श्रीलंकामा अनियन्त्रित बन्दै प्रदर्शन

महिन्दा राजापाक्षेको पुर्ख्यौली घरसहित केही नेताहरूको निवासमा प्रदर्शनकारीले आगजनी गरे ।
एजेन्सी

काठमाडौँ — श्रीलंकामा केही महिनादेखि जारी आर्थिक संकटका बीच राजनीतिक अस्थिरता उत्पन्न भएको छ । केही दिनयता ठूला प्रदर्शनसँगै हिंसात्मक गतिविधि बढेका छन् ।

श्रीलंकामा अनियन्त्रित बन्दै प्रदर्शन

सोमबार बिहानैदेखि भएको प्रदर्शनमा झडप हुँदा कम्तीमा ३ जना मारिएको स्थानीय मिडियाले जनाएका छन् । यस क्रममा एक सांसद र एक प्रहरी अधिकृत पनि मारिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

प्रदर्शनकारीले केही मन्त्री र सांसदहरूको निवासमा पुगेर आगजनी समेत गरेका छन् । झडपको क्रममा २ सय जना घाइते भएको डेली मिररले जनाएको छ । उनीहरूको अहिले कोलम्बोस्थित कोलम्बो नेश्नल हस्पिटलमा उपचार भइरहेको छ ।

सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । तैपनि हिंसा रोकिएको छैन । मंगलबार राष्ट्रपति गोटाबाया राजापाक्षेले प्रधानमन्त्रीको राजीनामा स्वीकार गरिसकेका छन् ।

अहिले कोलम्बोसहितका सहरमा राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । र ती प्रदर्शन हिंसात्मक बन्दै गएका छन् । महिन्दा राजापाक्षे समर्थकहरूको प्रदर्शनले पछिल्लो समय उग्र रुप लिँदै गएको स्थानीय मिडियाले जनाएका छन् ।

हाल मन्त्री तथा उच्च अधिकारीहरू नै प्रदर्शनकारीको निशाना बनेका छन् । उनीहरूले नेताहरूका घर जलाउनुका साथै प्रहरीका गाडीसमेत तोडफोड गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार प्रदर्शनकारीले महिन्दा राजापाक्षेको हन्बनटोटामा रहेको पुरानो घर समेत जलाइदिएका छन् । सरकारले कर्फ्यू जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।

केही महिनादेखि नै आर्थिक संकट झेल्दै आएको श्रीलंकामा पछिल्ला घटनाले गृहयुद्धको सम्भावना बढेको टिप्पणी हुन थालेको छ । हिंसात्मक प्रदर्शन अनियन्त्रित बन्दै गएपछि श्रीलंकामा गृहयुद्ध निम्तिनसक्ने आकलन गरिएको छ ।

सोमबार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएर सर्वदलीय मन्त्रिपरिषद्‍ गठनको तयारी गरेका थिए । तर मंगलबार महिन्दाका समर्थकहरूको प्रदर्शन झन् उग्र बन्दै गयो । उनीहरूले अहिले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।

सोमबार महिन्दाको राजीनामाले संकट समाधानका लागि सहयोग पुग्ने अपेक्षा गरिए पनि एकै दिनमा महिन्दाका समर्थकहरूको उग्र प्रदर्शनका कारण अवस्था त्यस्तो नदेखिएको बताइन्छ ।

सन् २०१९ को नोभेम्बरमा प्रधानमन्त्री बनेका राजापाक्ष त्यसअघि दुई पटक राष्ट्रपतिसमेत भएका थिए । उनी सन् २००५ देखि २०१५ सम्म लगातार राष्ट्रपति भएका थिए । त्यसअघि उनी सन् २००४ मा प्रधानमन्त्री निर्वाचित भएका थिए ।

पछिल्लो समय श्रीलंकाले स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्राको अभावसँगै इन्धन आपूर्ति अनियमित छ भने खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको चरम अभाव छ । त्यस्तै, दैनिक उपभोग्य वस्तुको मुल्य अकासिएको छ भने विद्युत् आपूर्ति ठप्पप्रायः छ । जसका कारण जनजीवन निकै कष्टकर बनेपछि जनतामा आक्रोश बढेको हो ।

ठूलो मात्राको वैदेशिक ऋण र व्यवस्थापन कमजोरीका कारण धर्मराएको अर्थतन्त्र विदेशी मुद्रा अभावका कारण धराशायी बनेको हो । विदेशी मुद्राको सञ्चिति बढाउनका लागि सन् २०२० मा आयातमा प्रतिबन्ध लगाएपछि खाद्यान्न तथा औषधि अभाव भएको हो । विदेशी मुद्राको मुख्यस्रोत पर्यटन क्षेत्र कोरोना महामारीले ठप्पप्रायः छ । पर्यटन क्षेत्रसँग आबद्ध कम्तीमा २ लाख ५० हजार जनाले रोजगारी गुमाइसकेको जनाइएको छ ।

त्यसका साथै, चीनलगायत देशसँग लिएको ऋणबाट सञ्चालित विभिन्न परियोजना पनि महामारीकै कारण संकटमा परेका छन् । यसअघि विदेशी मुद्रा सञ्चितिमा परेको दबाब घटाउन सरकारले गाडी र मल आयातमा रोक लगाएका कारण चियालगायत अन्य उत्पादनमूलक क्षेत्रमा पनि नकारात्मक प्रभाव परेको छ । पछिल्लो समय युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण पनि श्रीलंकाको अर्थतन्त्र थप असर पुगेको जनाइएको छ ।

अर्थतन्त्र ओरालो लाग्दै गएपछि श्रीलंकाले अमेरिकी डलरसँग आफ्नो मुद्रा अवमूल्यन गरेपछि भने आयातित वस्तुको भाउ निकै महँगो भयो । जसका कारण सरकारविरोधी प्रदर्शन चर्केको हो ।

पछिल्लो समय राष्ट्रपति राजापाक्षको लोकप्रियता निकै घटेको छ । सन् २०१९ मा भएको चुनावमा ‘राजनीतिक स्थायित्व र शासन सञ्चालनका सबल नेतृत्व’ प्रदान गर्ने वाचासहित राजापाक्ष निर्वाचित भएका थिए ।

प्रकाशित : वैशाख २७, २०७९ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?