‘युक्रेन युद्धले विकासोन्मुख देशमा आर्थिक मन्दी’

कोरोनापछि तंग्रिँदै गरेको विश्वको अर्थतन्त्र थप बिग्रने
आर्थिक वृद्धिदर न्यून र मुद्रास्फीतिको जोखिम उच्च हुने
एजेन्सीहरू

वासिङटन — कोरोना महामारीले नराम्रोसँग प्रभावित विश्वको अर्थतन्त्र रुस–युक्रेन युद्धका कारण थप बिग्रने चिन्ता थपिएको छ ।

‘युक्रेन युद्धले विकासोन्मुख देशमा आर्थिक मन्दी’

विश्व बैंकले युद्धका कारण विश्वभर आर्थिक मन्दीको अवस्था उत्पन्न भइसकेको जनाएको छ । खासगरी पूर्वी एसिया र युरोपका विकासोन्मुख देशले ठूलो आर्थिक मन्दीको सामना गरिरहेको बैंकले जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मलपासले उच्च मुद्रास्फीतिको जोखिम रहेको र आर्थिक वृद्धिदर न्यून हुने निकै जोखिम रहेको बताएका छन् । उनले विश्वमा खानेकुरा र ऊर्जाको भाउ उच्च हुँदै गएको बताए ।

‘युक्रेन युद्ध, चीनमा जारी लकडाउन, आपूर्ति चक्रमा आएको अवरोध र मुद्रास्फीतिको जोखिमले आर्थिक वृद्धिमाथि ठूलो प्रभाव परिहेको छ,’ मलपासले भनेका छन्, ‘कतिपय देशलाई मन्दीबाट बच्न निकै गाह्रो हुन देखिएको छ ।’ विश्व बैंकले विश्वव्यापी आर्थिक अवस्थासम्बन्धी जुन महिनाको प्रतिवेदनमार्फत मलपासले मुद्रास्फीतिको जोखिम उच्च रहेको चेतावनी दिएका हुन् ।

बैंकले सन् २०२२ मा युरोपेली देशहरू युक्रेन र रुस आर्थिक संकटका कारण निकै ठूलो समस्यामा पर्ने पूर्वानुमान गरेको छ । त्यसका साथै युद्ध र कोरोना महामारीको असर थप बढ्दै जाने चेतावनी बैंकको छ । ‘यदि विश्वव्यापी मन्दी रोकियो भने पनि मुद्रास्फीतिको समस्या कैयौं वर्षसम्म रहिरहनेछ,’ मलपासले भनेका छन् । सन् २०२१ देखि २०२४ भित्र विश्वव्यापी आर्थिक वृद्धिदर २.७ प्रतिशतले सुस्त हुने बैंकले प्रक्षेपण गरेको छ । यसअघि सन् १९७६ र १९७९ मा आर्थिक मन्दीका कारण हालसम्मकै उच्च बेरोजगारी र मूल्यवृद्धि भएको थियो । रुसले युक्रेनमा आक्रमण सुरु गरेको सय दिन नाघिसकेको छ । उत्तर एट्लान्टिक सन्धि संगठनको सदस्य बन्ने युक्रेनको तयारीपछि रुष्ट रुसले फेब्रुअरी २४ मा आक्रमण सुरु गरेको हो । रुसी आक्रमण केही सातामा नै टुंगिने विश्व समुदायको आकलनविपरीत युद्ध लम्बिएको छ । जसका कारण निकै टाढाटाढाका देशसम्म पनि त्यसको प्रत्यक्ष र परोक्ष असर परिरहेको छ ।

पेट्रोलियम पदार्थ, ग्यास, खाद्यान्नलगायत सामग्रीको मूल्य अकासिएको छ भने कतिपय देश गहिरो आर्थिक संकटमा फसेका छन् । कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र सुधार गरी पहिलेको लयमा फर्किने कोसिस गरिरहेका श्रीलंकालगायत देशमा आर्थिक अवस्था थप गहिरिएको छ । महामारीपूर्वको तुलनामा आम्दानी घटेको छ भने बेरोजगारी दर बढ्दै गएको छ । ऊर्जा तथा खाद्यान्नमा भएको महँगीले निम्न तथा निम्नमध्यम वर्गीय मानिसको जीविकोपार्जन झन् कष्टकर बन्दै गएको छ । यसैबीच, बेलायती अर्थतन्त्रको वृद्धिदर अनुमान गरिएभन्दा कम हुने एक थिंकट्यांकले चेतावनी दिएको छ । आर्थिक सहयोग र विकाससम्बन्धी संगठन ओईसीडीले बेलायती अर्थतन्त्र यस वर्ष ३.६ प्रतिशतले वृद्धि हुने र अर्को वर्षको वृद्धिदर शून्य प्रतिशत रहने जनाएको हो ।

यसको अर्थ जी–७ राष्ट्रहरूमा आर्थिक वृद्धिदरका हिसाबले दोस्रोमा रहेको बेलायत अर्को वर्ष पुछारमा पुग्नेछ । जी–७ मा अमेरिका, क्यानडा, जर्मनी, जापान, फ्रान्स र इटाली छन् । ओईसीडी आर्थिक विकास, जीवनस्तर र विश्वव्यापी व्यापारको प्रवर्द्धनका लागि सहयोग पुर्‍याउने देशहरूको समूह हो ।

प्रकाशित : जेष्ठ २६, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?