श्रीलंकामा झन् गहिरियो संकट- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकामा झन् गहिरियो संकट

‘अत्यावश्यक वस्तु आयातका लागि तत्काल ७ करोड ५० लाख अमेरिकी डलर आवश्यक’
एजेन्सी

कोलम्बो — पछिल्लो समय विभिन्न समस्याबाट गुज्रिरहेको श्रीलंकामा आर्थिक संकट झन् गहिरिएको छ । श्रीलंकाले हाल स्वतन्त्रतायताकै खराब आर्थिक संकटको सामना गरिरहेको छ । नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा एक दिनका लागि पेट्रोलियम पदार्थ बाँकी रहेको जनाएका छन् । 

टेलिभिजन सम्बोधन गर्दै विक्रमासिंघेले अत्यावश्यक वस्तु तथा सामग्रीको आयातका लागि तत्काल ७ करोड ५० लाख अमेरिकी डलर आवश्यक रहेको जनाएका छन् । सरकारी तलब र ज्यालाको भुक्तानीका लागि केन्द्रीय बैंकले पैसा छाप्नुपर्ने बताए ।

संकटसँग जुध्नका लागि सरकारी स्वामित्वमा रहेको श्रीलंका एयरलाइन्सलाई निजीकरण गर्न सकिने विक्रमासिंघेको भनाइ छ । एयरलाइन्सले एक वर्षमा करिब १३ करोड अमेरिकी डलर बराबरको घाटा बेहोरेको जनाइएको छ ।

विक्रमासिंघे बिहीबार मात्र प्रधानमन्त्री नियुक्त भएका हुन् । पदभार ग्रहणपछि बोल्दै उनले ‘श्रीलंकाको अर्थतन्त्र सुधार गर्ने तर केही समय अझै नराम्रो हुने’ चेतावनी दिएका थिए ।

कोरोना भाइरसको महामारीसँगै पर्यटन क्षेत्रमा परेको असर, इन्धनको मूल्यको वृद्धि, रुस–युक्रेन युद्ध र लोकप्रियताका लागि कर कटौती गर्ने सरकारको निर्णयका कारण श्रीलंकाको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । विदेशी मुद्राको दीर्घकालीन अभाव र मूल्यवृद्धिका कारण इन्धन, औषधि र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ । राजधानी कोलम्बोका पेट्रोल पम्पहरूमा ठूलो संख्यामा अटो रिक्सा र अन्य सवारी साधनको निकै लामो लाम छ । ‘अहिले हामीसँग एक दिनका लागि मात्र पुग्ने पेट्रोल स्टक छ । अबका दुई महिनाको समय हाम्रा लागि निकै कष्टकर हुनेछ,’ विक्रमासिंघेले मंगलबार भने । भारतले उपलब्ध गराएको ऋण सुविधाबाट केही दिनमा पेट्रोलियम पदार्थ ढुवानी गर्न सकिने उनको भनाइ छ ।

तर राज्यको अन्य खर्चको रकम भुक्तानीका लागि केन्द्रीय बैंकले पैसा छाप्नुपर्ने विक्रमासिंघेले बताए । ‘मेरो इच्छा नभए पनि कर्मचारीलाई तलब दिन र अत्यावश्यक वस्तु तथा सेवाका लागि भुक्तानी दिन म पैसा छाप्ने अनुमति दिन बाध्य भएको छु,’ उनले भने । पैसा छाप्दा रुपैयाँको अवमूल्यन हुने बुझ्नुपर्ने उनको भनाइ छ ।

श्रीलंकाको पछिल्लो संकट सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा ठूलो हो । संकट गहिरिएसँगै पछिल्ला साताहरूमा राष्ट्रपति गोटाबाय राजपक्ष र उनको परिवारविरुद्ध हिंसात्मक प्रदर्शन भइरहेका छन् ।

सरकारको समर्थन र विरोधमा उत्रिएका प्रदर्शनकारीबीच झडपहरू भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले गतसाता राजीनामा दिएका थिए । गत सोमबारयता प्रहरी र प्रदर्शनकारीबीच भएका झडपमा एक सांसदसहित ९ जनाको मृत्यु भइसकेको छ । ३ सय जनाभन्दा बढी घाइते भएका जनाइएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्

रौतहटको राजदेवी नगरपालिका मेयर र उपमेयरमा नेकपा समाजवादी विजयी 

शिव पुरी

रौतहट — रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका भिखारी यादब विजयी भएका छन् । यादबले ७ हजार ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरे । सिंह निवर्तमान नगरप्रमुख हुन् । सिंंहलाई यस पटक निर्वाचनमा मत माग्ने क्रममा घरदैलो गर्न जाँदा राजदेवी १ पथरामा स्थानीयले दुव्र्यबहार गरेका थिए । उनको कार्यकाल पनि विवादित बन्यो । 

उपप्रमुखमा पनि नेकपा एकीकृत समाजवादीकै राजकुमारी देवी विजयी भइन् । राजकुमारीले ५ हजार ८४२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अर्चनाकुमारी यादबले ३ हजार १४९ मत प्राप्त गरिन् । उक्त नगरपालिकाको ९ वडा मध्ये १ र ९ मा कांग्रेस र ७ वटामा समाजवादीका उम्मेदवा वडाध्यक्षमा विजयी भए ।



प्रकाशित : जेष्ठ ४, २०७९ ०६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×