पञ्जाबमा आम आदमीका मुख्यमन्त्रीको ‘स्टिङ अप्रेसन’बाट मन्त्री वर्खास्त

नयाँ दिल्ली — भारतको पञ्जाबमा आम आदमी पार्टीबाट मुख्यमन्त्री बनेका भगवन्त मानले भ्रष्टाचारको आरोपमा एक जना मन्त्रीलाई वर्खास्त गरेका छन् ।

पञ्जाबमा आम आदमीका मुख्यमन्त्रीको ‘स्टिङ अप्रेसन’बाट मन्त्री वर्खास्त

उनले आफैंले गराएको ‘स्टिङ अप्रेशन’ मा स्वास्थ्यमन्त्री डा. विजय सिंगला हरेक कारोवारमा कमिसन माग्ने गरेको पुष्टि भएपछि मन्त्री सिंगलालाई हटाउनुका साथै छानबिनका लागि प्रहरीको जिम्मा लगाएका छन् ।

मुख्यमन्त्री मानले भिडियो सन्देश मार्फत एक रुपैयाँको पनि भ्रष्टाचार आफूलाई स्विकार्य नहुने पनि बताएका छन् । उनले भ्रष्टाचारको खिलाफ आन्दोलन गरेर आम आदमी पार्टीको जन्म भएकाले भ्रष्टाचार सहन नसकिने उल्लेख गरेका छन् ।

उनले आफू समक्ष स्वास्थ्यमन्त्रीले हरेक टेण्डरमा १ प्रतिशत कमिसन माग्ने गरेको जानकारी आएपछि गोप्य ढंगले अनुसन्धान गरेको बताए । ‘मैले मन्त्रीको विरुद्ध सशक्त कारबाही गर्ने निर्णय लिएको छु, एक जना भ्रष्टाचारी मन्त्रीलाई हटाएको छु,’ उनले भनेका छन् ‘मन्त्री स्वयंले पनि भ्रष्टाचार गरेको स्वीकारेका छन् ।’

आपका संयोजक दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले पञ्जाबका मुख्यमन्त्री मानले गरेको निर्णयको स्वागत गरेका छन् । उनले यस कदमलाई भ्रष्टाचार विरुद्धको मोडलका रुपमा अर्थ्याएका छन् । गत फेब्रुअरीमा भएको निर्वाचनमा आपले भारी बहुमत ल्याएर पञ्जाबमा सरकार बनाएको छ । दिल्लपछि आपले त्यहीँ सफलता प्राप्त गरेको छ ।

स्वास्थ्यमन्त्री भएपछि सिंगलले २८ मार्चको आफ्नो सार्वजनिक भाषणमा भ्रष्टाचारलाई खारेज गरिने बताएका थिए । उनले भ्रष्टाचार विरुद्ध शून्य शहनशीलता अपनाउने दाबी समेत गरेका थिए । त्यसको ५७ दिनपछि उनी भ्रष्टाचारकै आरोपमा मन्त्री पदबाट हटाइएका हुन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?