कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

इस्लामिक देशहरूद्वारा भारत सरकारको विरोध

तालिबानले समेत भारत सरकारलाई मुस्लिम धर्मको अपमान रोक्नुपर्ने भन्दै दबाब दिएको छ ।

काठमाडौँ — भारतीय जनता पार्टीकी पूर्वप्रवक्ता नूपुर शर्माले इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर इस्लामिक देशहरूले आलोचना गर्दै आएका छन् ।

इस्लामिक देशहरूद्वारा भारत सरकारको विरोध

यसबारे इस्लामिक देशले भारत सरकारसँग जवाफ समेत मागेका छन् । यस क्रममा अफागानिस्तानको तालिबान सरकारले समेत भारत सरकारको आधिकारिक जवाफ मागेको छ ।

कट्टरपन्थीहरूलाई इस्लामको अपमान गर्न र मुस्लिमको भावना भड्काउनबाट रोक्नका लागि तालिबानले भारत सरकारलाई आग्रह गरेको छ ।

तालिबानी प्रवक्ता जबीउल्लाह मुजाहिदले भारतको सत्तारुढ दल भाजपाकी पूर्वप्रवक्ता नूपुर शर्मालाई लक्षित गर्दै एक अधिकारीले पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणी गरेको भन्दै अफगानिस्तानको इस्लामिक समुदायले त्यसको निन्दा गर्ने प्रतिक्रिया दिएका थिए ।

यसैबीच संयुक्त राष्ट्रसंघले पनि भारतको पछिल्लो धार्मिक विवादलाई लक्षित गर्दै सबै धर्मका लागि सम्मान र सहिष्णु हुन जरुरी रहेको प्रतिक्रिया दिएको छ । यसबारे इस्लामी देशहरूको तर्फबाट आलोचना आएपछि संयुक्त राष्ट्रसंघले पनि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हो ।

भाजपाकी पूर्वप्रवक्ता शर्माको बयानलाई लिएर हालसम्म १४ वटा इस्लामिक देशले आलोचना गरिसकेका छन् । इरान, इराक, कुवेत, कतार, साउदी अरब, ओमान, यूएई, जोर्डन, अफगानिस्तान, पाकिस्तान, बहराइन, मालदिभ्स, लीबिया र इन्डोनेसियाले हालसम्म त्यसमाथि आपत्ति जनाइसकेका छन् ।

साउदी अरब, कुवेत, बहराइन र अन्य अरब देशहरूले भने आफ्ना सुपर मार्केटमा भारतीय उत्पादनलाई प्रतिबन्ध लगाइदिएका छन् । ५७ मुस्लिम देशहरूको इस्लामिक सहयोग संगठन (ओआईसी)ले पनि यसको निन्दा गरेका छन् । उक्त संगठनले सामाजिक सञ्जाल मार्फत् भारतमा पछिल्ला दिनमा मुस्लिमहरू विरुद्ध हिंसाका घटना बढेको जनाएको छ ।

यस्तै पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले पनि नूपुर शर्माको अभिव्यक्तिको निन्दा गरेका थिए । उनले पैगम्बर मोहम्मदप्रति सम्मान व्यक्त गर्दै भाजपाको आलोचना गरेका थिए । भारतीय जनता पार्टीले भने नूपुर शर्मालाई प्रवक्ताबाट निलम्बन गरिसकेको छ ।

गत मे २६ मा भाजपाकी नेता नूपुर शर्माले एक समाचार बहसमा पैगम्बर मोहम्मदमाथि आपत्तिजनक टिप्पणी गरेकी थिइन् । जसलाई लिएर मुस्लिम समुदाय आन्दोलित बनिरहेको छ । विवादपछि शर्माले आफ्नो अभिव्यक्ति बिना शर्त फिर्ता लिएको भन्दै ट्विट गरेकी थिइन् । त्यससँगै भाजपाले शर्मा र भाजपा दिल्लीका मिडिया सेल प्रमुख नवीन कुमार जिन्दललाई कारबाही समेत गरिसकेको छ ।

भाजपाले दुई नेतालाई कारबाही गरे पनि मुस्लिम समुदायको आन्दोलन भने रोकिएको छैन । विशेषगरी यो मुद्दाले भारतमाथि कुटनीतिक दबाब नै सिर्जना गरेको बताइन्छ ।

इस्लामिक मुलुकहरूको संयुक्त रुपमा प्रतिक्रिया आउन थालेपछि भारतलाई कुटनीतिक रुपमा दबाब सिर्जना भएको हो । यससँगै कतिपय देशले भारतीय उत्पादनमाथि नै प्रतिबन्ध लगाउन थालेपछि भाजपाले आफ्ना दुई नेतालाई कारबाही गरेको थियो ।

प्रकाशित : जेष्ठ २४, २०७९ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?