नेपाल–इजरायल बहुपक्षीय सम्बन्धमा जोड- विश्व - कान्तिपुर समाचार

नेपाल–इजरायल बहुपक्षीय सम्बन्धमा जोड

‘एक राष्ट्र प्रमुखले लेखेको पुस्तक अर्को मुलुकको राष्ट्राध्यक्षले अनुवाद गरेको अर्को उदाहरण छैन’
जगदीश्वर पाण्डे

काठमाडौँ — इजरायल–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ६२ औं वर्षका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमको सुरुआतमा जब कुटुम्ब ब्यान्डले नेपालको राष्ट्रिय गानको धुन बजाउन थाल्यो, नेपालका लागि इजरायली राजदूत हनान गोडरका ओठ चलिहाले । राजदूत गोडर नेपालको राष्ट्रिय गान बज्ने हरेक कार्यक्रममा ओठ हल्लाएर गाउने गर्छन् । उनले नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी’ लाई हिब्रु भाषामा अनुवादसमेत गरेका छन् ।

दोस्रो पटक राजदूत बनेर नेपाल आएका गोडर नेपाल र इजरायलबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउँदै लानुपर्नेमा जोड दिन्छन् । उनले मंगलबारको कार्यक्रममा नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको समयलाई सम्झिए । ‘त्यस बेला इजरायल केही वर्षअघि मात्र स्वतन्त्र भएको नयाँ मुलुक थियो । नेपाल भर्खरै प्रजातन्त्रमा प्रवेश गरेको थियो । यहाँ भर्खरै प्रजातिन्त्रक प्रक्रियाद्वारा प्रधानमन्त्री नियुक्त गरिएको थियो,’ उनले भने । उनले दुवै मुलुक उस्तै परिवेशबाट गुज्रिएर आएको बुझाउन खोजेका थिए । उनले नेपाल र इजरायलबीच बहुपक्षीय सम्बन्धमा जोड दिए ।

इजरायलको जन्म आधिकारिक रूपमा सन् १९४८ मार्च १४ मा भएको थियो । अरूको भूभाग कब्जा गरेको आरोप लगाउँदै इजरायललाई धेरै मुलुकले सुरुआतमा मान्यता दिएनन् । इजरायललाई नयाँ मुलुकको मान्यता दिने नेपाल दक्षिण एसियामा पहिलो थियो । नेपाल र इजरायल बीच सन् १९६० जुन १ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भयो । इजरायलले नेपालमा सन् १९६१ मार्चमा दूतावास स्थापना गरेको थियो । नेपालले भने सन् १९९३ मा महावाणिज्य दूतावास र सन् २००७ अगस्ट १३ मा तेल अभिभमा दूतावास खोल्यो । नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) सुरक्षा परिषद्को प्रस्ताव २४२ (सन् १९६७) र ३३८ (सन् १९७३) का पक्षमा मतदान गरेको थियो । राजदूत गोडर इजरायलले कहिले पनि दुई पक्षीय सुमधुर सम्बन्धलाई निर्बिसने बताए ।

इजरायलका लागि नेपालकी पूर्वराजदूत अन्जान शाक्यले नेपाल र इजरायलबीच सुमधुर सम्बन्ध रहेको बताइन् । आफ्नो कार्यकालमा शाक्यले दुई मुलुकबीचको सम्बन्धलाई प्रस्ट्याउने गरी ‘नेपाल–इजरायल सम्बन्ध’ नामक पुस्तक पनि निकालेकी थिइन् । पूर्वराजदूत शाक्यले पछिलो समय इजरायलले नेपाललाई घरेलु कामदार, नर्स, कृषि क्षेत्रमा अध्ययन, सेनाको प्यारा फोर्स (हवाई जहाजबाट हामफाल्ने) का क्षेत्रमा सहयोग गरिरहेको पनि बताइन् । राजदूत शाक्यले दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउँदै जानुपर्ने बताइन् ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास दक्षिण एसियामा सबैभन्दा पुरानो भएको बताउँछन् । ‘अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा लिइएका दुई निर्णयमध्ये एउटा इजरायलसँगको दुईपक्षीय सम्बन्ध स्थापना थियो,’ उनले भने, ‘त्यसले अन्तर्राष्ट्रिय सम्बन्ध निर्धारण र सञ्चालनमा नेपालको अविभाज्य राजनीतिक स्वामित्वमा दह्रो अडानको इतिहास सुरु गरेको थियो ।’ उनका अनुसार इजरायलका तत्कालीन राष्ट्रपति जलमन साजरले राजा महेन्द्रद्वारा लिखित ‘उसैका लागि’ किताब हिब्रु भाषामा अनुवाद गरेर छापेका बताए । ‘एक मुलुकको राष्ट्र प्रमुखले लेखेको पुस्तक अर्को मुलुकको राष्ट्राध्यक्षले अनुवाद गरेर प्रकाशन गरेको अर्को उदाहरण पाइँदैन,’ उनले भने ।

पाण्डेका अनुसार भूकम्प, कोभिड–१९ जस्ता संकट पर्दासमेत इजरायलले असल मित्रका रूपमा नेपाललाई सहयोग गरेको छ । तर राष्ट्रसंघमा उपलब्ध तथ्यांकअनुसार सन् २०१२ देखि २०२२ सम्म नेपालले न्युयोर्क र जेनेभामा इजरायलविरुद्धका विभिन्न प्रस्तावमा मतदान गरेको छ । नेपालले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वका कारण भइरहेको मानवअधिकार हनन, सिरियाली क्षेत्रमा इजरायलको कब्जालगायत विषयमा इजरायलविरुद्ध भोट हालेको छ । परराष्ट्र सचिव भरतराज पौड्यालले इजरायलमा शान्तिपूर्वक बाँच्न पाउने अधिकारलाई नेपालले लगातार सहयोग गर्दै आएको उल्लेख गरे ।

प्रकाशित : वैशाख २९, २०७९ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

७ अफ्रिकी–अमेरिकीले सगरमाथा आरोहण गरे

कान्तिपुर संवाददाता

काठमाडौँ — रंगभेदविरुद्धको आवाज बुलन्द बनाउने उद्देश्यसहित अश्वेत अल्पसंख्यक समुदायका ७ जना अफ्रिकी–अमेरिकीले बिहीबार विश्वकै अग्लो शिखर सगरमाथामा ‘सामूहिक अश्वेत अल्पसंख्यक आरोहणको कीर्तिमान’ कायम गरेका छन् ।

विश्वभर अफ्रिकी–अमेरिकी र अन्य समुदायले भोग्नु परेको रंगभेदलगायतका विभेदविरुद्ध चेतना जगाउन संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका फिलिप हेन्डरसनको नेतृत्वमा अश्वेत समुदायका १५ जना २ महिनाअघि नेपाल आएका थिए । उनीहरुमध्ये १० जना सगरमाथा आरोहणमा गएका थिए ।

‘राती साढे १ बजेदेखि बिहान साढे ७ बजेसम्म अश्वेत समूहका ७ जनाले सगरमाथा आरोहण गरेका छन,’ यो आरोहण दलको व्यवस्थापकीय जिम्मा लिएको सांग्रिला नेपाल ट्रेक प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले कान्तिपुरसँग भने, ‘तीन जनाले आरोहण सकेनन् । उनीहरुसहित ८ जना शेर्पाले सगरमाथा आरोहण गरेका छन् ।’

फिलिपको नेतृत्वमा रहेको फूल सर्कल नाम दिइएको टोलीमा केन्याका जेम्स कागाम्नी, अन्य ८ जना अमेरिकी नागरिक तथा डकुमेन्ट्री बनाउने सदस्यसहित १५ जना छन् । यो आरोहणको डकुमेन्ट्री पनि निर्माण भइरहेको छ ।

टोली नेता फिलिपले सन् २०१२ मा सगरमाथा आरोहणमा गएका थिए । तर, उनी स्वास्थ्य समस्यका कारण ७ हजार मिटर उचाइमा रहेको तेस्रो शिविरबाटै फर्किएका थिए ।

प्रकाशित : वैशाख २९, २०७९ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×