेको किमको भनाइ छ । उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि अमेरिकाले मानवीय सहायताका लागि प्रस्ताव गरेको समेत उनको भनाइ छ ।

उत्तर कोरियाले गत मार्च अन्त्यमा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेको थियो । जुन सन् २०१७ यताकै पहिलो आईसीबीएम परिक्षण हो । हजारौं किलोमिटर टाढासम्म मार हान्न सक्ने आईसीबीएम क्षेप्यास्त्र सैद्धान्तिक रूपमा अमेरिकी भूमिसम्म पुग्छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि बलिस्टिक क्षेप्यास्त्र तथा परमाणु अस्त्र परीक्षणमा प्रतिबन्ध लगाएको छ । नेता किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ४ वर्षअघि भएको वार्तापछि उत्तर कोरियाले लामो दूरीका क्षेप्यास्त्र परीक्षणमाथि अस्थायी रोक लगाएको थियो । तर सन् २०२० मा किमले उक्त प्रतिबद्धता मान्न आफू बाध्यकारी नभएको बताएका थिए । उत्तर कोरियाले सन् २०१७ मा परीक्षण गरेको ह्वासोङ–१२ आईसीबीएम क्षेप्यास्त्र ४ हजार ५ सय किलोमिटरको उचाइसम्म पुगेको थियो । ह्वासोङ–१४ भने ८ हजार किलोमिटर उचाइमा पुगेको थियो । यो क्षमताका जमिनबाट प्रहार गर्न सकिने क्षेप्यास्त्र अमेरिका, रुस र चीनसँग मात्रै छन् ।

कतिपय विज्ञले सन् २०१७ मा परीक्षण गरिएको क्षेप्यास्त्र नियमित बाटोअनुसार प्रहार गरिएको भए १३ हजार किलोमिटरको उचाइमा पुग्ने दाबी गरेका थिए । त्यसको अर्थ उक्त क्षेप्यास्त्रले अमेरिकाको जुनसुकै स्थानमा प्रहार गर्न सम्भव हुन्छ ।

प्रकाशित : जेष्ठ २६, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?