दुर्घटनामा ७ भारतीय सैनिकको मृत्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा ७ भारतीय सैनिकको मृत्यु

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा ७ सैनिकको मृत्यु भएको छ । १९ जना गम्भीर घाइते भएका छन् । 

लद्दाखको प्रतापपुरस्थित ट्रान्जिट क्याम्पबाट सब सेक्टर हनिफतर्फ गइरहेको २६ सैनिक सवार उक्त गाडी सडकबाट श्योक नदीमा खसेको भारतीय सेनाका प्रवक्ताले पुष्टि गरेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । गाडी सडकबाट करिब ५०–६० फिट तल नदीमा खसेको थियो ।

दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । ‘लद्दाखमा बस दुर्घटनामा सैनिक जवानहरूको मृत्युलाई लिएर धेरै दु:खी छु । यी बहादुर सैनिकका परिवारमाथि मेरे गहिरो समवेदना छ । आशा गर्छु घाइते सैनिक छिटोभन्दा छिटो निको हुनेछन्,’ मोदीले भनेका छन् । घटनालाई लिएर भारतीय कंग्रेसकी नेत्री प्रियन्का गान्धी र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले पनि गहिरो दु:ख प्रकट गरेका छन् ।


प्रकाशित : जेष्ठ १३, २०७९ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्

लागूऔषध सेवन मुद्दामा आर्यन खानलाई ‘क्लिन चिट’

एजेन्सी

मुम्बई — लागू पदार्थ सेवन गरेको आरोप लागेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई ‘क्लिन चिट’ मिलेको छ । भारतको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले अन्य १४ आरोपितविरुद्ध अदालतमा रिट दर्ता गर्दा आर्यनलाई भने सफाइ दिएको हो ।

गत वर्षको अक्टोबर २ मुम्बईबाट गोवा जाँदै गरेको समुद्री क्रुज सिपमा पार्टीका दौरान लागूऔषध सेवन गरेको आरोपमा आर्यनसहित १७ जनालाई एनसीबीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २३ वर्षीय आर्यनसँगै मुनमुन धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त छोकर, गोमित चोपरा, अरबाज मर्चान्टलगायत थिए । उक्त समूहमा २ जना महिलासमेत थिए । तर, बुधबार ६ हजार पाना लामो मुद्दा दर्ता गर्ने क्रममा एनसीबीले १४ जनालाई मात्रै अभियुक्त दाबी गरेको छ ।

क्रुज सीपमा छापा मार्दा प्रहरीले कोकिन, चरेस, मेफेड्रोनजस्ता लागूऔषध बरामद गरेको बताएको थियो । पछि आर्यनको साथमा लागूऔषध नभेटिए पनि उनको ह्वाट्सएप च्याटअनुसार लागूऔषध तस्करीमा संलग्न भएको हुन सक्ने एनसीबीको आशंका थियो । ७ महिना लामो अनुसन्धानपछि एनसीबीले आर्यनको लागूऔषध सेवन र तस्करी दुवै कार्यमा संलग्न रहेको प्रमाण नभेटेको जनाएको छ ।

उसो त आर्यन धरौटीमा रिहा भइसकेका छन् । पक्राउ परेपछि एनसीबीले ११ अक्टोबरसम्म हिरासतमा राख्न अदालतसमक्ष माग गरेको थियो । त्यसलगत्तै आर्यनले धरौटीमा रिहाइको माग गर्दै मुम्बई उच्च अदालतमा निवेदन दिएका थिए । झन्डै १ महिनापछि मात्रै अदालतले विभिन्न १४ सर्त पालना गर्ने गरी आर्यनलाई धरौटीमा रिहा गरेको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७९ २२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×