रुसले डोनबस क्षेत्र 'नर्क'मा परिणत गरिदियो : जेलेन्स्की- विश्व - कान्तिपुर समाचार

रुसले डोनबस क्षेत्र 'नर्क'मा परिणत गरिदियो : जेलेन्स्की

एजेन्सी

काठमाडौँ — रुसी आक्रमणबाट युक्रेनको पूर्वी क्षेत्र डोनबसलाई नर्कमा परिणत गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रुसले बमबारीबाट उक्त क्षेत्रलाई नरक बनाएको जेलेन्स्कीले बताएका हुन् ।

युक्रेनको राजधानी किभलाई कब्जा गर्ने प्रयास असफल भएपछि रुसले डोनबसलाई ध्वस्त पारेको थियो । त्यस क्रममा रुसी सेनाले डोनबसका थप इलाकालाई ध्वस्त पारेको थियो ।

युक्रेनका पूर्वी क्षेत्र डोनबस र लुहान्स्कमा सक्रिय पृथकतावादीहरूलाई सघाउँदै रुसले गत फेब्रुअरीमा हमला गरेको थियो । साथै आफ्ना सैनिक त्यहाँ तैनाथ गरेको थियो । जवकि रुससँग जोडीएका ती क्षेत्रमा वर्षौंदेखि पृथकतावादी आन्दोलन जारी छ । र ती समूहलाई रुसले सहयोग पुग्ने गरी रुसले पृथक राज्यको रुपमा व्यवहार समेत गरेको हो ।

यसै सन्दर्भमा जेलेन्स्कीले गत बिहीबार आफ्नो सम्बोधनको क्रममा ती क्षेत्रलाई रुसले 'नर्क' बनाएको टिप्पणी गरेका हुन् । 'कब्जा गर्नेहरूले थप बल प्रयोग गरिरहेका छन् । त्यो नर्क बनेको छ। जुन कुनै अतिशयोक्ति हैन,' जेलेन्स्कीले आफ्नो सम्बोधनमा भनेका छन् ।

यस क्रममा उनले लुहान्स्क क्षेत्रको सेभरोडोनेस्क सहरमा रुसले गरेको अर्थहीन र क्रुर बमबारीमा १२ जना स्थानीय मारिएको पनि बताए । उनले भनेका छन्, 'मध्य युक्रेनको ओडेसा क्षेत्रस्थित सहरमा निरन्तर हमला भइरहेका छन्। डोनबास पूर्ण रूपमा नष्ट भएको छ।'

यसैबीच युक्रेनका रक्षामन्त्रीले डोनबस क्षेत्रबाट भाग्न खोजिरहेका मानिसहरूलाई रुसी सेनाले रोक्ने काम गरेको पनि बताएका थिए।

प्रकाशित : जेष्ठ ६, २०७९ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्

वैशाखमा घट्यो जग्गा कित्ताकाट

कान्तिपुर संवाददाता

काठमाडौँ — वैशाखमा जग्गाको कित्ताकाट घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत महिनाको तुलनामा वैशाख महिनामा जग्गाको कित्ताकाट घटेको हो । वैशाखमा ४५ हजार ५९४ जग्गा कित्ताकाट गरी एक लाख ९ हजार ५५५ पुर्‍याइएको छ । चैतमा ७३ हजार ८०५ जग्गालाई कित्ताकाट गरी १ लाख ७२ हजार ७९७ कायम गरिएको थियो । 

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत रियलस्टेट क्षेत्रको कर्जामा जोखिम भार बढाएको थियो । यसकारण पनि जग्गा कित्ताकाटमा कमी आएको हुन सक्ने विभागले जनाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सबैभन्दा बढी जग्गा कित्ताकाट चैतमा भएको छ । चैतमा ७३ हजार ८०५ जग्गालाई कित्ताकाट गरी १ लाख ७२ हजार ७९७ कायम गरिएको थियो । यस्तै सबैभन्दा कम वैशाख महिनामा भएको हो ।

विभागका अनुसार साउन महिनामा ७३ हजार १५९ जग्गा कित्ताकाट गरी १ लाख ६५ हजार ७ सय बनाइएका थिए । भदौमा ६४ हजार ९४२ जग्गा कित्ताकाट गरी १ लाख ४८ हजार १६८, असोजमा ५५ हजार ४६३ लाई १ लाख २७ हजार ८०३ र कात्तिक महिनामा ४८ हजार ९ सय ३२ जग्गा कित्ताकाट गरी १ लाख १० हजार ८३९ कायम गरिएको थियो ।

यस्तै मंसिरमा ६८ हजार ६३६ लाई १ लाख ५८ हजार ३१० र पुसमा ७० हजार २४८ जग्गा कित्ताकाट गरी १ लाख ६३ हजार ४५० पुर्‍याइएको थियो । माघ महिनामा ५६ हजार ९९८ जग्गालाई कित्ताकाट गरी १ लाख ३४ हजार ८९६ र फागुनमा ६८ हजार ९५१ जग्गा कित्ताकाट गरी १ लाख ६१ हजार ७०२ पुर्‍याइएको थियो ।

खेतीयोग्य जमिन प्लटिङ गरेर जथाभावी घडेरी बनाउन थालिएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले २०७४ साउन २६ मा कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रूपमा बिक्रीवितरण गर्न/गराउन नपाउने निर्णय गरेको थियो । तर जग्गा खण्डीकरण रोक्दा सर्वसाधारणलाई समस्या भएको र भूमाफियासमेत मौलाएको भन्दै २०७५ पुस २७ मा भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानुन तर्जुमा नहुन्जेल फर्म, संस्था वा कम्पनीले स्थानीय तहको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गरियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नयाँ निर्देशनमा फिल्डबुकमा जग्गाको किसिम जुनसुकै लेखिए पनि स्थानीय तहबाट खेतीयोग्य जग्गा होइन भन्ने व्यहोरा लेखी आएका जग्गा खण्डीकरण वा कित्ताकाट गर्न सकिने व्यवस्था छ ।


प्रकाशित : जेष्ठ ६, २०७९ १४:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×