रुस-युक्रेन द्वन्द्वका कारण हंगेरीमा संकटकाल घोषणा- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुस-युक्रेन द्वन्द्वका कारण हंगेरीमा संकटकाल घोषणा

रासस/सिन्ह्वा

बुडापेस्ट — रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हंगेरीमा संकटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मंगलबार नयाँ सरकार गठनसँगै संकटकाल घोषणा गरेका हुन् ।

उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ ।

संकटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी दिए । रुस र युक्रेनबीचको द्वन्द्व निरन्तर चलिरहेकाले संकटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाइ छ ।

दुई देशको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएकाले आर्थिक संकट न्यूनिकरणका लागि संकटकालले सहयोग गर्ने हंगेरीको सरकारले आशा गरेको बताइएको छ ।

ती देशको द्वन्द्वका कारण विश्वका अरु पनि धेरै देशमा आर्थिक संकट उत्पन्न हुनुका साथै अभाव र महंगी सिर्जना भएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्

मारिउपोलमा यूक्रेनी सेनाले आत्मसमर्पण गरेको रूसको दाबी

रासस/सिन्ह्वा

मस्को — यूक्रेनको बन्दरगाह सहर मारिउपोलमाथि रूसले आफ्ना सेनाले विजय हासिल गरेको दाबी गरेको छ । मारिउपोलको आजोभ्स्टाल स्टील उद्योगमा रहेका बाँकी सैनिकहरूले शुक्रबार आत्मसमर्पण गरेसँगै अब उक्त सहर पूर्णरूपमा रूसी सेनाको नियन्त्रणमा गएको रुसले जनाएको छ ।

उक्त औद्योगिक क्षेत्रमा रहेका यूक्रेनी सेनाले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न महिनौँदेखि रोकिरहेका थिए । शुक्रबार यूक्रेनी फौज पछि हटेसँगै मारिउपोलमा ठूलो क्षति हुनेगरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले ५३१ यूक्रेनी लडाकूहरू त्यहाँबाट हटेपछि मारिउपोल र सो स्टील उद्योग ‘अहिले पूर्णतः मुक्त’ भएको जनाएको छ । 'लडाकूहरू' लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको रुसले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटिएका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको स्वीकार गरेका छन् ।

शुक्रबार एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भने, 'आज यूक्रेनी सैनिक नेतृत्वले उनीहरूलाई उनीहरूले त्यहाँबाट बाहिर निस्किन र आफ्नो ज्यान जोगाउन सक्ने स्पष्ट सन्देश दिएको छ ।'

हप्तौँसम्म आजोभ्स्टाल क्षेत्र पूरै घेराबन्दीमा रहँदै आएको थियो । रूसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पुर्‍याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए । उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका यूक्रेनी फौजलाई आत्मसमर्पण गर्न भनिरहेका थिए । उक्त क्षेत्रमा फस्ने कैयौँ गैरसैनिक नागरिकमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिक पनि रहेको यूक्रेनी अधिकारीले बताएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ २०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×