कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

युक्रेन युद्धपछि मोदी-बाइडेन भेट

एजेन्सी

टोकियो — रुसले युक्रेनबारे रुसलाई हेर्ने अमेरिका र भारतको दृष्टिकोणमा भिन्नता कायमै रहेका बेला दुई देशका प्रमुख नेतृत्वबीच भेटवार्ता भएको छ । भारतको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार टोकियोमा भएको वार्ता फलदायी भएको जनाएको छ ।

युक्रेन युद्धपछि मोदी-बाइडेन भेट

वार्तापछि द्विपक्षीय साझेदारी थप बलियो र गतिशील हुने मन्त्रालयको अपेक्षा छ । दुई देशका नेताबीच क्वाड सम्मेलनका क्रममा साइडलाइन वार्ता भएको हो ।

वार्तामा दुई देशबीच रणनीतिक साझेदारी, लोकतान्त्रिक मूल्य र कानुनी शासनका आधारमा अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्ने प्रतिबद्धता भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । बैठकका क्रममा दुई देशको उच्च नेतृत्वबीच नियमित उच्चस्तरीय वार्तालाई निरन्तरता दिने सहमति जुटेको छ । वार्तामा रक्षा र सुरक्षा सहयोग दुई देशका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै द्विपक्षीय सहयोग थप सुदृढ गर्ने उपायबारे पनि छलफल भएको जनाएको छ । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचको जनसम्बन्धलाई थप सुदृढ गर्न उच्च शिक्षाको सहकार्य अझै बढाउन आग्रह गरेका छन् ।

नेताहरूले स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिक क्षेत्रका लागि साझा दृष्टिकोणलाई पुनः पुष्टि गर्दै क्षेत्रीय मुद्दाहरूमा पनि समान विचार आदानप्रदान गरेका जनाइएको छ । रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता दुई नेताबीच पहिलोपटक भेट भएको हो । आक्रमणपछि अमेरिकासहित पश्चिमा राष्ट्रहरूले रुसमाथि अनेकौं प्रतिबन्ध लगाएका छन् । रुसलाई विश्वबाट अलग पार्ने पश्चिमा देशको कोसिसमा भारतले भने साथ दिएको छैन । रुसमाथि कुनै प्रतिबन्ध नलगाएको भारतले युद्धको अवधिमा पनि द्विदेशीय व्यापारलाई निरन्तरता दिएको छ । भारतको यस्तो रणनीतिप्रति भने अमेरिका रुष्ट छ ।

क्वाडमा रहेका भारतबाहेक बाँकी तीन राष्ट्रले युक्रेन युद्धमा रुसी रवैयाको विरोध गर्दै आएका छन् । भारतले भने तटस्थ विदेश नीति अपनाएको छ । संयुक्त राष्ट्रसंघमा रुसविरुद्ध भएका मतदानमा भारतले आफूलाई अलग राख्दै आएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?