बेलायती स्थानीय चुनावमा जोन्सनलाई झट्का- विश्व - कान्तिपुर समाचार

बेलायती स्थानीय चुनावमा जोन्सनलाई झट्का

प्रधानमन्त्री बोरिस जोन्सन नेतृत्वको कन्जरभेटिभ दलले ५ सय सिट र ११ वटा प्रमुख काउन्सिलमा आफ्नो नियन्त्रण गुमायो
नवीन पोखरेल

लन्डन — बेलायतको बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा सत्तारूढ दल कन्जरभेटिभ (टोरी) ले ठूलो झट्का बेहोरेको छ । निर्वाचन नतिजासँगै आफ्नो नेतृत्वमा थप प्रश्न उठेपछि प्रधानमन्त्री बोरिस जोन्सनले नराम्रो पराजय स्विकारेका छन् । आम निर्वाचन हुन दुई वर्ष बाँकी रहँदा आएको यो नतिजाले 
कन्जरभेटिभको भविष्यमै चुनौती थपिएको छ ।


प्रतिपक्ष दल लेबरका नेता केर स्टार्मरले चुनावी परिणामबारे प्रतिक्रिया दिँदै आफ्नो दलले आगामी संसदीय चुनाव जित्ने बाटोमा लागिसकेको जनाएका छन् । बेलायतमा सन् २०२४ को मेमा संसदीय चुनाव हुने जनाइएको छ ।

सन् २०१९ मा सम्पन्न आमनिर्वाचनबाट सत्तामा आएपछि बेलायती मतदाताले पहिलोपटक जोन्सन प्रशासनबारे आफ्नो असन्तुष्टि जाहेर गरेका हुन् ।

पार्टीगेट काण्ड (कोरोना रोकथामका बेला गरिएको लकडाउनको नियम उल्लंघन र जरिवाना), ३० वर्षयताकै उच्च मुद्रास्फीति, १० प्रतिशत राष्ट्रिय बिमा वृद्धि, युक्रेन–रुस युद्धप्रति सरकारको कदमलगायत मुद्दा कारण निर्वाचनमा सत्तारूढ दलले नराम्रो पराजय भोगेको विश्लेषकहरू बताउँछन् ।

‘मेरो चुनावी अभियानमा अर्थमन्त्री ऋषि सुनाक सँगसँगै हिँड्नुभयो । घरदैलो गर्दा मतदाताहरू बोरिस सरकारले राम्रो गरेन खोइ के मत दिने भन्ने गुनासो मात्रै गर्थे,’ नर्थ योर्कसायर काउन्टी काउन्सिलमा पराजय भोगेका कन्जरभेटिभका डा. जगन्नाथ शर्मा भन्छन्, ‘आखिर परिणाम यस्तो आयो ।’

बीबीसीका अनुसार कन्जरभेटिभले झन्डै ५ सय सिट र ११ वटा प्रमुख काउन्सिलमा आफ्नो नियन्त्रण गुमाएको छ । दक्षिण इंग्ल्यान्डमा लिबरल डेमोक्रयाट्स र लन्डन काउन्सिलहरूमा लेबर विजयी भएको छ ।

बेलायती पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरलाई मन परेको वान्ड्सवर्थ, वेस्टमिनिस्टर र बार्नेट काउन्सिल लेबरले जितेको छ । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट रहेको बरो वेस्टमिनिस्टर टोरीले सन् १९६४ देखि जित्दै आएको थियो ।

बेलायतको संसदीय निर्वाचनमा लेबर उम्मेदवार डा. बच्चुकैलाश कैनी बेलायतका जनताले कुन राजनीतिक दलले कस्तो काम गर्दैछन् वा गरे त्यसको मूल्यांकनका आधारमा मत दिने बताउँछन् ।

‘सन् २०१९ को आमनिर्वाचन जितेर सरकार बनाएको टोरी नेतृत्वमा अहिलेसम्म बेलायतको अर्थतन्त्र सुधार हुन सकेको छैन् । मूल्यवृद्धि बढेको छ, अर्थतन्त्रले खासै गति लिन नसकेका कारण आम नागरिकको दैनिकीमा सकारात्मक प्रभाव 
पार्ने खासै काम हुन सकेन्,’ डा. कैनी भन्छन्, ‘यसबाहेक बोरिसको व्यक्तिगत र राजनीतिक छवि राम्रो हुन सकेन । उनी धेरै कुराले विवादित छन् । फलस्वरूप कन्जरभेटिभले यो निर्वाचनमा आशा गरे अनुरूप नतिजा हात पार्न सकेन ।’

यो पटक इंग्ल्यान्डमा १४६ वटा काउन्सिलमा ४ हजार ३ सय ५० बढी उम्मेदवार चुनावी मैदानमा थिए । लन्डनका सबै ३२ बरोसहित प्रमुख सहरहरू लिड्स, म्यानचेस्टर, बर्मिङहम आदिमा निर्वाचन भएको हो । साउथ योर्कसायरका मतदाताले क्षेत्रीय मेयर र एक हजार पेरिस काउन्सिलहरूले करिब १० हजार काउन्सिलर निर्वाचित गरेका बताइएको छ ।

वेल्समा २२ लोकल काउन्सिलका सबै सिट र स्कटल्यान्डमा ३२ काउन्सिलका लागि मतदान भएको थियो ।

नर्दन आयरल्यान्डमा विधानसभाका लागि ९० नयाँ सदस्य चुन्ने प्रक्रिया अन्तिममा छ । त्यहाँ रिपब्लिकन पार्टी सिन फेनले जित्ने निश्चित प्रायः रहेको अखबारले उल्लेख गरेका छन् ।

नेपालीमूलका ५ जना विजयी
बेलायतका विभिन्न काउन्सिलबाट उम्मेदवार भएका १० नेपाली मूलका उम्मेदवारमध्ये ५ जना विजयी भएका छन् । लन्डन हन्स्लो बरोबाट लेबर पार्टीका उम्मेदवार मेयर विष्णुबहादुर गुरुङ तेस्रो पटक काउन्सिलर निर्वाचित भएका हुन् ।

लन्डनस्थित बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित भएका छन् । उनी सत्तारूढ कन्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार थिए ।

बेलायतको रोयल बरोबाट पहिलो पटक नेपाली मूलका उम्मेदवार जित रानाभाट काउन्सिलर निर्वाचित भएका छन् । रोयल बरो अफ ग्रीनविचको प्लमस्टिड एन्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट रानाभाटले जितेका हुन् ।

इंग्ल्यान्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलो पटक प्रतिस्पर्धा गरेका जगन्नाथ शर्मा ८ मतले पराजित भए । तर उनी कोलबर्न एन्ड हिप्सवेलको काउन्सिलरमा भने दुई तिहाइ मतले निर्वाचित भएका छन् ।

लन्डनकै बार्नेट काउन्सिलको बर्न्टओक वडाबाट भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ पहिलो पटक काउन्सिलर निर्वाचित भएका छन् । उनी लेबर पार्टीका उम्मेदवार हुन् ।

यस पटकको निर्वाचनमा नेपालीमूलका ५ जना पराजित भएका छन् । टोरीबाट वकिङ बरोका उम्मेदवार पूर्वगोर्खा मेजर चित्रबहादुर राना, रसमोर बरोको चेरीउड वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार सुमन पुन र बेडवर्थ एन्ड ननिटन बरोमा काउन्सिलर पदमा लेबर पार्टीका उम्मेदवार पूर्वगोर्खा भीम सारु पराजित भए ।

त्यसैगरी, स्विन्डनको मेनिङ्टन एन्ड वेस्टर्नमा टोरी उम्मेदवार पूर्वगोर्खा ज्ञानप्रसाद गुरुङ र लन्डन वाटफोर्ड बरोको होलिवेल वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार सञ्जय पन्त पनि पराजित भए

प्रकाशित : वैशाख २५, २०७९ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतमा स्थानीय तहको निर्वाचन सुरु

नवीन पोखरेल

लन्डन — बेलायतमा बिहीबार बिहान ७ बजेदेखि स्थानीय तहको निर्वाचन सुरु भएको छ । मतदान राति १० बजेसम्म सुचारु हुनेछ । इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्डका मतदाताले स्थानीय जनप्रतिनिधि चुन्नेछन् भने उत्तरी आयरल्यान्डमा ‘नर्दन आयरल्यान्ड एसेम्ब्ली’ का लागि ९० जना नयाँ सदस्य चुनिने छन् । 

बेलायतमा १ सय ४६ वटा काउन्सिलमा ४ हजार ३ सय ५० काउन्सलर चुनावी मैदानमा छन् । लन्डनका सबै ३२ बरोसहित प्रमुख शहरहरू लिड्स, म्यान्चेस्टर, बर्मिङ्घम आदिमा निर्वाचन भइरहेको छ । लन्डनमा मात्र १८ सयभन्दा बढी सिटका लागि मतदान हुँदैछ ।

साउथ योर्कसायरका मतदाताले क्षेत्रीय मेयर चुन्नेछन् भने एक हजार पेरिस काउन्सिलहरूले करिब १० हजार काउन्सिलर निर्वाचित गर्नेछन् । वेल्समा २२ लोकल काउन्सिलका १२३४ नयाँ काउन्सिलरहरू चुनिँदै छन् भने स्कटल्यान्डमा ३२ काउन्सिलमा १२२७ सिटका लागि मतदान जारी छ ।

सन् २०१९ मा सम्पन्न आमनिर्वाचनबाट प्रधानमन्त्री बोरिस जोन्सन सत्तामा आएपछि बेलायती मतदाताले पहिलोपटक बोरिस प्रशासनबारे आफ्नो मत जाहेर गर्दैछन् । पार्टीगेट प्रकरण, कोभिड महामारी सामना, चर्को मूल्यवृद्धि, युक्रेन रुस युद्धमा सरकारको रेस्पोन्स आदि मुद्दाका कारण यो निर्वाचनमा सत्तारुढ दलले कस्तो नतिजा ल्याउने हो सर्वत्र आमचासो छ ।

बेलायतका स्थानीय काउन्सिलहरू सार्वजनिक सेवाजस्तै सार्वजनिक यातायात, विद्यालय, पुस्तकालय, पार्क, सडक मर्मतसम्भार आदिका लागि जिम्मेवार हुन्छन् । त्यसकारण पनि उल्लेखित सेवा‚ जसले प्रभावकारी रुपमा सञ्चालन गर्न सक्छ; ती उम्मेदवारलाई मतदाताले जिताउने गर्छन् ।

यसपटक स्थानीय निर्वाचनमा झन्डै एक दर्जन नेपालीमूलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । बेलायतमा मतदान गर्ने दिनसम्म मत माग्न पाइने नियम छ । यहाँ मतदाताहरुले पोस्टल भोट र प्रोक्सी (अरुलाई भोट दिने अधिकार) दिएर पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता हुन निर्वाचनको १२ दिन अघिसम्म पाइन्छ ।

उम्मेदवारहरू घर-घर गएर लिफलेट्स बाँड्दै मत माग्ने गर्छन्, सामाजिक सञ्जालतिर थोरैमात्र प्रचार गर्न गरिन्छ । चुनाव हुने दिन पनि मतदाता आफ्नो काम सकेर वा काममा जानुअघि मतदान केन्द्र पुग्छन् । सार्वजनिक बिदा नहुने भएकाले मतदान केन्द्र सुनसान लाग्छ ।

नेपाली उम्मेदवारहरूले पनि अरुजस्तै सार्वजनिक यातायात सेवामा सुधार, काउन्सिल ट्याक्स घटाउने, नयाँ जागिर र व्यवसायको सिर्जना, स्वास्थ्य सेवा सुधार, सुरक्षित सडक, भूतपूर्व गोर्खाको समान पेन्सन मुद्दामा सहयोग, बेलायत र नेपाल सरकार तथा जनता-जनताबीच सुमधुर सम्बन्ध विस्तार आदि प्रतिबद्धता अघि सारेर मत मागिरहेका छन् ।

प्रकाशित : वैशाख २२, २०७९ १२:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×