१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

३४ वर्ष पुरानो घटनामा सिद्धुलाई एक वर्ष जेल

काठमाडौँ — ३४ वर्ष पुरानो घटनामा भारतीय कांग्रेस नेता तथा पञ्जाबका पूर्वमन्त्री नवजोतसिंह सिद्धूलाई भारतीय सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाएको छ । बिहीबार सर्वोच्च अदालतले करिब तीन दशक पुरानो घटनामा पूर्वक्रिकेटरसमेत रहेका सिद्धुलाई सजाय सुनाएको हो । 

३४ वर्ष पुरानो घटनामा सिद्धुलाई एक वर्ष जेल

सन् १९८८ डिसेम्बर २७ का दिन पञ्जाबको पटियालामा पार्किङमा सिद्धु र ६५ वर्षीय गुरनाम सिंहबीच हातपात भएको थियो । सरकारी अभियोजकका अनुसार सिद्धु र उनका अर्का साथी रुपिन्दर सिंह पटियालाको शेरनवाला गेटनजिकै विवादपछि गुरनामसँग हातपात गरी फरार भएका थिए । उनीहरू गुरनाम ढलेपछि भागेका थिए । पछि उपचारका क्रममा गुरनामको अस्पतालमा मृत्यु भएको थियो ।

गुरनामका परिवारले सिद्धु र उनका साथीविरुद्ध पछि मुद्दा दायर गरेका थिए । सन् २००६ मा उच्च अदालतले सिद्धु र उनका साथीलाई दोषी ठहर गर्दै ३/३ वर्ष जेल सजाय र एक/एक लाख रुपैयाँ जरिवानासमेत गरेको थियो ।

तर सिद्धुले उच्च अदालतको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा अपिल गरेका थिए । उनी गुरनामको मृत्युबारे चिकित्सको राय स्पष्ट नभएको भन्दै सर्वोच्च गएका थिए । त्यतिबेला सर्वोच्चका न्यायाधीश जे चेलमेश्वेर र एसके कौलको इजलासले सिद्धुलाई भारतीय दण्ड संहिताको धारा ३२३ अन्तर्गत 'स्वेच्छाले चोट पुर्‍याएको' अपराधमा दोषी करार गरेको थियो । त्यसमा उनलाई भारतीय दण्ड संहिताको धारा ३०४ अनुसार दोषी ठहराउन नसकिने बताइएको थियो । सन् २००६ को पञ्जाब एन्ड हरियाणा उच्च अदालतले भने त्यही धाराअन्तर्गत उनलाई दोषी करार गरेको थियो ।

उच्च अदालतले गुरनामको मृत्युको कारण 'हृदयघात' नभई 'सबड्युरल ह्यामरेज'(मस्तिष्कको बाहिरी सतहमा हुने रक्तश्राव)भएको उल्लेख गरेको थियो । तर सर्वोच्चले भने उच्च अदालतले भनेअनुसारको 'सब्ड्युरल ह्यामरेज' को कुनै प्रमाण नभएको र केवल अनुमानमा आधारित भएको उल्लेख गरेको थियो । त्यही आधार देखाएर सिद्धुलाई सर्वोच्च अदालतले एक हजार जरिवाना मात्र गरेको थियो ।

उक्त सजाय कम भएको भन्दै पीडित परिवारले सर्वोच्च अदालतमा अपिल गरेको थियो । पीडित परिवार पक्षबाट वरिष्ठ अधिवक्ता सिद्धार्थ लुथरा र सिद्धुका तर्फबाट वरिष्ठ अधिवक्ता एएम सिंघवीले बहस गरेका थिए । मार्च २५ मै अन्तिम बहस सकिए पनि सर्वोच्च अदालतले फैसला सुरक्षित राखेको थियो । बिहीबारको फैसलामा सर्वोच्चले सिद्धुलाई दोषी ठहर गर्दै एक वर्ष जेल सजाय सुनाएको हो । फैसलापछि सिद्धुले ट्विट गर्दै अदालतको फैसलालाई सम्मान गर्ने बताएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?