१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पंजाबी गायक सिद्धू मूसेवालाको हत्या

क्रान्ति पाण्डे

काठमाडौँ — पंजाबी गायक सिद्धू मूसेवाला (शुभदीप संह सिद्धू)को हत्या भएको छ । आइतबार साँझ पंजाब को मानसा जिल्लास्थित जवाहरके गाउँमा उनीमाथि गोली प्रहार भएको हो ।

पंजाबी गायक सिद्धू मूसेवालाको हत्या

बीबीसी हिन्दीले मानसाका एसएसपी गौरव तोरालाई उदृत गर्दै उनको हत्याको पुष्टि गरेको छ । मानसाकै सिभिल सर्जन डा. रन्जित सिंहले मूसेवालासहित ३ जनालाई अस्पतालमा ल्याइएको तर अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको जनाएका छन् । घाइतेहरुलाई पटियालास्थित राजिन्द्र अस्पताल रिफर गरिएको छ ।

मूसेवालाको शरीरमा चारदेखि पाँचवटा गोलीका निशाना भेटिएको बताइएको छ । उनको टाउको र कम्मरमुनि गोली लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

साथीहरुसँग साढे ४ बजेतिर घरबाट निस्किएका उनीमाथि आइतबार साँझ साढे ५ बजेतिर जवाहरके गाउँ नजिकै हमला भएको हो । सिद्धूको हत्यामा लरेन्स बिश्नोई समूहको हात रहेको भन्दै भारतीय सञ्चारमाध्यममा खबर आइरहेको छ । पंजाब प्रहरीले पनि यसमा गुन्डा समूहको हात रहन सक्ने बताएको छ ।

सिद्धू मूसेवालासँग ४ जना सुरक्षा गार्ड थिए । सिद्धू बुलेट प्रूफ गाडी छोडेर सुरक्षाकर्मी बिनै घर बाहिर निस्किएका थिए ।घटनास्थलमा ३० वटा गोलीका खोका भेटिएको र तीन अलग अलग हतियारको रहेको पंजाब प्रहरीले बताएको छ । पंजाब प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सिद्‌धूको हत्यासँगै सामाजिक सञ्जालमा पंजाब सरकारको आलोचना भइरहेको छ । यसभन्दा अघि पंजाब सरकारले शनिबार ४ सय २४ धार्मिक, राजनीतिक र पुलिस अधिकारीहरुको सुरक्षा फिर्ता लिएको एनडीटिभीले जनाएको छ । त्यसमध्ये केहीका सुरक्षाकर्मी कटौती गरिएको थियो । जसमा मूसेवालाको नाम पनि समावेश थियो ।

पंजाबका मुख्यमन्त्री भगवन्त मानले ट्विटमार्फत मूसेवालाको हत्यामा संलग्न जोकोही उम्कन नपाउने भन्दै सबैमा शान्त रहन अपिल गरेका छन् ।

२८ वर्षीय सिद्धू गत डिसेम्बरमा कांग्रेस पार्टीमा प्रवेश गरी राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

प्रकाशित : जेष्ठ १६, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?