भारतमा मुस्लिम भएको आरोपमा भाजपा नेताबाट कुटिएका वृद्ध मृत भेटिए- विश्व - कान्तिपुर समाचार

भारतमा मुस्लिम भएको आरोपमा भाजपा नेताबाट कुटिएका वृद्ध मृत भेटिए

एजेन्सी

काठमाडौँ — भारतको मध्यप्रदेशस्थित रतलाम जिल्लाका एक वृद्ध मुस्लिम भएको आरोपमा कुटिएको केही घण्टापछि मृत फेला परेका छन् । उनलाई भारतीय जनता पार्टीका स्थानीय नेताले निर्घात कुटेका थिए ।

६५ वर्षीय भंवरलाल जैनलाई भाजपाका नेता दिनेश कुशवाहाले निर्घात कुटेको भिडियो सार्वजनिक भएको भोलिपल्ट शुक्रबार साँझ निमच जिल्लाको रामपुरा रोडमा प्रहरीले मृत फेला पारेको हो । भारतीय मिडियाका अनुसार मृतक भंवरलाल रतलाम जिल्लाको छिमेकी सिर्सा गाउँका अगुवा जैनका छोरा थिए ।

तर उनी मुस्लिम बनेको आशंकामा भारतीय जनता पार्टीका स्थानीय नेताले उनलाई निर्घात कुटेको स्थानीय मिडियाले जनाएका छन् । उनी कुटिएको भोलिपल्ट मनसा प्रहरी कार्यालय नजिकै मृत अवस्थामा भेटिएका हुन् ।

भंवरलाल जैनलाई भाजपाका ती नेताले निर्मम तरिकाले कुटेको भिडियो समेत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । मृतक जैन मानसिक रुपमा पनि अस्वस्थ भएको बताइएको छ ।

उनी राजस्थानको छिमेकी क्षेत्र चित्तौडगढबाट जिल्लाबाट मे १६ देखि वेपत्ता थिए । जवकि उनी मे १५ मा आफन्तसँग मन्दिरमा पूजा गर्न गएका थिए । उनको परिवारले वेपत्ता भएपछि मे १६ मा चित्तौडगढस्थित प्रहरीकहाँ उजुरी दिएको थियो ।

त्यसको तीन दिनपछि उनी मृत भेटिएका हुन् । यद्यपि उनी मृत भेटिनुअघि नै उनीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । एक मिनेटको उक्त भिडियोमा भाजपाका नेता दिनेशले जैनलाई एक चिया पसलमा पिटिरहेको देखिएका छन् । भिडियोमा देखिए अनुसार भाजपाका ती नेताले उनलाई मुस्लिम भएको आरोप लगाइरहेका छन् ।

सोही भिडियोमा नेता दिनेशले जैनलाई आधारकार्ड पनि मागिरहेका छन् । जैनले भने आफू रतलामको बासिन्दा रहेको बताइरहेका छन् । तर भाजपाका नेताले उनलाई निरन्तर पिटिरहेको भिडियोमा देखिन्छ ।

भारतीय मिडियाका अनुसार उक्त भिडियो आरोपित भाजपाका दिनेश कुशवाह आफैंले मे २० मा स्वच्छ भारत नामको ह्वाट्सएप समूहबाट अपलोड गरेका थिए । साथै उक्त भिडियो अन्य सामाजिक सञ्जालमा पनि विस्तार भएको छ ।

निमच जिल्ला प्रहरी निरीक्षक सुरज वर्माका अनुसार उक्त घटनाबारे दिनेश कुशवाहासहित दुई जनामाथि मुद्दा दर्ता भएको छ । एकमध्ये उक्त भिडियो खिच्ने व्यक्ति पनि छन् ।

आरोपित दिनेश कुशवाहा भाजपासँग सम्बद्ध संगठनमा रहेको बताइन्छ । साथै उनी निमुचस्थित भाजपा युवा शाखाको स्थानीय कार्यकारी रहेको बताइएको छ । साथै उनकी पत्नी मनसा नगरको यसअघिको परिषद्‍मा रहेकी थिइन् । साथै भिडियो खिच्ने आरोपित पनि भाजपासँग आवद्ध रहेको बताइएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७९ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्

गोरखामा माओवादीको ‘कमब्याक’

२०७४ मा ९ पालिका प्रमुख जितेको कांग्रेस २ मा समेटिएको छ ।  यसअघि २ मा सीमित भएको माओवादी यसपटक २ नगरपालिकासहित ९ मा जित हात पार्न सफल हुँदा एमाले र जसपा भने वडामा पनि खुम्चिएका छन् ।
हरिराम उप्रेती

गोरखा — गोरखाको ११ वटै स्थानीय तहको मतगणना सकिएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार माओवादीले सबैभन्दा बढी ९ पालिका प्रमख जित्यो । जनयुद्धको उद्गम थलो गोरखालाई मान्दै आएको माओवादी २०६४ देखि २०७० का बीचमा कमजोर बन्दै गएको थियो ।

अहिलेको निर्वाचन परिणामले माओवादी २०६४ मै अवस्थामा फर्किएको चर्चा सुरु भएको छ । २०७४ को नतिजा उल्टाएर माओवादीले गोरखामा आफ्नो प्रभाव र उपस्थितिलाई बलियो बनाएको छ । २०७४ मा ९ पालिका प्रमुख जितेको कांग्रेस दुईमा सीमित बनेको छ, २ पालिका जितेको माओवादी ९ पालिका प्रमुख जितेर वर्चस्व जमाएको छ ।

चैत दोस्रो साता सत्तारुढ गठबन्धनका दलको केन्द्रले तल्लो तहसम्मै चुनावी तालमेल गर्ने निर्णय गरेर ‘सर्कुलर’ गरेपछि स्थानीय स्तरमा राजनितिक दलको चुनावी प्रचार अभियान प्रभावित बन्यो । चुनावी तालमेलका लागि चैत १७ मा नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा चारदलीय संयन्त्र बन्यो । गाउँमा चुनावी प्रचारको अभियानमा रहेका सत्तारुढ दलको उम्मेदवारका आकांक्षी पनि संयन्त्रको बैठकको निष्कर्ष कुरेर बसे ।

गठबन्धन दलबीच तालमेलका लागि झन्डै १० भन्दा बढी औपचारिक/अनौपचारिक छलफल चले । तर पालिका भागबन्डामा चार दलबीच कुरो मिलेन । २०७४ को निर्वाचनमा बहुमत पालिका जितेको कांग्रेस भागबन्डामा पनि हाबी भयो । संगठनका हिसाबले कांग्रेससँग समान रहेकाले ६ वटा पालिका पाउनुपर्ने माओवादीको अडान थियो । जनता समाजवादी पार्टी(जसपा) अन्त्यसम्म आइपुग्दा दुई पालिका प्रमुख दाबी प्रस्तुत गर्‍यो । २०७४ को निर्वाचनमा ९ पालिका प्रमुख जितेको कांग्रेस भागबन्डामा हाबी हुँदा कांग्रेसले दिएको संख्या लिनुपर्ने बाध्यतामा माओवादी थियो । संयन्त्र बैठकमा सुरुमा ६ पालिका दाबी गरेको माओवादीले अन्त्यसम्म आइपुग्दा चार पालिका प्रमुखमा झर्ने संकेत गरेको थियो । तालमेल भइहाले पनि ९ बाट २ पालिकासम्म झर्नेगरी आन्तरिक तयारीमा थियो । अन्त्यमा तालमेल हुन नसकेपछि सत्तारुढ दलबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भयो ।

वैशाख ३० को मतदान सकियो । मतगणनाको परिणाम सार्वजनिक हुँदै गर्दा एकल प्रतिस्पर्धामात्र उत्रिएको माओवादीले अपेक्षा गरेभन्दा बढी पालिका प्रमुखमा विजय हासिल गर्‍यो । मतदान सकिँदासम्म पनि चारदेखि पाँच पालिका प्रमुख जित्ने माओवादी जिल्ला स्तरीय नेताको आकलन थियो । तर मत परिणामले बहुमत पालिकाको रिजल्ट दिएपछि माओवादीका जिल्ला स्तरीय नेता चकित छन् । २०७४ को नजिता माओवादीले उल्टाएको छ । २०७४ मा ९ पालिका प्रमुख जितेको कांग्रेस २ मा खुम्चिएका छ ।

२०७४ मा ११ पालिका मध्ये शहीद लखन र बारपाक सुलिकोटको प्रमुख–उपप्रमुखसहित चुमनुव्री र पालुङटार नगरपालिकाको उपप्रमुखमा माओवादी विजयी बनेको थियो । अहिले माओवादीले २०७४ को दुई वटै पालिका जोगाएर कांग्रेसले जितेको ७ वटा पालिका पनि खोसेको छ ।

पालुङटार नगरपालिकाको प्रमुखमा विवश चिन्तन र उपप्रमुखमा वन्दना पाण्डे विजयी बनेका छन् । माओवादीको तर्फबाट उम्मेदवारी दिएको गोरखा नगरपालिकाको प्रमुखमा कृष्ण राना, चुमनुव्री गाउँपालिकाको अध्यक्षमा निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ उपाध्यक्ष सनिला गुरुङ, भीमसेन थापाको अध्यक्ष लोकप्रसाद बन्जरा विजयी भएका छन् । शहीद लखन गाउँपालिका अध्यक्षमा रमेश थापा, उपाध्यक्षमा इन्दिरा तिवारी, गण्डकी गाउँपालिका अध्यक्षमा दीपक तिमल्सिना, अजिरकोट गाउँपालिका अध्यक्षमा दीपक देवकोटा, उपाध्यक्षमा अनिता भुजेल, बारपाक सुलिकोट गाउँपालिकामा अध्यक्ष विष्णु भट्ट, उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका छन् ।

दुई पालिका प्रमुख र उपप्रमुखसहित गोरखा नगरपालिका, भीमसेन थापा र गण्डकी गाउँपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसले जित हात पार्‍यो । आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ, उपाध्यक्षमा कल्पना नेपाली, सिरानचोक गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र गुरुङ, उपाध्यक्षमा रीता देवकोटा, गोरखा नगरपालिका उपप्रमुखमा मसली माया थोकर, भीमसेन थापा गाउँपालिका उपाध्यक्षमा अमृतादेवी वस्ती र गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी विजयी भएका छन् ।

पालिकामा मात्र होइन वडामा पनि माओवादीकै वर्चस्व छ । २०७४ को निर्वाचनमा माओवादीले ३० वडा जितेको थियो भने कांग्रेसले ४५ वडा जितेको थियो । यसपटक ९४ मध्ये ४३ वडाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । ३७ वडामा कांग्रेस उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) वडा तहमा पनि खुम्चिएका छन् । २०७४ को निर्वाचनमा १४ वडा जितेको नेकपा एमालेले अहिले १० वडामा सीमित भएको छ । २०७४ निर्वाचनमा ५ वडा जितेको जसपा अहिले ३ मा खुम्चिएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पालिका र वडा तहको मतपरिणाम हेर्दा २०७४ को तुलनामा माओवादीले सुधार मात्र नभएर छलाङ मारेको छ ।

पछिल्लो परिणामले गोरखामा माओवादी २०६४ कै अवस्थामा फर्किएको चर्चा चल्न थालेको छ । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा माओवादी तत्कालीन तीन वटै निर्वाचन क्षेत्रमा जित हात पारेको थियो ।

२०६४ को निर्वाचनमा माओवादीले गोरखाबाट मात्रै ७५ प्रतिशत मत पाएको थियो । तत्कालीन माओवादीबाट गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई सबैभन्दा धेरै मत ल्याएर विजयी भएका थिए ।

२०७० को संविधानसभा निर्वाचनमा देशभर माओवादी कमजोर बन्दासमेत गोरखाको तीन वटै निर्वाचन क्षेत्रमा माओवादीले वर्चस्व राख्यो । संविधान जारी भएपछि भट्टराइले पार्टी छाडे । भट्टराईले पार्टी छाडेसँगै एक हिस्साले उनलाई साथ थिए । कार्यकर्ता बाँडिए । भट्टराईले माओवादी छाड्दाको प्रभाव २०७४ को स्थानीय तह, प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा पनि देखियो । एक्लै प्रतिस्पर्धा गरेको माओवादी ११ स्थानीय तहमध्ये दुई पालिका प्रमुख उपप्रमुखमा सीमित बन्यो ।

२०७४ मा नेकपा एमालेसँग चुनावी तालमेल गरेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लडेको माओवादीले गोरखा क्षेत्र नम्बर १ मात्र जित्यो । गोरखा क्षेत्र नम्बर २ मा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ तत्कालीन नयाँ शक्तिका बाबुराम भट्टराईसँग पराजित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी तथा कांग्रेस र तत्कालीन नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल थियो । क्षेत्र नम्बर २ को दुई वटै प्रदेशसभा निर्वाचन क्षेत्र माओवादीले गुमायो । क्षेत्र नम्बर १ को एउटा प्रदेशसभा एमाले र एउटामा माओवादी विजयी बन्यो । २०६४ यताको १० वर्षको अवधिमा गोरखालाई ‘जनयुद्धको उद्गम थलो’ मान्दै आएको माओवादी कमजोर बन्न पुग्यो ।

पाँच वर्षको अवधिमा जिल्लामा हुने सभालाई सम्बोधन गर्न आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्राविधिक रूपमा २०७४ को स्थानीय तह चुनाव हारेको भन्दै कार्यकर्तालाई ढाडस दिन्थे । गोरखाको अहिलेको नतिजाले भने माओवादी नेतृत्वलाई पनि उत्साह थपेको छ । बाबुराम भट्टराईले पार्टी छाड्दा उनीसँगै गएका केही कार्यकर्ता माओवादीमै फर्किएका छन् ।

गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा माओवादी र जसपाबीच तालमेल भएको थियो । दुवै पालिकाको प्रमुखमा माओवादी र उपप्रमुखमा जसपाका उम्मेदवारलाई सघाउने गरी चुनावी तालमेल भएको थियो । तर प्रमुखमा माओवादीले जित हात पार्दा उपप्रमुखका जसपा उम्मेदवार भने पराजित भए । दुवैको उपप्रमुखमा कांग्रेस विजयी भयो ।

कांग्रेसले केही स्थानीय तहमा यस पटक पनि उम्मेदवार दोहोर्‍याएको थियो । मतदाताले नयाँ र ‘टेस्टेड’ उम्मेदवार खोज्दा पनि माओवादीलाई लाभ पुगेको छ । कांग्रेसको ‘ओभर कन्फिडेन्ट’ र आन्तरिक किचलोको फाइदा माओवादीले उठाएको छ ।

निर्वाचनको परिणाम हेर्दा माओवादी पुरानै अवस्थामा पुगेको माओवादीको अध्यक्ष लेखवहादुर थापा बताउँछन् । ‘अहिलेको समर्थन र माया हेर्दा सामान्य होइन, आमूल परिवर्तनका लागि छलाङ नै हो,’ उनले कान्तिपुरसँग भने । २०६४ पछि ७४ सम्म आइपुग्दा अस्तव्यस्त रहेको संगठन पनि माओवादीले सुधारेको छ । एमालेसँग एकतापछि पुन: पार्टी फुट्यो । पार्टी फुटेर अलग–अलग दल बनेपछि माओवादीले जिल्लामा संगठन सुदृढीकरण अभियान चलाएको थियो । अहिले २७ हजार २ सय ७३ पार्टी सदस्य रहेको थापा बताउँछन् । ‘संगठनको बलमा पनि चुनाव जितेका हौँ,’ उनले भने,‘संगठित रूपमा सक्रिय कार्यकर्ता बढायौँ, पार्टी सदस्यको जगमा सिंगो नेता कार्यकर्ता अघि बढेकैले यो उपलब्धि हात पारेका हौं ।’

माओवादीले अधिकांश स्थानीय तहमा पाँच वर्षअघिकै उक्मेदवारलाई यस पटक प्रमुखमा उमेदवारको उठाएको थियो । पाँच वर्षअघि चुनाव हारेका पनि गाउँमै केन्द्रित भएर काम गरेकाले राम्रो नतिजा हात पारेको माओवादी जिल्ला नेता बताउँछन् ।

‘पाँच वर्षअघि स्थानीय तह निर्वाचनबाट पाठ सिक्यौँ, जनतामा पुग्यौँ,’ थापा भन्छन्,‘पहिलेका स्थानीय तहका सरकारले ठीक ढंगबाट सेवा दिन सकेनन्, विकल्पका रूपमा हामीलाई देखे भन्ने पनि चुनाव जित्नुको आधार हो ।’

पार्टीभित्रको गुटबन्दीलाई पनि माओवादीले चुनावमा चिर्न सफल भएको छ । थापा भन्छन्,‘विचार र राजनीति सफल थियो, संगठन कार्यक्रम र योजना ठीक थियो, सम्पूर्ण नेता कार्यकर्तालाई एकीकृत र केन्द्रिकृत राख्न सफल पनि भयौँ ।’


प्रकाशित : जेष्ठ ७, २०७९ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×