रेलले किचेर नेपालीको मृत्यु
नयाँदिल्ली — रोजगारीको खोजीमा पोल्यान्ड जाने प्रक्रियाका लागि नयाँदिल्ली आएका एक नेपाली मृत भेटिएका छन् । झापाको दमक–४ का २६ वर्षीय श्रीजन संग्रौलाले नयाँदिल्लीस्थित रेल्वे ट्र्याकमा रेलले किचेर ज्यान गएको अवस्थामा भेटिएका हुन् । संग्रौलाका बुबा ध्रुवले मृतकको पहिचान गरेका हुन् ।
संग्रौला पोल्यान्ड जान आवश्यक प्रक्रियाका लागि वैशाखको अन्तिम साता झापाबाट दिल्ली आएका थिए । पहाडगंजस्थित होटल मदर प्यालेसमा बसेका उनी वैशाख २७ साँझबाट हराएका थिए । उनी हराएको सूचना पाएसँगै खोजीका लागि परिवारजन दुई दिनअघि दिल्ली आएका हुन् । प्रहरीले केही घटनाका तस्बिर देखाउँदा संग्रौलाको पनि भेटिएको हो । ‘प्रहरीले ५/६ वटा फोटो देखायो, त्यसमा मेरो छोराको पनि रहेछ,’ मृतकका बुबा ध्रुवले भावुक हुँदै भने, ‘कतै केही समस्यामा पर्यो कि भनेर खोज्न आएको त शव पो भेटियो ।’
दिल्ली प्रहरीका सहायक निरीक्षक सुखपाल सिंहले सुनसान स्थानमा रेलले किचेको अवस्थामा संग्रौलाको शव भेटिएको बताए । ‘अहिलेसम्मको अनुसन्धानबाट यो आत्महत्या देखिन्छ,’ उनले भने । सीसीटीभीको दृश्यमा साँझ ५ बजेर ४७ मिनेटमा उनी होटलबाट बाहिर निस्किएको देखिन्छ ।
मृतकका बुबा ध्रुवले घटनाको विश्वसनीय अनुसन्धानको अपेक्षा राखेको बताए । ‘कसैमाथि शंका त छैन । तर पोल्यान्ड पठाउन आफूहरूले सघाइरहेको अवस्थामा आत्महत्या किन गर्यो होला ?’ उनले प्रयोग गरेको मोबाइल, लत्ताकपडा र केही पैसा भने उनी बसेको कोठामा नै पाइएको छ । होटलबाट बाहिरिएको लामो समयमा पनि उनी नफर्किपछि होटलमा सँगै बसेका झापाका अन्य युवाले प्रहरी र परिवारजनलाई खबर गरेका थिए ।
प्रकाशित : जेष्ठ ४, २०७९ ०६:३८