फिलिपिन्सको राष्ट्रपतिमा मार्कोस जुनियर


मनिला — फिलिपिन्सको राष्ट्रपतिमा फर्डिनान्ड मार्कोस जुनियर निर्वाचित भएका छन् । उनी पूर्वराष्ट्रपति तथा तानाशाही फर्डिनान्ड मार्कोसका छोरा हुन् । ६४ वर्षीय मार्कोस पूर्वसिनेटरसमेत हुन् ।



त्यसैगरी, राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएकी छन् । पूर्वराष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले चुनावी तालमेल गरेर राष्ट्रपति र उपराष्ट्रपति पदका लागि आफ्ना छोरा र छोरीलाई उम्मेदवार बनाएका थिए ।
निर्वाचन आयोगका अनुसार राष्ट्रपतिमा निर्वाचित मार्कोस जुनियरले ५६ प्रतिशत मत पाएका छन् । यो उनका निकटतम प्रतिस्पर्धीको भन्दा दोब्बर हो । आयोगका अनुसार मार्कोस जुनियरले प्रतिस्पर्धी वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडोको भन्दा १ करोड ६० लाखभन्दा बढी मत पाएका हुन् ।
फिलिपिन्सको राजनीतिमा मार्कोस र डुटेर्टो परिवार प्रभावशाली मानिन्छन् । जसका कारण उनीहरूको चुनावी तालमेल सफल भएको जनाइएको छ । मार्कोस जुनियरको जितसँगै फिलिपिन्समा ३६ वर्षपछि मार्कोस परिवार सत्तामा आएको छ । फर्डिनान्ड मार्कोस सन् १९६५ मा राष्ट्रपति बनेका थिए । निकै क्रूर शासकका रूपमा परिचित उनले सन् १९७२ मा मार्शल कानुन जारी गरी आफ्नो आलोचना गर्ने तथा फरक मत राख्ने हजारौंको ज्यान लिएका थिए ।
सन् १९८६ को विवादास्पद चुनावपछिको विद्रोहका कारण सत्ताच्युत भएपछि मार्कोस श्रीमती इमेल्दासहित अमेरिका भागेका थिए । देश छाडेर भाग्ने क्रममा मार्कोस दम्पतीले अर्बौं अमेरिकी डलर बराबरको नगद, गहना तथा अन्य बहुमूल्य सामग्री लिएर गएका थिए । सन् १९८९ मा मार्कोसको मृत्यु भएको २ वर्षपछि उनको परिवार फिलिपिन्स फर्केको हो । करिब १० अर्बको सम्पत्ति लिएर अमेरिका भागेको मार्कोस परिवारबाट सन् २०१३ मा ४ अर्ब बराबरको सम्पत्ति मात्र असुल गरिएको थियो ।
राष्ट्रपतिसहित देशभरबाट झन्डै १८ हजार प्रतिनिधि चयनका लागि फिलिपिन्समा सोमबार मतदान भएको हो । राष्ट्रपति, उपराष्ट्रपति, सांसद तथा स्थानीय प्रतिनिधिहरू चयनका लागि चुनाव गरिएको हो ।
नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिबी घटाउनेदेखि लोकतन्त्रलाई थप सुदृढ बनाउनेलगायतका प्रतिबद्धतासहित प्रतिस्पर्धामा उत्रेका थिए । त्यस्तै, कोरोनाका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय उनका प्रमुख एजेन्डा छन् । फिलिपिन्सको राष्ट्रपतिका लागि दस जना चुनावी मैदानमा थिए ।
प्रकाशित : वैशाख २८, २०७९ ०७:२७