अमेरिकी गोलीकाण्ड

‘गलत निर्णयले प्रहरी असफल’

एजेन्सी

टेक्सास — अमेरिकाको टेक्सासस्थित विद्यालयको गोलीकाण्ड मच्चाउने बन्दुकधारीलाई जवाफी आक्रमण गर्न प्रहरी असफल भएको एक वरिष्ठ अधिकारीले जनाएका छन् ।

‘गलत निर्णयले प्रहरी असफल’

टेक्सासको सार्वजनिक सुरक्षा विभागका निर्देशक कर्नेल स्टेभेन म्याक्क्रले ‘प्रहरीले गलत निर्णय गरेकाले’ बन्दुकधारीलाई जवाफ दिन निकै ढिला भएको बताएका हुन् । सुरक्षाकर्मीहरू घटनास्थलनजिकै रहेका भए पनि बन्दुकधारीलाई रोक्न वा तत्काल जवाफी कारबाही गर्न असफल भएका उनको दाबी छ ।

टेक्सासस्थित प्राथमिक विद्यालयमा मंगलबार अन्धाधुन्ध गोली प्रहार हुँदा १९ जना बालबालिकासहित २१ को मृत्यु भएको थियो । करिब ५ सय विद्यार्थी अध्ययन गर्ने युभाल्डे सहरको रोब विद्यालयको कक्षाकोठामै प्रवेश गरी १८ वर्षीय बन्दुकधारीले गोली हानेका थिए ।

गोली प्रहार सुरु भएको ४० मिनेटमा मात्र प्रहरी विद्यालयमा पुगेको पुष्टि भएको म्याक्क्रले बताए । घटनास्थलमा रहेकाहरूले सहयोगका लागि बारम्बार प्रहरीलाई खबर गरेका उनको भनाइ छ ।

म्याक्क्रका अनुसार घटनास्थल नजिकैका वरिष्ठ प्रहरी अधिकारीले ‘कुनै पनि बालबालिका जोखिममा नरेहेको’ वा ‘कोही जीवित नरहेको ठानेर’ विद्यालयका सहयोगीलाई कुरेको हुन सक्ने बताए । अधिकारीहरूले भने कुन समय के–के भयो भन्ने प्रस्ट रूपमा बताउन सकेका छैनन् । टेक्सास राज्यका गभर्नर ग्रेग अबोटले आफूले पाएका कतिपय सूचना गलत भएको बताएका छन् । ‘घटनाबारे सबैले थाहा पाए । तर मलाई दिइएका केही सूचना तथ्यपूर्ण नरहेको पछि थाहा भयो,’ उनले भनेका छन् ।

अबोटले सन्दिग्ध बन्दुकधारी सेल्भाडोर रामोस सुरक्षा कारबाहीमा मारिएका जनाए । कारमा सवार रामोस सडकको बेरिकेड तोड्दै विद्यालय प्रवेश गरी कक्षाकोठामा पढिरहेका विद्यार्थीलाई लक्षित गर्दै गोली प्रहार गरेका थिए । घटनामा ७ देखि १० वर्ष उमेर समूहका विद्यार्थीले ज्यान गुमाएका हुन् ।

यसैबीच, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । टेक्सास गोलीकाण्डपछि पहिलोपटक बोल्दै उनले विद्यालयको सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘अमेरिकाले युक्रेनलाई अर्बौं रकम दिन सक्छ भने हाम्रो घरमा बालबालिकालाई सुरक्षित राख्न पनि सक्नुपर्छ,’ अमेरिकामा हतियार बिक्री तथा प्रयोगसम्बन्धी नियम परिवर्तनको विरोधमा रहेकाहरूको एक सम्मेलनमा बोल्दै ट्रम्पले भने । अमेरिकाको सबैभन्दा ठूलो बन्दुकधारी समूह नेसनल राइफल एसोसिएसन (एनआरए) को बैठक हाल ह्युस्टनमा भइरहेको छ ।

‘हामीले इराक र अफगानिस्तानमा करोडौं रकम खर्चियौं । तर, उपलब्धि केही भएन,’ ट्रम्पले भने, ‘हामीले अन्य देश निर्माण गर्नुअघि हाम्रै बच्चाहरूका लागि सुरक्षित विद्यालय निर्माण गर्नुपर्छ ।’ रुसले फेब्रुअरी २४ मा अमेरिकामाथि आक्रमण गरेयता अमेरिकाले युक्रेनका लागि करिब ५४ अर्ब डलर बराबरको सहयोग पठाइसकेको छ ।

ट्रम्पले बोल्नुअघि टेक्सासका सिनेटर टेड क्रुजले धार्मिक कार्यमा घट्दै गएको उपस्थिति तथा सामाजिक सञ्जाल र भिडियो गेमका कारण सामूहिक गोलाबारीका मुख्य कारण भएको बताएका थिए ।

एनआरएको बैठक चलिरहेका बेला बाहिर भने सयौं प्रदर्शनकारीले विरोध जनाएका थिए । प्रदर्शनकारीले ‘एनआरएले बालबालिका मार्‍यो,’ ‘बच्चालाई बन्दुक होइन, सुरक्षा देऊ’ जस्ता नारा लेखिएका प्लेकार्ड तथा गोलीकाण्डमा परेका पीडितको तस्बिर बोकेका थिए ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?