नेपाल–इजरायल बहुपक्षीय सम्बन्धमा जोड- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–इजरायल बहुपक्षीय सम्बन्धमा जोड

‘एक राष्ट्र प्रमुखले लेखेको पुस्तक अर्को मुलुकको राष्ट्राध्यक्षले अनुवाद गरेको अर्को उदाहरण छैन’
जगदीश्वर पाण्डे

काठमाडौँ — इजरायल–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ६२ औं वर्षका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमको सुरुआतमा जब कुटुम्ब ब्यान्डले नेपालको राष्ट्रिय गानको धुन बजाउन थाल्यो, नेपालका लागि इजरायली राजदूत हनान गोडरका ओठ चलिहाले । राजदूत गोडर नेपालको राष्ट्रिय गान बज्ने हरेक कार्यक्रममा ओठ हल्लाएर गाउने गर्छन् । उनले नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी’ लाई हिब्रु भाषामा अनुवादसमेत गरेका छन् ।

दोस्रो पटक राजदूत बनेर नेपाल आएका गोडर नेपाल र इजरायलबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउँदै लानुपर्नेमा जोड दिन्छन् । उनले मंगलबारको कार्यक्रममा नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको समयलाई सम्झिए । ‘त्यस बेला इजरायल केही वर्षअघि मात्र स्वतन्त्र भएको नयाँ मुलुक थियो । नेपाल भर्खरै प्रजातन्त्रमा प्रवेश गरेको थियो । यहाँ भर्खरै प्रजातिन्त्रक प्रक्रियाद्वारा प्रधानमन्त्री नियुक्त गरिएको थियो,’ उनले भने । उनले दुवै मुलुक उस्तै परिवेशबाट गुज्रिएर आएको बुझाउन खोजेका थिए । उनले नेपाल र इजरायलबीच बहुपक्षीय सम्बन्धमा जोड दिए ।

इजरायलको जन्म आधिकारिक रूपमा सन् १९४८ मार्च १४ मा भएको थियो । अरूको भूभाग कब्जा गरेको आरोप लगाउँदै इजरायललाई धेरै मुलुकले सुरुआतमा मान्यता दिएनन् । इजरायललाई नयाँ मुलुकको मान्यता दिने नेपाल दक्षिण एसियामा पहिलो थियो । नेपाल र इजरायल बीच सन् १९६० जुन १ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भयो । इजरायलले नेपालमा सन् १९६१ मार्चमा दूतावास स्थापना गरेको थियो । नेपालले भने सन् १९९३ मा महावाणिज्य दूतावास र सन् २००७ अगस्ट १३ मा तेल अभिभमा दूतावास खोल्यो । नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) सुरक्षा परिषद्को प्रस्ताव २४२ (सन् १९६७) र ३३८ (सन् १९७३) का पक्षमा मतदान गरेको थियो । राजदूत गोडर इजरायलले कहिले पनि दुई पक्षीय सुमधुर सम्बन्धलाई निर्बिसने बताए ।

इजरायलका लागि नेपालकी पूर्वराजदूत अन्जान शाक्यले नेपाल र इजरायलबीच सुमधुर सम्बन्ध रहेको बताइन् । आफ्नो कार्यकालमा शाक्यले दुई मुलुकबीचको सम्बन्धलाई प्रस्ट्याउने गरी ‘नेपाल–इजरायल सम्बन्ध’ नामक पुस्तक पनि निकालेकी थिइन् । पूर्वराजदूत शाक्यले पछिलो समय इजरायलले नेपाललाई घरेलु कामदार, नर्स, कृषि क्षेत्रमा अध्ययन, सेनाको प्यारा फोर्स (हवाई जहाजबाट हामफाल्ने) का क्षेत्रमा सहयोग गरिरहेको पनि बताइन् । राजदूत शाक्यले दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउँदै जानुपर्ने बताइन् ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास दक्षिण एसियामा सबैभन्दा पुरानो भएको बताउँछन् । ‘अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा लिइएका दुई निर्णयमध्ये एउटा इजरायलसँगको दुईपक्षीय सम्बन्ध स्थापना थियो,’ उनले भने, ‘त्यसले अन्तर्राष्ट्रिय सम्बन्ध निर्धारण र सञ्चालनमा नेपालको अविभाज्य राजनीतिक स्वामित्वमा दह्रो अडानको इतिहास सुरु गरेको थियो ।’ उनका अनुसार इजरायलका तत्कालीन राष्ट्रपति जलमन साजरले राजा महेन्द्रद्वारा लिखित ‘उसैका लागि’ किताब हिब्रु भाषामा अनुवाद गरेर छापेका बताए । ‘एक मुलुकको राष्ट्र प्रमुखले लेखेको पुस्तक अर्को मुलुकको राष्ट्राध्यक्षले अनुवाद गरेर प्रकाशन गरेको अर्को उदाहरण पाइँदैन,’ उनले भने ।

पाण्डेका अनुसार भूकम्प, कोभिड–१९ जस्ता संकट पर्दासमेत इजरायलले असल मित्रका रूपमा नेपाललाई सहयोग गरेको छ । तर राष्ट्रसंघमा उपलब्ध तथ्यांकअनुसार सन् २०१२ देखि २०२२ सम्म नेपालले न्युयोर्क र जेनेभामा इजरायलविरुद्धका विभिन्न प्रस्तावमा मतदान गरेको छ । नेपालले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वका कारण भइरहेको मानवअधिकार हनन, सिरियाली क्षेत्रमा इजरायलको कब्जालगायत विषयमा इजरायलविरुद्ध भोट हालेको छ । परराष्ट्र सचिव भरतराज पौड्यालले इजरायलमा शान्तिपूर्वक बाँच्न पाउने अधिकारलाई नेपालले लगातार सहयोग गर्दै आएको उल्लेख गरे ।

प्रकाशित : वैशाख २९, २०७९ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

‘धार्मिक कूटनीति’ को आड

केही वर्षयता बिथोलिएको द्विदेशीय सम्बन्ध सुमधुर बनाउन धार्मिक कूटनीतिलाई प्रयोग गर्ने प्रयासमा देउवा र मोदी
जगदीश्वर पाण्डे

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणलाई ‘धार्मिक कूटनीति’ का दृष्टिले अर्थ्याउन थालिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत चैत १८ मा भारतको तीनदिने भ्रमण गर्दा पनि राजनीतिक भेटघाटभन्दा धेरै धार्मिक क्षेत्रको भ्रमण र पूजाअर्चनामा बढी समय बिताएका थिए ।

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीको अवसर पारेर आगामी जेठ २ मा केही घण्टाका लागि लुम्बिनीमा आउन लागेका छन् । यसबाट केही वर्षयता बिथोलिएको द्विदेशीय सम्बन्धलाई सुमधुर बनाउन देउवा र मोदीले धार्मिक कूटनीतिलाई प्रयोग गर्न खोजेका हुन् कि भन्ने देखिन्छ ।

भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न आयाममा सांस्कृतिक सम्बन्ध पनि पर्ने बताउँछन् । ‘सांस्कृतिक सम्बन्धमा धार्मिक पक्ष पनि आउँछ । हरेक मुलुकमा विशेष स्थान हुन्छन् । ती स्थानमा भ्रमण गर्न विदेशबाट पर्यटक मात्र होइन, नेता पनि आउँछन्,’ उनले भने, ‘त्यस्ता भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध ताजा राखिराख्न मद्दत गर्छ ।’

नेपालको धार्मिक वा सांस्कृतिक कूटनीतिक सम्बन्ध भारतसँग मात्र नभएर अर्को छिमेकी मुलुक चीन, दक्षिण एसियाली मुलुकका साथै अमेरिका, जापान, दक्षिण कोरियालगायतसँग पनि छ । पशुपतिनाथ, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, जनकपुरको जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथ, स्वयम्भूलगायत धार्मिकस्थलमा विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुख, मन्त्री र पर्यटक आइरहेका हुन्छन् ।

मोदी नेपालमा धेरै भ्रमण गर्ने भारतीय प्रधानमन्त्रीमा पर्छन् । उनी सन् २०१४ (२०७१ साल) मा पहिलोपटक प्रधानमन्त्री भएलगत्तै नेपाल आएका थिए । यसबीचमा उनी चारपटक नेपाल आइसकेका छन् । जबकि त्यसअघि १७ वर्षसम्म कुनै पनि भारतीय प्रधानमन्त्रीले नेपाली भूमि टेकेका थिएनन् । मोदी यहाँका चर्चित धार्मिक स्थलहरू काठमाडौंको पशुपतिनाथ, जनकपुरको जानकी मन्दिर र मुस्ताङको मुक्तिनाथ पुगिसकेका छन् ।

प्रधानमन्त्री मोदीले पहिलोपटक २०७१ साउन ३ र ४ मा नेपालको राजकीय भ्रमण गर्दा पशुपतिनाथको दर्शन गरेका थिए । नेपालको संविधानसभालाई मोदीले सम्बोधन गरेको त्यही बेला हो । उनले काठमाडौंको नयाँ बानेश्वर सडकमा ओर्लिएर स्थानीयसँग हात मिलाएर आफ्नो लोकप्रियता बढाउने कोसिस पनि गरेका थिए । तर एक वर्षपछि नेपालले नयाँ संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगायो । त्यो नाकाबन्दीले मोदीको लोकप्रियता स्वाट्टै घटायो ।

मोदी दोस्रोपटक २०७१ मंसिर १० र ११ मा काठमाडौंमा भएको १८ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनमा भाग लिन आएका थिए । त्यसबेला मोदीले तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग हात मिलाएको घटना चर्चित बनेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी २०७५ वैशाख २८ मा दुईदिने औपचारिक भ्रमण गर्ने क्रममा पशुपतिनाथ पुगेका थिए । मोदीले त्यसैबेला मधेसको जानकी मन्दिर पनि दर्शन गरे । हरेक वर्ष विवाह पञ्चमीका दिन भारतको उत्तरप्रदेशमा रहेको अयोध्यास्थित राम जन्मभूमिबाट जनकपुरमा जन्ती आउने र ‘सीता’ लाई अन्माएर लाने चलन छ । त्यसबेला मोदीलाई साथ दिन ओली जनकपुर पुगेका थिए ।

त्यही भ्रमणमा मोदी मुक्तिनाथ पनि गए । मोदीको उक्त भ्रमणलाई साथ दिन गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी मुक्तिनाथ पुगेका थिए । भारतीय र त्यसमा पनि मोदीको गृहराज्य गुजरातका जनतामाझ मुक्तिनाथ लोकप्रिय छ । मोदीको भ्रमणपछि त्यहाँ भारतीय पर्यटक आउने क्रम बढेको छ । मोदी २०७५ भदौ १४ र १५ मा भएको चौथो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा नेपाल आएका बेला भने मोदीले धार्मिक भ्रमण गर्न भ्याएनन् ।

मोदीले पहिलोपटक नेपाल आउँदा जनकपुर र अयोध्याबीच धार्मिक तथा सांस्कृतिक प्रवर्द्धनका लागि रामायण सर्किट परियोजना सुरु गर्ने कुरा भएको थियो । सोहीअनुसार जनकपुरदेखि अयोध्यासम्म बस सेवासमेत सुरु गरियो । अर्कातर्फ नेपाल र भारतबीचमा बौद्ध धर्मसम्बन्धी ऐतिहासिक स्थान जोड्न बुद्ध परिक्रमा पथ (बौद्ध सर्किट) बनाउने गृहकार्य भएको थियो तर त्यसमा प्रगति छैन । मोदीको आसन्न भ्रमणले उक्त सर्किटलाई अघि बढाउन जोड दिने सम्भावना छ ।

पूर्वराजदूत आचार्य मोदीको लुम्बिनी भ्रमणलाई दुई देशबीच सम्बन्ध सुधारको कडी बनाउन नेपाल सरकार लाग्नुपर्ने बताउँछन् । ‘मोदीको लुम्बिनी भ्रमणलाई पर्यटकीय महत्त्वमा मात्र सीमित गर्नुहुन्न,’ उनले भने, ‘दुई देशबीचको सम्बन्धलाई गाढा बनाउन र भएका समस्यालाई समाधानको दिशातिर लान हामीले प्रयास गर्नैपर्छ ।’

पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा मोदीको आसन्न भ्रमणलाई धार्मिक र सामाजिक कूटनीतिका रूपमा हेर्न सकिने बताउँछन् । ‘त्यो तहको व्यक्ति (प्रधानमन्त्री) आएपछि महत्त्व हुन्छ । मोदीभन्दा अघि लामो समयसम्म भारतबाट प्रधानमन्त्री तहबाट भ्रमण भएन । मोदी प्रधानमन्त्री भएपछि नेपाल आउनुभयो । प्रधानमन्त्रीको भ्रमण धार्मिक भए पनि, सांस्कृतिक भए पनि त्यसको राजनीतिक महत्त्व अवश्य हुन्छ,’ उनले भने । अमेरिका र भारतका लागि पूर्वराजदूतसमेत रहिसकेका थापाले प्रधानमन्त्री मोदीले निकटताको भाव पनि देखाएको मान्छन् ।

२०७५ भदौमा काठमाडौंमा भएको चौथो बिमस्टेकको शिखर सम्मेलनमा आउँदा श्रीलंकाका तत्कालीन राष्ट्रपति मैथ्रिपला सिरिसेनाले लुम्बिनी भ्रमण गरेका थिए । त्यही बेला आएका म्यान्मारका तत्कालीन राष्ट्रपति विन मिन्ट आफ्नी पत्नीसहित बुद्धको जन्मस्थल पुगेका थिए । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको म्यान्मारकै नेतृ आङ सान सुचीले त्यही साल लुम्बिनी भ्रमण गरेकी थिइन् । यस्तै २०७१ सालमा भएको १८ औं सार्क शिखर सम्मेलनमा नेपाल आउँदा श्रीलंकाका तत्कालीन राष्ट्रपति तथा अहिलेका प्रधानमन्त्री महिन्दा राजापाक्षले लुम्बिनीको भ्रमण गरेका थिए ।

भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले सन् १९८८ मा नेपाल भ्रमण गर्दा उनकी पत्नी सोनिया गान्धीलाई पशुपतिनाथ दर्शन गर्न दिइएको थिएन, जसले गर्दा दुई मुलुकबीचको सम्बन्धमै चिसोपना आएको थियो । धार्मिक कूटनीतिले मुलुकको समग्र पक्षलाई कसरी असर गर्न सक्छ भन्ने उदाहरणका रूपमा त्यस घटनालाई हेर्ने गरिन्छ ।

धार्मिक कूटनीतिलाई जोड दिने क्रममा नेपालस्थित चिनियाँ राजदूत याङ होउलान सन् २०११ जुलाईमा लुम्बिनी परिसरमा रहेको चिनियाँ मन्दिरमा गएका थिए, जुन ‘बुद्धिस्ट एसोसिएसन अफ चाइना’ ले निर्माण गरेको पहिलो चिनियाँ बुद्धिस्ट मन्दिर हो । उक्त मन्दिर सन् २००० मा निर्माण सम्पन्न भएको थियो । सन् २०१६ मा चिनियाँ प्रेस, प्रकाशन, रेडियो, चलचित्र तथा टेलिभिजन राज्य प्रशासनमन्त्री काई फुचाओले लुम्बिनी भ्रमण गरेका थिए । श्रीलंकाली, जापानी, दक्षिण कोरियालीसँगै चिनियाँले पनि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्राथमिकताका साथ भ्रमण गरिरहेका छन् । कोभिड–१९ को संक्रमण सुरु हुनुअघि नेपालका कूटनीतिक मिसनका मुख्य गन्तव्यका रूपमा लुम्बिनी परिरह्यो ।

‘इन्टरनेसनल स्टडिज एसोसिएसन एन्ड अक्सफोर्ड युनिभर्सिटी प्रेस (सन् २०१०)’ मा ‘कूटनीति र धर्म’ माथि अन्तर्राष्ट्रिय सम्बन्धका जानकार स्कट थोमसले विश्वासमा आधारित कूटनीतिबारे चर्चा गरेका छन् । त्यसमा उनले धर्मलाई लामो समयदेखि कूटनीतिको अवरोधका रूपमा हेरिएको उल्लेख गरेका छन् । ‘विश्वासमा आधारित कूटनीतिमा द्वन्द्वको सामाजिक–राजनीतिक उपचारको समग्र दृष्टिकोण हुन्छ । अर्थात् विश्वासमा आधारित कूटनीतिको उद्देश्य द्वन्द्व समाधान मात्र होइन, युद्ध र अन्यायबाट पीडित राजनीतिक व्यवस्थाको पुनःस्थापना र व्यक्ति तथा सामाजिक समूहको मेलमिलाप पनि हो,’ थोमसले भनेका छन् ।

नेपाल तथा एसियाली अध्ययन केन्द्रका कार्यकारी निर्देशक मृगेन्द्र कार्कीले नेपाल र भारतको कूटनीतिक सम्बन्धलाई कसरी परिभाषित गर्ने भन्ने तहमा सैद्धान्तिक र दार्शनिक रूपले दुवै मुलुक प्रवेश गरेको हुनसक्ने अनुमान गर्छन् । ‘त्यही क्रममा हाम्रा प्रधानमन्त्री भारत जाने र भारतको प्रधानमन्त्री नेपाल आउने गरेको हुन सक्छ,’ उनले भने ।

प्रकाशित : वैशाख २६, २०७९ १४:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×