पहिलो पटक उत्तर कोरियाद्वारा कोरोना पुष्टि भएको स्वीकार


काठमाडौँ — उत्तर कोरियाले पहिलो पटक मुलुकमा कोरोना भाइरसको महामारीको पुष्टि गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमका अनुसार नेता किम जोङ उनले छिट्टै नै भाइरसलाई उन्मूलन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



बीए.२ का रूपमा परिचिच ओमिक्रोन भेरिएन्ट भेटिएपछि उत्तर कोरियामा राष्ट्रिय आपत्काल घोषणा गरिएको छ । उत्तर कोरियाले कति जनालाई कोरोना संक्रमण भयो भन्नेबारे भने केही जानकारी दिएको छैन । उत्तर कोरियाले यसअघि भने मुलुकमा कोरोना पुष्टि नभएको दाबी गर्दै आएको थियो । तर रिपोर्टहरूका अनुसार भने कोरोना संक्रमण देखिए पनि उत्तर कोरियाले गोप्य राखेको थियो ।
उत्तर कोरियाले कोरोनाविरुद्ध खोप अभियान पनि सुरु नगरेको बताइएको छ । चीन र रुसमा भनेको कोरोना खोपको प्रस्ताव पनि उसले अस्वीकार गरेको थियो ।
चीनलगायतका मुलुकमा कोरोना संक्रमण फैलिएपछि उत्तर कोरियाले पूर्ण रूपमा सीमा बन्द गरेको थियो । दक्षिण कोरिया र चीनमा संक्रमणले महामारीको रूप लिए पनि उत्तर कोरियाले संक्रमण पुष्टि नभएको दाबी गरेको थियो। दुई वर्षसम्म सीमा बन्द गरेको उत्तर कोरियाले गत जनवरीमा मात्रै चीनसँगको सीमा खोलेको बताइन्छ ।
खोप नलगाएको र मुलुकको कमजोर स्वास्थ्य प्रणालीका कारण ओमिक्रोन भेरिएन्ट देखिनुले उत्तर कोरिया निकै जोखिममा रहेको जनस्वास्थ्यविद्हरूको भनाइ छ । दक्षिण कोरियाबाट सञ्चालित एनके न्युजका अनुसार उत्तर कोरियामा २ दिनदेखि लकडाउन जारी छ ।
कोरोना पुष्टि भएपछि नेता किमले वर्कर्स पार्टीका पोलिटब्युरोसँग छलफल गरेका छन् । उनले छलफलमा छिट्टै नै भाइरसलाई उन्मूलन गर्ने गरी कदम चालिने बताएका थिए ।
प्रकाशित : वैशाख २९, २०७९ ११:२२