श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु

प्रदर्शनकारीको निसानामा सत्तारुढ दलका नेता, विमानस्थल पुग्ने र बाहिरिने सडकमा विपक्षीको अवरोध 
प्रदर्शनकारीले निवर्तमान प्रधानमन्त्री राजापाक्ष, विभिन्न मन्त्री र सांसदका घरमा आगो लगाइदिएका छन्
एजेन्सीहरू

कोलम्बो — आर्थिक तथा राजनीतिक संकटमा फसेको श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु जारी गरिएको छ । आक्रोशित भीडले महिन्दा राजापाक्ष र उनलाई समर्थन गर्ने कपितय सांसदहरूका घरमा आगो लगाइदिएपछि बुधबार बिहानसम्मका लागि कर्फ्यु लगाइएको हो ।

श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु

सरकारी समर्थकले आफूहरूलाई आक्रमण गरेका भन्दै प्रदर्शनकारीले राजापाक्ष र उनीसँग निकट सम्बन्ध भएका नेतालाई लक्षित गर्दै आक्रमण गरेका हुन् ।

प्रमुख सहरहरूमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । रक्षा मन्त्रालयले कर्फ्युको उल्लंघन गर्ने तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउनेलाई गोली हान्ने आदेश दिएको छ । तर पनि प्रदर्शनहरू जारी रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबारयताका हिंसात्मक प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भइसकेको जनाइएको छ । करिब २ सय जना घाइते भएका बीबीसीले उल्लेख गरेको छ ।

देशमा जारी आर्थिक संकट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै करिब दुई महिनायता श्रीलंकामा प्रदर्शन हुँदै आएको छ । तर पछिल्लो एक सातायता प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले सोमबार राजीनामा दिएका थिए । उनी वर्तमान राष्ट्रपति गोटाबाय राजापाक्षका दाइ पूर्वराष्ट्रपति हुन् ।

राजापाक्षको राजीनामापछि पनि प्रदर्शनकारीहरू भने संयमित भने भएका छैनन् । राष्ट्रपति गोटाबायले पनि राजीनामा दिनुपर्ने प्रदर्शनकारीको माग छ । तर उनले भने जनतालाई शान्त रहन र हिंसात्मक कदम रोक्न आग्रह गरेका छन् । ‘संवैधानिक प्रावधानअनुसार सबै पक्षको सहमतिमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक संकटको अन्य गरिनेछ,’ उनले ट्वीटरमा लेखेका छन् ।

महिन्दा राजापाक्षको निवास टेम्पल ट्रीबाहिर र गल फेस ग्रिनमा सोमबार हिंसात्मक झडपहरू भएका थिए । त्यसलगत्तै प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । घटनापछि क्रुद्ध बनेका प्रदर्शनकारीले सत्तारूढ दलका सांसदमाथि आक्रमण गरेका थिए । त्यसक्रममा एक जना सांसदको ज्यान गएको थियो । प्रहरीका अनुसार आक्रोशित भीडले आफ्नो गाडीमा आक्रमण गरेपछि ती सांसदले दुई जनामाथि गोली प्रहार गरी आत्महत्या गरेको जनाइएको छ ।

प्रदर्शनकारीले सोमबार राति राजापाक्ष, विभिन्न मन्त्री र सांसदका घरमा आगो लगाइदिएका थिए । आक्रोशित भीडले कम्तीमा ५० नेताका घरमा आगजनी गरेको बीबीसीले जनाएको छ । राजापाक्ष परिवारले संग्रहालय बनाएको हम्बनटोटास्थित पैतृक घरमा पनि आगजनी गरेका थिए । महिन्दा राजापाक्षले पछिल्लो अवस्थाबारे आफू निकटस्थहरूसँग छलफल गरिरहेका बेला प्रदर्शनकारीहरू उनको निवास परिसरमा प्रवेश गरी एउटा बसमा आगजनी गरेका थिए । प्रदर्शनकारीलाई भगाउन प्रहरीले अश्रुग्यास तथा हवाई फायर गरेको थियो ।

घटनापछि महिन्दा राजापाक्षले कोलम्बो छाडेका छन् । उनले हाल देशको उत्तर–पूर्वी क्षेत्र ट्रिन्कोमालीस्थित नौसेनाको अखडामा आश्रय लिइरहेको जनाइएको छ । राजापाक्ष परिवारसहित हेलिकोप्टरमा ट्रिन्कोमाली पुगेका हुन् । राजधानी कोलम्बोबाट २७० किलोमिटर टाढा पर्ने उक्त क्षेत्रमा पनि प्रदर्शन सुरु भएको जनाइएको छ ।

प्रमुख सहरहरूमा स्थिति निकै तनावग्रस्त बनेको छ । हातमा रड तथा लाठी लिएका प्रदर्शनकारीले विमानस्थल पुग्ने र बाहिरिने सडक अवरोध गरिरहेका छन् । विमानस्थलबाहिरको क्षेत्रमा सुरक्षाकर्मीहरूको उपस्थिति निकै कम देखिएको जनाइएको छ ।

पछिल्लो समय श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा ठूलो आर्थिक संकट बेहोरिरहेको छ । विदेशी मुद्राको अभाव भएपछि इन्धन, औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव चर्किएको छ । विद्युत् आपूर्ति ठप्पप्रायः छ भने दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ । कोरोना महामारीसँगै आर्थिक संकट झेल्दै आएको श्रीलंकामा पछिल्ला घटनाले गृहयुद्धको सम्भावना बढेको टिप्पणी कतिपयको छ ।

प्रकाशित : वैशाख २८, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?