कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

रुसको कब्जामा युक्रेनको लाइमन सहर

सेभिरोडोनेत्स्कको पनि दुई तिहाइ क्षेत्रमा नियन्त्रण
एजेन्सी

किभ/मस्को — रुसी सेनाले युक्रेनको डोनत्स्क क्षेत्रको लाइमन सहर कब्जा गरेको छ । पछिल्लो डेढ सातायता लगातार भारी मात्रामा आक्रमण गरिरहेको रुसले उक्त सहर नियन्त्रणमा लिएको युक्रेनले समेत स्विकारेको छ । यसअघि नै रुसी समर्थित पृथकतावादीहरुको बाहुल्य रहेको यो सहर आफूहरुले गुमाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार आलेक्सी एरिस्टाभिचले बताएका हुन् ।

रुसको कब्जामा युक्रेनको लाइमन सहर

‘अप्राणित तथ्यांकअनुसार हामीले लाइमन सहर गुमायौं,’ शुक्रबार एक भिडियो सन्देशमा एरिस्टाभिचले भनेका छन्, ‘रुसले आक्रमण व्यवस्थित र एकिकृत गरेको छ । यसबाट सैद्धान्तिक रुपमा रुसको सैनिक परिचालन, व्यवस्थापन र रणनीतिक दक्षताको स्तर बढेको देखाउँछ ।’

डोनेत्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोको भनाइले समेत लाइमनमाथि नियन्त्रण जमाउन रुस सफल भएको संकेत गर्छ । ‘लाइमन सहर मुख्य रुपमा रुसी सेनाको नियन्त्रणमा छ तर यस क्षेत्रका केही नयाँ स्थानलाई भने युक्रेनी सेनाले पकडमा लिएको छ,’ मिडिया आउटलेट रोमाडस्केसँग कुराकानी गर्दै उनले भनेका छन् । किभका रक्षा अधिकारीले पनि डोनेत्स्कको उत्तर–पश्चिम र दक्षिण–पूर्वी क्षेत्रमा नियन्त्रण बनाइ राख्न युक्रेनी सुरक्षा फौज अझै युद्ध क्षेत्रमा डटिरहेको दाबी गरेका छन् ।

लाइमन युक्रेनको ठूलो सहर भने होइन तर रुससँग रणनीतिक रुपमा सम्बन्ध भने राख्छ । युक्रेनको यो प्रमुख रेल्वे हब हो । मुख्य सहरहरुसँग जोडिने सडक सञ्जालमा समेत जोडिएको छ । मुलककै दक्षिण–पश्चिम क्षेत्रमा सामग्री ढुवानी गर्ने एक प्रमुख विन्दु मानिने स्लोभिन्स्क सहर यहाँबाट २० किलोमिटरको मात्रै दूरीमा पर्छ । यसकारण पनि लाइमनमाथि कब्जा जमाउनु रुसका लागि महत्वपूर्ण प्राप्तिको रुपमा विश्लेषण गरिएको छ । यसै साता रुसले कब्जा गरेको यो दोस्रो सहर पनि हो ।

यसबाहेक पछिल्लो डेढ सातायता डोनबास क्षेत्रका अन्य दुई सहरहरु सेभिरोडोनेत्स्क र लिसिचान्स्कमा समेत भारी आक्रमण जारी छ । लुहान्स्कका गभर्नर सेरही हैदईका अनुसार रुसी सेनाले सेभिरोडोनेत्स्कको दुई तिहाइ क्षेत्रमा आफ्नो नियन्त्रण जमाइसकेको छ । ‘तर सबै क्षेत्रमा नियन्त्रण कायम गरिसकेको भने छैन,’ उनले भनेका छन् । लुहान्स्कबाट युक्रेनी सेना हटिसकेको रुस समर्थित पृकथकतावादीको समूहले गरेको दाबीलाई भने उनले नकारेका छन् ।

सेभिरोडोनेत्स्क धेरै जनघनत्व भएको डोनबास क्षेत्रकै मुख्य सहर हो । जहाँ अझै पनि युक्रेनी सेनाले नियन्त्रण गुमाइसकेको छैन । स्थानीय अधिकारीका अनुसार यहाँका ९० प्रतिशत भवन र ६० प्रतिशत घरहरु ध्वस्त भइसकेका छन् । रुसले आक्रमण थालेयता यहाँका १५ सय सर्वसाधारणको ज्यान गइसकेको छ । अझै १० हजार सर्वसाधारणले युद्ध रोकिने आशामा उक्त क्षेत्र छोडेका छैनन् ।

मस्कोले भने युक्रेनकै मुख्य औद्यौगिक क्षेत्र मानिने डोनबास क्षेत्र (डोनेत्स्क र लुहान्त्स्क) लाई पूर्ण रुपमा कब्जा गर्ने उद्देश्य रहेको स्पष्ट पारेको छ । यो क्षेत्रमा रुसी समर्थित पृथकतावादीको बाहुल्य रहेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७९ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?