लागूऔषध सेवन मुद्दामा आर्यन खानलाई ‘क्लिन चिट’

एजेन्सी

मुम्बई — लागू पदार्थ सेवन गरेको आरोप लागेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई ‘क्लिन चिट’ मिलेको छ । भारतको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले अन्य १४ आरोपितविरुद्ध अदालतमा रिट दर्ता गर्दा आर्यनलाई भने सफाइ दिएको हो ।

लागूऔषध सेवन मुद्दामा आर्यन खानलाई ‘क्लिन चिट’

गत वर्षको अक्टोबर २ मुम्बईबाट गोवा जाँदै गरेको समुद्री क्रुज सिपमा पार्टीका दौरान लागूऔषध सेवन गरेको आरोपमा आर्यनसहित १७ जनालाई एनसीबीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २३ वर्षीय आर्यनसँगै मुनमुन धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त छोकर, गोमित चोपरा, अरबाज मर्चान्टलगायत थिए । उक्त समूहमा २ जना महिलासमेत थिए । तर, बुधबार ६ हजार पाना लामो मुद्दा दर्ता गर्ने क्रममा एनसीबीले १४ जनालाई मात्रै अभियुक्त दाबी गरेको छ ।

क्रुज सीपमा छापा मार्दा प्रहरीले कोकिन, चरेस, मेफेड्रोनजस्ता लागूऔषध बरामद गरेको बताएको थियो । पछि आर्यनको साथमा लागूऔषध नभेटिए पनि उनको ह्वाट्सएप च्याटअनुसार लागूऔषध तस्करीमा संलग्न भएको हुन सक्ने एनसीबीको आशंका थियो । ७ महिना लामो अनुसन्धानपछि एनसीबीले आर्यनको लागूऔषध सेवन र तस्करी दुवै कार्यमा संलग्न रहेको प्रमाण नभेटेको जनाएको छ ।

उसो त आर्यन धरौटीमा रिहा भइसकेका छन् । पक्राउ परेपछि एनसीबीले ११ अक्टोबरसम्म हिरासतमा राख्न अदालतसमक्ष माग गरेको थियो । त्यसलगत्तै आर्यनले धरौटीमा रिहाइको माग गर्दै मुम्बई उच्च अदालतमा निवेदन दिएका थिए । झन्डै १ महिनापछि मात्रै अदालतले विभिन्न १४ सर्त पालना गर्ने गरी आर्यनलाई धरौटीमा रिहा गरेको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७९ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?