फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान

रासस/सिन्ह्वा

काठमाडौँ — फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि सोमबार मतदान भइरहेको छ । यस निर्वाचनबाट नयाँ राष्ट्रपतिसँगै झण्डै १८ हजार जना चयन हुनेछन् ।

फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान

एक उपराष्ट्रपति, १२ जना सिनेटर, ३ सयभन्दा बढी संसद्‍का प्रतिनिधिहरु र १७ सयभन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरु यस निर्वाचनबाट चयन हुने बताइएको छ । मतदानका लागि देशभर ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको फिलिपिन्सको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय समयानुसार बिहान ६ बजे सुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्ने आयोगका अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिका उम्मेदवारहरुमध्ये पूर्वराष्ट्रपति फोर्डिनान्ड मार्कोसका छोरा पूर्वसिनेटर समेत रहेका ६४ वर्षीय फोर्डिनान्ड मार्कोस जुनियर सबैभन्दा अगाडि रहेको दाबी गरिएको छ ।

उनको प्रमुख प्रतिस्पर्धीको रुपमा भने वर्तमान उपराष्ट्रपति ५७ वर्षीया मारिया लओनोर रोर्बेडोलाई हेरिएको छ । फिलिपिन्सको राष्ट्रपति बन्नका लागि उनीहरू बाहेक अरु आठ जनाले पनि उम्मेदवारी दिएका छन् । आयोगका कार्यवाहक प्रवक्ता जोन रेक्स लौडियाङकोले देशभरीका सबै मतदान केन्द्रहरु आयोगको निगरानी र नियन्त्रणमै रहेको जानकारी दिए ।

सबै ठाउँमा पर्याप्त सुरक्षा व्यवस्था गरिएको र अहिलेसम्म कुनै अप्रिय घटना भएको विवरण पनि प्राप्त नभएको उनको भनाइ छ । निर्वाचनका लागि ४५ हजार सैनिक, ६० हजार प्रहरी परिचालन गरिएको छ भने १२ हजार प्रहरीलाई तयारी अवस्थामा राखिएको छ ।

कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, गरिबी न्युनिकरण गर्ने, रोजगारी बढाउनेलगायत विषय नै निर्वाचनका प्रमुख एजेण्डा रहेका छन् ।

प्रकाशित : वैशाख २६, २०७९ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?