कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

१४ देशमा फैलियो मंकीपक्स

एजेन्सीहरू

जेनेभा — कोरोना भाइरसको महामारीबाट छुटकारा पाउँदै गरेको विश्वलाई फेरि अर्को भाइरसले पिरोल्न थालेको छ । केही दिनयता विभिन्न देशमा ‘मंकीपक्स’ भाइरसको संक्रमण देखिएसँगै विश्व समुदायमा चिन्ता बढेको हो ।

१४ देशमा फैलियो मंकीपक्स

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार आइतबारसम्म १४ देशमा यसको संक्रमण देखिइसकेको जनाएको छ । ८० भन्दा बढी संक्रमण पुष्टि भएको र शंकास्पद ५० बारे अनुसन्धान भइरहेको संगठनले जनाएको छ ।

आइतबार साँझसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल र कतिपय युरोपेली देशमा संक्रमण पुष्टि भइसकेको संगठनले जनाएको छ । संक्रमण पुष्टि भएका १० युरोपेली देशमा यूके, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेन हुन् ।

‘मंकीपक्स’ मध्ये तथा पश्चिम अफ्रिकामा सामान्य भए पनि अफ्रिकाबाहिर भने खासै देखिएको थिएन । डब्लूएचओले अन्य धेरैमा संक्रमण भएको हुन सक्ने जनाएको छ । यो भाइरसका मध्य अफ्रिकी र पश्चिम अफ्रिकी गरी दुई भेरिएन्ट हुन्छन् ।

बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । संक्रमण भएको खण्डमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् र शरीरका अन्य भागमा फैलिन्छ ।

खासगरी हात र गोडाका पैतालामा बिमिराहरू बढी देखिन्छ । केही दिन निकै चिलाउने वा दुख्ने भए पनि बिमिराहरू बिस्तारै हराउँछन् । तर बिमिरा आएका ठाउँमा दाग भने रहिरहन सक्छ । यसको संक्रमण भएका दसमध्ये एक जनाको ज्यान जान सक्ने वैज्ञानिकहरूको भनाइ छ । पश्चिम अफ्रिकामा मंकीपक्सका कारण मानिसको मृत्यु भएको तथ्यांक छ । हालसम्म मंकीपक्स भाइरस थोरै संख्यामा मात्र पुष्टि भएको छ । यो भाइरस एक मानिसबाट अर्को मानिसमा सहज रूपमा भने सर्दैन, जसका कारण मंकीपक्स कोरोना जस्तो आम रूपमा फैलने सम्भावना देखिन्न । तर पछिल्लो समय यो भाइरस असामान्य रूपमा देखा परेको भन्दै अनुसन्धान गरिरहेका वैज्ञानिकसमेत अचम्ममा परेका छन् ।

खासगरी जंगली जनावरमा हुने मंकीपक्स भाइरस बाँदरभन्दा बढी मुसामा हुने वैज्ञानिकहरू बताउँछन् । डब्लूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउ, हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिन्छ । त्यस्तो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ । त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्ने जनाइएको छ ।

यो भाइरसलाई यौन रोगका रूपमा हेरिएको छैन । तर यौन क्रियाकलाप गर्दा यो सर्न सक्छ । पछिल्लो समय देखिएका अधिकांश संक्रमण यौन सम्पर्कको समयमा सरेको ठानिएको छ । जसका कारण धेरैजसो संक्रमितका यौनांगनजिक डाबरहरू देखिएका छन् । संक्रमण नियन्त्रण गरेर यो भाइरसबाट बच्न सकिन्छ । यसको कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने डब्लूएचओले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?