‘मस्जिद कि मन्दिर’ विवादमा अल्झिएको भारत


नयाँदिल्ली — ‘मस्जिद कि मन्दिर ?’ भारतमा यो विषय अहिले पेचिलो बनेको छ । कतिपय मन्दिरसँगै रहेका मस्जिदमाथि हिन्दु पक्षको दाबी बढ्दै गएको छ । पछिल्लो समय बनारसमा विश्वनाथ मन्दिरसँगै रहेको ज्ञानवापी मस्जिदमाथि हिन्दु पक्षको दाबीले पुरानो विवादको पुनरावृत्ति मात्रै भएको छैन, एकपछि अर्को त्यस्तै दाबी बाहिर आउन थालेका छन् ।

‘ज्ञानवापी मस्जिद मन्दिर हो, त्यसमा पूजाआजा गर्न पाउनुपर्छ’ भन्ने हिन्दु पक्षले उठाएको माग अदालती प्रक्रियामा पुगेका बेला मथुराको श्रीकृष्ण जन्म भूमिसँगै रहेको मस्जिद, आगराको ताजमहल र दिल्लीको कुतुब मिनारको इतिहासमाथि प्रश्न उठाइएको छ । हिन्दु पक्षले ती सबै स्थानलाई हिन्दु धर्म र संस्कृतिसँग जोडेर आवाज उठाएका छन् ।
भारतमा कट्टर हिन्दुवादी दल भारतीय जनता पार्टी (भाजपा) ले सरकार चलाइरहेको ८ वर्ष पूरा भएको छ । अबको २ वर्षपछि सन् २०२४ मा आम चुनाव हुँदै छ । त्यसअगाडि एकपछि अर्को धार्मिक सहिष्णुता खलबल्याउने खालका घटनाहरू बाहिर आउन थालेका छन् ।
सन् १९९० को अयोध्यामा बाबरी मस्जिद र राम मन्दिरलाई लिएर विवाद चुलिएको थियो । त्यतिबेला भाजपाले कट्टर हिन्दुवादी पक्षधरता देखाएको थियो । त्यसैको जगमा भाजपा बलियो हुँदै आएको छ । भाजपा नेतृत्वकै सरकारका पालामा ३ वर्षअगाडि सन् २०१९ मा सर्वोच्च अदालतले राम जन्मभूमिको विवादमा हिन्दुको पक्षमा फैसला सुनाउँदै मुद्दा किनारा लगाएको थियो । ९ डिसेम्बर २०१९ मा सर्वोच्चले मस्जिदसमेत रहेको २.७७ एकड विवादित भूमि राम मन्दिर निर्माणका लागि दिने फैसला सुनाएको थियो । सन् १५२८ मा निर्माण भएको बाबरी मस्जिदलाई कट्टर हिन्दुवादीहरूले सन् १९९२ मा भत्काएका थिए ।
हिन्दु पक्षधरले ज्ञानवापी मस्जिद विश्वनाथ मन्दिरलाई भत्काएर बनाइएको दाबी गर्दै आएका छन् । कतिपय इतिहासकारले पनि त्यसलाई सही मानेका छन् । सन् १६९९ मा गुगल शासक औरंगजेबले काशीको मूल विश्वनाथ मन्दिरलाई तोड्न लगाएर ज्ञानवापी मस्जिद बनाउन लगाएको हिन्दु पक्षले दाबी गर्दर् ैआएको छ । विश्वनाथको हालको मन्दिर सन् १७८० मा इन्दौरकी महारानी अहिल्याबाई होल्करले बनाउन लगाएको मानिन्छ । पहिला उक्त मन्दिर अहिले मस्जिद रहेकै स्थानमा रहेको दाबी हिन्दु पक्षको छ । मस्जिदतिर फर्केर नन्दीको प्रतिमा छ । जता शिवलिंग हुन्छ, नन्दीको मुख उतै फर्किने भएकाले हिन्दु पक्षले मस्जिदभित्र शिवलिंग रहेको विषयलाई पुष्टि गर्न खोज्छन् । उक्त नन्दीको स्थापना भने नेपालका तत्कालीन कुनै राजाबाट गराइएको भनिँदै आएको छ ।
अयोध्यामा रामजन्म भूमिलाई लिएर विवाद चुलिएकै बेला यो विषयले पनि स्थान पाएको थियो । ज्ञानवापी मस्जिद हटाउन सन् १९९१ मै अदालतमा निवेदन दायर गरिएको थियो । तर, अदालतले त्यसलाई सुनुवाइ नै गरेन । त्यसयता पनि यो विषयको उठान हुँदै आए पनि अहिलेको जस्तो रूप लिएको थिएन । अहिले बनारसस्थित जिल्ला अदालतले मस्जिदमा मन्दिरको प्रामाणिकताबारे सर्भे गर्न एउटा टिम बनाएको र टिमले ३ दिनको अध्ययन र भिडियोग्राफीसहितको रिपोर्ट अदालतमा बुझाइसकेको छ । अदालतमा रिपोर्ट नबुझाउँदै रिपोर्टका विषयहरू ‘लिक’ गराइएको छ । जसमा मस्जिदभित्र शिवलिंग भेटिएको र उक्त स्थल मन्दिर रहेको प्रमाणित गर्ने धेरै विषयहरू पाइएको दाबी गरिएको छ । रिपोर्टको कुरा बाहिर आएसँगै हिन्दु पक्ष हौसिएका छन् । गत वर्ष ५ जना महिलाले मस्जिद परिसरमा दैनिक पूजाको माग गर्दै दिएको रिटमाथि अदालतले सर्भेको आदेश दिएको हो ।
मुस्लिम पक्षले भने रिपोर्टका नाममा गलत विषयलाई प्रचारबाजी गरिएको भन्दै आएको छ । उनीहरूले मस्जिदमा मन्दिर देख्ने प्रामाणिकता नरहेको दाबी गरेका छन् । जिल्ला अदालतले गराएको सर्भेलाई उच्च अदालतले समेत मान्यता दिएपछि उनीहरू सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्चले पनि उनीहरूलाई निराश बनाएको छ । कुनै अन्तरिम आदेश जारी नगरी जिल्ला अदालतले नै यो विषयको सुनुवाइ गर्ने भन्दै तल्लो अदालतमै मुद्दा पठाइदिएको छ । अदालतको आदेशमा मस्जिद परिसरमा शिवलिंग भेटिएको दाबी गरिएको क्षेत्रलाई सिल गरिएको छ । मुस्लिम समुदायलाई नवाज पढ्न भने दिइएको छ । जिल्ला अदालतले ८ साताभित्र यस विषयमा निर्णय दिनुपर्ने सर्वोच्चको आदेशपछि सबैको ध्यान अदालततिरै छ ।
बनारसको विषय अदालतमै रहेका बेला मथुराको श्रीकृष्ण जन्मभूमि मन्दिर परिसरसँगै रहेको शाही इदगाह मस्जिदलाई हिन्दु पक्षले कृष्णको जन्मस्थल रहेको दाबी गरेका छन् । मुगल शासक औरंगजेवले नै त्यहाँ रहेको प्राचीन केशवनाथ मन्दिरलाई नष्ट गराएर १६६९/७० मा शाही इदगाह मस्जिदको निर्माण गराएको हिन्दु पक्षधर इतिहासकारको दाबी छ । त्यस विषयमा पनि मस्जिदभित्र मन्दिरको प्रामाणिकता खोजिनुपर्ने र सर्भे गरिनुपर्ने माग गर्दै अदालतमा रिट परेको छ ।
अर्कोतिर विश्व प्रसिद्ध ताजमहल पनि मन्दिर भत्काएर बनाइएको दाबी कतिपयको छ । यो दाबी नयाँ नभए पनि अहिले यसको पनि चर्चा चुलिएको छ । केही हिन्दु संगठनले शिव मन्दिर भत्काएर शाहजहाँले ताजमहल बनाउन लगाएको दाबी गर्दै आएका छन् । त्यहाँ पनि आर्कियोलाजिकल सर्भे अफ इन्डियाद्वारा जाँच गराइनुपर्ने माग गर्दै भाजपा कार्यकर्ता अदालत पुगेका छन् । दिल्लीको ऐतिहासिक धरोहर कुतुब मिनारलाई लिएर पनि हिन्दु पक्षले प्रश्न उठाएका छन् । मिनार परिसरमा रहेको मस्जिद पनि मन्दिर भत्काएर बनाइएको दाबी गरिएको छ । त्यहाँ विगतमा मन्दिर रहेकाले पूजापाठको माग थालिएको छ । युनाइटेड हिन्दु फ्रन्टले मस्जिद स्थलमा पूजापाठको अनुमति माग गर्दै दिल्लीको साकेत अदालतमा उजुरी गरेको हो ।
प्रकाशित : जेष्ठ १३, २०७९ १०:५४